फिल्म चर्चा

‘गाउँ आएको बाटो’ : प्रस्तुतिमा अब्बल, गाउँप्रति अनुदार

विवेक विवश रेग्मी २६ जेठ २०८१ १४:५१
234
SHARES
‘गाउँ आएको बाटो’ : प्रस्तुतिमा अब्बल, गाउँप्रति अनुदार

बाटो नपुगेको ठाउँमा बाटो पुगेपछि केके परिवर्तन हुन्छ? बाटोसँगै गाडी पुगेपछि गाउँको जीवन परिवर्तन, बाँचिरहेको जीवनमा केही सहजता, आर्थिक रूपमा थोरै भए पनि सबलतासँगै गाउँमा भएका उत्पादनलाई बजारसँग जोड्न सक्नुपर्ने हो। यसको ठीक उल्टो भएको छ – सिनेमा ‘गाउँ आएको बाटो’मा।

नवीन सुब्बा निर्देशित सिनेमा गाउँ आएको बाटो शुक्रबारदेखि देशभरका विभिन्न सिनेमा हलमा प्रदर्शन भइरहेको छ। सिनेमाले गाउँमा मानिसले बाँचिरहेको जीवनलाई वास्तविक चित्रण गरेको छ। एक दृष्टिकोणबाट भन्ने हो भने उक्त सिनेमामा अभावैअभावले पिल्सिएको गाउँको जीवनलाई प्रस्तुत गरिएको छ।

राई समुदायमा आधारित भनिए पनि उक्त सिनेमाले समग्रमा गाउँको जीवनलाई समेटेको छ। सिनेमामा दयाहाङ राई (माइला) र प्रसन राई (बिन्द्रे) मुख्य पात्रका रूपमा छन्। उनीहरूले गाउँमा बाँचिरहेको जीवनलाई मौलिक रूपमा प्रस्तुत गरिएको छ।

सिनेमाले बाबु र छोराबीचको सम्बन्धलाई उधृत गरेको छ। बाबुले छोराको आकांक्षा पूरा गर्नका निम्ति गरेको संघर्षलाई मिहीन ढंगले उतारिएको छ। आर्थिक रूपमा सबल बन्न नसक्दा गाउँलेले हेर्ने दृष्टिकोणले भने विद्यमान समाजको चित्रण गरेको छ। खास भन्ने हो वास्तविक समाज गाउँमा नै छ।

तराईमा त एकले अर्कालाई मतलब नै नगर्ने, बेवास्ता गर्ने र आफ्ना लागि मात्रै बाँचिरहेको कुरा यथार्थ छ। जीवन खोज्ने हो भने गाउँ नै पुग्नुपर्छ। गाउँको समाज पनि ‘सहयोगी’ छैन भन्ने कुरा सिनेमामा उल्लेख गरिएको छ।

सिनेमामा दयाहाङको भूमिका ‘हाबी’ नहुँदा पनि सिनेमा अब्बल छ भन्दा फरक नपर्ला। सिनेमाका मुख्य पात्र बिन्द्रेको अभिनय जीवन्त छ। जसले सिनेमामा अन्तिम दृश्यसम्म बसिरहन लालायित बनाउँछ। सँगै सिनेमा सकिएको पत्तो हुन्न। सानै उमेरमा पनि उनले सिनेमामा गरेको अभिनय प्रशंसनीय मात्रै होइन, उदाहरणीय छ ।

सिनेमाका कतिपय दृश्यहरू कारुणिक र भावुक छन्। सिनेमाले गाउँको दृश्यलाई समेटेको र मौलिक (गाउँले अहिले पनि बाँचिरहेको दृश्य) लाई देखाउँदा सिनेमा हेर्नलायक बनेको छ।

कलाकारहरूको अभिनयमा कुनै खोट लगाउने ठाउँ छैन। दयाहाङ र प्रसनले सिनेमामा आफ्नो पात्रअनुसारको अभिनय निकै भिजेर गरेका छन्। त्यसैले उनीहरूको अभिनयको जति प्रशंसा गरे पनि कमै हुन्छ।

वास्तवमै पछिल्लो समय गाउँ रित्तिँदै गएको छ। अझ पूर्वी नेपालका पहाडी जिल्ला छाडेर तराई बसाइँ सर्ने क्रम बढिरहेको छ। गाउँ रित्तिएकोमा चिन्ता मात्रै छ, गाउँमै टिकिरहने वातावरण बनाउन भने समाज र राज्यको ध्यान पुगेको छैन। सिनेमामा गाउँ छाड्ने दृश्यलाई प्राथमिकता दिएको पाइन्छ।

पछिल्लो समयका सफल अभिनेता हुन्, दयाहाङ राई। उनी अभिनित सिनेमामा एउटा आरोप लाग्ने गरेको छ- ‘दयाहाङ अभिनित सिनेमा एकै किसिमका भए।’ यो आरोप हो भन्ने धेरै कमलाई मात्रै थाहा छ। यस्तो भन्नेहरूले चाहिँ यो सिनेमा हेर्दा फरक स्वाद पाउनेछन्। दयाहाङले पछिल्लो समय अभिनय गरेका सिनेमाभन्दा फरक स्वादको सिनेमा हो – ‘गाउँ आएको बाटो।’ यसले दिन खोजेको सन्देश पनि फरक छ।

सिनेमामा केही कमजोरी पक्ष पनि छन्। जस्तो कि सिनेमा सुरु भएदेखि नै माइला निकै दुःखी र थकित देखिन्छ। उसले जीवनमा अनेक दुःख गर्छ, संघर्ष गर्छ, मिहिनेत गर्छ। तर पनि सफल हुन सक्दैन। आफ्ना छोरा (बिन्द्रे) का स-साना सपना पूरा गर्न नसकेका उसले गाउँमा दुःख गरेर केही प्राप्ति गर्न नसकिएको दृश्यलाई देखाइएको छ।

सिनेमाले गाउँ बस्नुपर्छ र यहीँ जीवन बाँच्नुपर्छ भन्ने सन्देश दिन सकेको छैन। गाउँमा बाटो पुगेपछि स्थानीय बासिन्दाका आकांक्षा पूरा हुनुपर्ने भए पनि बाटोकै कारण पनि गाउँ छोड्नुपरेको दृश्यलाई देखाइएको छ। यसरी सिनेमा प्रस्तुतिमा सबल रहँदारहँदै पनि गाउँप्रति अनुदार देखिएको छ।

खासगरी माइलाका छिमेकी (तायाप्पा)विदेशबाट आएपछि घरमा टीभी जोड्छन्। त्यो देखेपछि बिन्द्रेको पनि सपना टीभी जोड्ने हुन्छ। आफ्ना छोराको सपना पूरा गर्ने ध्याउन्नामा सहर (धरान) पुगेका माइला घर आएपछि ऊ र उसको परिवारले सधैँका लागि गाउँ छाड्नुपरेको दृश्य सिनेमामा देखाइएको छ।

गाउँ छोड्नु, सहर जानु वा अन्तिम विकल्प विदेश जानु हो भन्ने कुरालाई प्राथमिकता दिइएको छ। खास भन्ने हो भने सिनेमाले अहिले बाँचिरहेका मानिसलाई उत्साह थप्न सकेको छैन। सिनेमाले निराशा मात्रै देखाउने प्रयास गरेको छ। गाउँमा केही छैन भन्ने भाष्य निर्माण गरेको र गाउँमा जीवन बाँच्न अनेकन् प्रयास गरे पनि सफल हुन नसकेको दृश्यलाई समावेश गरिएको छ।

सिनेमाका पात्र माइलोले जीवन बाँच्नका लागि गरेको संघर्ष, निरन्तरको अथक प्रयास गरे पनि कर्मको फल भने प्राप्त गर्न सक्दैन। गाउँमा एक लाहुरे छ। त्यो लाहुरे सबै कुरा (धन, दौलत, इज्जत, सम्मान) ले सम्पन्न छ। उसका एकैमात्र छोरो छ। सबै कुराले सम्पन्न भए पनि एउटा मात्रै भएको छोरालाई विदेश (जर्मन) पठाउन पैसाको जोहो गरिरहेको दृश्यलाई प्रस्तुत गरिनुले ‘गाउँमा केही नै छैन’ भन्न खोजेको पुष्टि हुन्छ।

सिनेमाले सम्पन्न भनिएकाहरू र आर्थिक रूपमा विपन्न रहेकाहरू (दुवै) गाउँ बसेर केही हुँदैन भन्ने गलत सन्देश दिन खोजेको छ। त्यसो त सिनेमामा माइलाकी छोरी हराएको भनिएको छ। तर ऊ कहाँ गई, कसरी हराई र कहाँ छे? भन्ने नदेखाउनु र उक्त घटना रहस्यमयमै छाडिनुले त्यसले दिन खोजेको सन्देश प्रस्ट छैन। समग्रमा सिनेमाले गाउँको जीवनलाई प्रस्तुत गरेको छ।

गाउँमा बाटो पुगेपछि माइलाको परिवारमा केके परिवर्तन भयो? उसको जीवनमा के आयो? उसको जीवनले के गुमायो? वा के पायो ?  अन्त्यमा गाउँ नै छाडेर किन हिँड्यो? यी रहस्य थाहा पाउन भने सिनेमा हलमै जानुपर्छ।

नवीन सुब्बा र महेश राईले लेखेको सिनेमामा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमिन्त्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ। निर्देशकका अनुसार उक्त सिनेमा पूर्वी पहाडी जिल्ला भोजपुरको आमचोक, भोजपुर सदरमुकाम, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको हो।

प्रकाशित: २६ जेठ २०८१ १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =