समाजवादी युवा संघमा समानान्तर कमिटी, विक समूहले गर्‍यो पौडेललाई कारबाही

किरण पौडेल ३० जेठ २०८१ १७:३९
68
SHARES
समाजवादी युवा संघमा समानान्तर कमिटी, विक समूहले गर्‍यो पौडेललाई कारबाही

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महाधिवेशनको संघारमा भ्रातृ संगठन युवा संघभित्र विवाद चर्किएको छ। संघभित्र कृष्ण विक र नितेश पौडेल समूहबीच विवाद बढेको हो। विक संयोजक हुन् भने पौडेल सहसंयोजक थिए।

सहसंयोजक पौडेल समूहले समानान्तर कमिटी गठन गरेको छ। समूहले युवा संघ चलायमान नबनेको भन्दै समानान्तर कमिटी गठन गरेको हो। पौडेल अध्यक्ष माधव नेपाल निकट मानिन्छन्। उनले लामो समय नेपालको सचिवालयमा कार्य गरेका थिए। पौडेल समूहले गत २६ जेठमा राष्ट्रिय भेला गरेको थियो। भेलाले संयोजक पौडेल र सहसंयोजक फुर्बा लामा चयन गरेको छ।

विक सम्मानित नेता झलनाथ खनाल निकट मानिन्छन्। उनी संयोजक रहेको युवा संघले पौडेललाई कारबाही गरेको छ। विक समूहले मंगलबार पत्रकार सम्मेलन गरेर पौडेललाई कारबाही गरेको जानकारी दिएको हो। पौडेलले आधिकारिक समितिविरुद्ध गतिविधि गरेकाले कारबाही गरेको विक समूहको दाबी छ। पौडेलले आफू नेतृत्वमा रहेको युवा संघले गति लिने दाबी गर्दै आएका छन्।

विवाद विक समूह र पौडेल समूहमा मात्रै सीमित छैन। पार्टीका नेताहरूको रुचिअनुसार संघमा विवाद चर्काइएको दाबी संघका पदाधिकारीहरूको छ। दुवै समूहका नेताले पार्टीका नेताहरूलाई जोडेका भने छैनन्। पौडेल समूहले आउँदो असोजमा महाधिवेशन गर्ने बताउँदै आएको छ। पौडेलले आफूसँग ७० प्रतिशत युवा संघका सदस्यको समर्थन रहेको बताए।

के हो विवादको जड?

एमाले चोइटिएर समाजवादी बन्दा युवा संघको अध्यक्ष नरेश शाही थिए। उनले किरण पौडेल नेतृत्वको संघलाई फुटाएर समानान्तर कमिटी बनाएका थिए। समाजवादीमा शाहीकै नेतृत्वमा नयाँ कमटी बन्यो।

शाही प्रदेशसभा सदस्य निर्वाचनमा बाजुरा प्रदेशसभा १ बाट निर्वाचित भए। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्री बनेपछि जिम्मेवारी हस्तान्तरण गर्न शाही तयार थिए। शाही पनि सम्मानित नेता खनाल पक्षधर मानिन्छन्।

शाहीले नेतृत्व छाड्न गत भदौ ९ मा कालोपुलमा सचिवालय बैठक राखेका थिए। तर त्यही दिन पौडेलले समानान्तर कमिटीको कसरत गर्दै हार्दिक होटलमा भेला डाक्यो। पौडेल समूहको कार्यक्रमको प्रमुख अतिथि पार्टी उपमहासचिव डा. विजय पौडेल थिए।

त्यसबेलादेखि नै विवाद सुरु भएको हो। शाहीको सहसंयोजकमा विक र पौडेल थिए। विकलाई संयोजक दिँदा पौडेलले असन्तुष्टि जनाए। ‘हाम्रो विवाद त्यहीबाट सुरु भएको हो। म सिनियर भएकाले जिम्मेवारी दिइएको थियो,’ विक भन्छन्।

महाधिवेशन प्रभावित हुने आशंका

युवा संघ विवादमा फस्दा पार्टी महाधिवेशन प्रभावित हुने देखिएको छ। समाजवादीको महाधिवेशन आउँदो असार १६ देखि काठमाडौँमा हुँदैछ। महाधिवेशनमा पार्टीले नयाँ नेतृत्व पाउनेछ। नेपाल र खनाल एकले अर्कालाई निर्विरोध नछाड्ने पक्षमा छन्। संघ विभाजित हुँदा शीर्ष नेता भने मौन छन्।

‘यतिबेला यो विवाद शीर्ष नेताहरूले मिलाउनुपर्ने हो। उहाँहरूले चासो नदिनु भनेको झन् चर्किन दिनु हो,’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘यस्तै हुँदै जाने हो भने अन्य संगठनमा पनि विवाद आउँछ।’

यसबारे पार्टी उपाध्यक्ष प्रमेश हमाल, महासचिव घनश्याम भुसाल, युवा संघ इन्चार्ज दिलु पन्तलगायतका नेता छलफलमा जुटेका छन्। दोस्रो स्तरका नेता मात्रैले समाधान निकाल्न सकेका छैनन्।

के छ दुई पक्षको दाबी?

पौडेल समूहले युवा संघ चलायमान नबनेको आरोप लगाएको छ। फागुनभित्र राष्ट्रिय सम्मेलन गर्नुपर्नेमा विकले नगरेको आरोप पौडेल पक्षको छ। ‘यहाँ (विक) असक्षम देखिनुभयो। संघ चलाउनका लागि विद्रोह गरेको हुँ’, पौडेलले भने।

विक पक्ष भने पौडेलको आरोप निराधार रहेको बताउँछ। ‘म उहाँ (पौडेल)भन्दा म सिनियर हुँ। यही कारण संयोजक पाएको हुँ’, विकले भने। उनी एमाले रहँदादेखि नै आफू पौडेलभन्दा माथि रहेर काम गरेको बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =