टिम बनाउन जुटे अर्थमन्त्री पौडेल

रमेश भारती ४ साउन २०८१ १९:०१
246
SHARES
टिम बनाउन जुटे अर्थमन्त्री पौडेल सचिवद्वय मधुकुमार मरासिनी र डा. रामप्रसाद घिमिरे।

काठमाडौँ– असार ३१ गते अर्थ मन्त्रालयको पदभार ग्रहणका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल ‘कोर टिम’ निर्माणको तयारीमा जुटेका छन्। अर्थमन्त्री पौडेल काम गर्ने कोर टिम बनाउन कस्सिएपछि मन्त्रालयमा उनको रोजाइमा कोको पर्छन् भन्ने चर्चाको विषय बनेको छ। यसका लागि उनी पहिला अर्थसचिव मधुकुमार मरासिनीलाई जसरी पनि बिदा गर्ने पक्षमा रहेको मन्त्रालयका एक सहसचिवले बताए।

मरासिनीमाथि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सीसीटीभी काण्डमा सहयोग गरेको आरोप लाग्दै आएको छ। २०७९/८० को बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रयोग गरिएको र त्यस क्रमम अर्थ मन्त्रालयको सीसीटीभी फुटेज बिगारेको आरोप मन्त्री शर्मामाथि लागेको थियो। सोही कारण उनले पदबाट राजीनामा दिएका थिए।

यसैगरी मरासिनीमाथि लागेको अर्को आरोप हो, निवर्तमान अर्थमन्त्री वर्षमान पुनलाई चालु आर्थिक वर्षको बजेटमा आयकर ऐनको दफा ५७ चलाउन उकास अर्थ सचिव पनि हुन्। त्यति मात्र होइन, उनले पुनको सहयोगमा कतिपय विकासे मन्त्रालयका बजेट कटौती गरेका थिए। त्यही भएर पौडेलले अर्थ सचिव मरासिनीलाई हटाउन लागिपरेको अर्थ मन्त्रालयका कर्मचारीहरू बताउँछन्।

अर्थसचिव कृष्णहरि पुष्कर प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि वैशाखमा मरासिनी अर्थ मन्त्रालयमा फेरि सरुवा भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ दिएपछि मरासिनी अर्थ मन्त्रालयमा गएका थिए। पौडेल विभिन्न काण्डमा मुछिएका मरासिनीलाई जतिसक्दो चाँडो अर्थ मन्त्रालयबाट बिदा गर्ने पक्षमा छन्।

घिमिरेले पाउलान् मौका?

अर्थमन्त्री पौडेललाई अहिले आर्थिक सुधारका योजना, आर्थिक वृद्धिदर, अर्थ नीति, चालु आर्थिक वर्षमा कसरी अघि बढ्ने, बजेट कार्यान्वयन कसरी गर्ने र अर्थतन्त्र सुधारका लागि राजस्व सचिव डा. रामप्रसाद घिमिरेले सहयोग गरिरहेका छन्। घिमिरे पौडेल अर्थमन्त्री भएकै बेला २०७८ मा सचिवमा बढुवा भएका थिए। श्रम मन्त्रालयबाट अर्थ मन्त्रालय सरुवा भएपछि उनको बढुवा भएको थियो।

अर्थमन्त्री पौडेलले सचिवमा घिमिरेलाई रोज्न सक्ने अर्थ मन्त्रालयका एक सहसचिवले बताए। ती सहसचिवका अनुसार मन्त्री पौडेलले परामर्श र छलफलका लागि घिमिरेलाई अघि बढाइरहेका छन्। जसका कारण पनि घिमिरेलाई अर्थ सचिवमा लैजाने सक्नेछन्। ‘अर्थमन्त्रीको रोजाइमा राजस्व सचिव डा. घिमिरे पर्ने सम्भावना प्रबल छ’, ती सहसचिवले भने।

घिमिरेले ययसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महत र वर्षमान पुनको पनि विश्वास जित्ने गरी काम गरेका थिए। उनलाई दुवै अर्थमन्त्रीले राजस्व क्षेत्रमा गरेको कामको प्रशंसा गरेका थिए।
घिमिरेले लक्जरी गाडीमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिने विषयमा महत्त्वपूर्ण भूमिका खेलेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। घिमिरेले महतका पालामा आलु प्याजमा भ्याट लगाउन सल्लाह दिएका थिए भने पुन अर्थमन्त्री बनेपछि आलु प्याजको भ्याट हटाउन सल्लाह दिएका थिए।

अर्थ सचिव बन्ने लाइनमा हुनुहुन्छ हो भन्ने प्रश्नमा घिमिरेले आफूलाई यस विषयमा जानकारी नभएको बताए। अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधार्न एकजुट भएर लाग्नुपर्ने बताएको जानकारी दिए। उनका अनुसार अर्थमन्त्रीले काम गर्दा ‘हतार नगर्ने तर ढिलो पनि हुन नदिने’ नियम लागू गर्न मन्त्रालय, मातहतका निकाय र विभागलाई निर्देशन दिएका छन्। ‘अहिले सोही निर्देशनका आधारमा काम गर्न तयारी भइरहेको छ। अर्थमन्त्रीको निर्देशनपछि सबै क्षेत्र छलफलमा छन्’, खत्रीले भने।

पौडेल अर्थमन्त्री भएलगत्तै एक साताभित्र सेयर बजारमा सुधार देखिएको छ। सेयर बजारमा सुधार देखिएपछि अर्थमन्त्री पौडेल समग्र अर्थतन्त्र सधार्ने कोर टिम बनाउन लागिपरेका हुन्।
अर्थमन्त्री पौडेलले जे काम पनि ‘हतार नगर्ने तर ढिलो पनि हुन नदिने’ रणनीति अपनाएर अघि बढ्ने पक्षमा रहेको अर्थ मन्त्रालयका कर्मचारी बताउँछन्। त्यहीअनुसार उनले अर्थ मन्त्रालय मातहतका निकाय र विभागलाई निर्देशन दिएका छन्। अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्षका रूपमा सहसचिव महेश बराललाई पठाइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =