पोखराको अर्को पहिचान तायाः मचा नृत्य प्रतियोगिता, ३६ समूहले भाग लिने

हिमाल प्रेस २२ असार २०८१ १४:५०
10
SHARES
पोखराको अर्को पहिचान तायाः मचा नृत्य प्रतियोगिता, ३६ समूहले भाग लिने

पोखरा- पोखरामा प्रचलित विभिन्न सांस्कृतिक पर्वमध्ये हरेक वर्ष गाईजात्रा उपलक्ष्यमा निकालिने तायाः मचा नृत्य यहाँको पहिचान रूपमा प्रस्तुत हुँदै आएको छ।

करिब २५० वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वको उपलक्ष्यमा निकालिने तायाः मचा नृत्य पोखराको मौलिक ऐतिहासिक नृत्य भएको नेवाः खल कास्की अध्यक्ष अशोक पालिखेले बताए।

उनले भने,‘यो नृत्य हिजो एउटा समुदायको मात्र थियो भने आज सम्पूर्ण पोखरेलीको साझा सम्पत्ति भएको छ। यो नृत्य हरेक वर्ष सम्पूर्ण पोखरेलीको सांस्कृतिक उत्सवको रुपमा प्रस्तुत हुँदै आएको छ।’

हरेक वर्ष फरक-फरक स्थानमा देखाइने यो नृत्य यसपालि पोखरा ९, नयाँबजारमा प्रस्तुत हुँदैछ। आगामी ८ भदौमा नयाँबजार सांस्कृतिक समितिको स्थानीय आयोजनामा हुने प्रतियागितामा ३६ समूहले भाग लिने शनिबार पत्रकार सम्मेलनमा प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए।

उनले भने,‘हाम्रा पुर्खाले प्रचलनमा ल्याएको यस्ता सांस्कृतिक पर्वले हामीबीच सामाजिक सद्भाव, माया, प्रेम र भाइचाराको सन्देश प्रवाह गरेर समाजलाई एकसूत्रमा बाँध्ने काम गरेको छ। यो नृत्य प्रतियोगिताले पनि तायाः मचा संस्कृतिको संरक्षण, परम्परागत, मौलिक संस्कृतिको माध्यमबाट पर्यटक आकर्षण गर्नु हो। साथै नयाँ पुस्तालाई यसको महत्त्व बुझाई यसको निरन्तरताको बोध गराउनु रहेको छ।’

पुरस्कारका लागि हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा उनको छोराहरू पोखरा ३ निवासी रामकाजी, रवीन्द्र, शंकर र कवीन्द्र श्रेष्ठ परिवारबाट प्राप्त हुने नेवाः खलः कास्कीले जनायो। संस्थाले प्रतियोगिताका लागि नयाँबजारमा सचिवालय पनि उद्घाटन गरेको छ।

प्रकाशित: २२ असार २०८१ १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fifteen =