राजनीतिक दलभित्र शुद्धीकरण अभियान चलाउनुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

हिमाल प्रेस ८ असार २०८१ १४:४८
12
SHARES
राजनीतिक दलभित्र शुद्धीकरण अभियान चलाउनुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलभित्र शुद्धीकरण अभियान चलाउनुपर्ने बताएका छन्। राष्ट्रिय युवा परिषद् र युवा गैरसरकारी संस्था महासंघ नेपालले संयुक्त रूपमा आज आयोजना गरेको ‘युथ लिडरसिप समिट-२०२४’ लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मुलुकलाई आर्थिक रूपमा सबल बनाउन राजनीतिक संस्कारमा परिवर्तन हुनैपर्ने बताए।

‘राजनीतिक दलभित्र शुद्धीकरण अभियान चलाउनुपर्छ,राजनीति सफा नगरी विकास र समृद्धिको कार्यभार पूरा हुन सक्दैन’,उनले भने, ‘मुलुकलाई आर्थिकरुपमा सबल बनाउन राजनीतिक संस्कारमा परिवर्तन हुनैपर्छ, यसमा युवाको सक्रिय सहभागिताको आवश्यक छ।’

मुलुकको सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पारेर स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन्। न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नैपर्ने बताए।

मुलुकमा युवा उद्यमशीलता विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरिएको जानकारी दिँदै उनले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको बताए।

राजनीतिक परिवर्तनपछाडि मुलुकले तीव्र आर्थिक फड्को मार्न नसकेको यथार्थ स्वीकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने,‘यसमा आलोचना गरौँ तर मुलुकको गौरवपूर्ण इतिहासप्रति गर्व गरौँ, सकारात्मक विषयलाई मनन् गरौँ, समस्यालाई सच्याएर अगाडि बढौँ।’

मुलुकमा वैचारिक र सांस्कृतिक रूपान्तरणको आन्दोलनको खाँचो रहेको औँल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले समाजका सबै पक्षभित्र रूपान्तरणको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ८ असार २०८१ १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =