खेती–किसानी

नेपाली चियामाथि भारतले दिन्छ हैरानी, सुल्झाउन सक्दैन नेपाल

रमेश भारती १९ वैशाख २०८१ ६:५७
56
SHARES
नेपाली चियामाथि भारतले दिन्छ हैरानी, सुल्झाउन सक्दैन नेपाल प्रतिनिधिमूलक तस्बिर स्रोत : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

काठमाडौँ- भारतले आफ्नो देशमा नेपाली चिया आयातमा रोक लगाउँदै आएको छ। गत साता भारतले गुणस्तरको समस्या देखाउँदै नेपाली चिया भित्र्याउन एक साता रोक लगाएको छ। भारतले अहिले मात्रै होइन २०५२ सालयता पटकपटक चिया आयातमा रोक लगाउँदै आएको छ। पछिल्लोपटक पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू  गरेर नेपाली चिया आयातमा रोक लगाएको हो।

भारतले तीन दशकदेखि नेपाली चियाको गुणस्तरमा प्रश्न उठाउँदै आए पनि कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न नसकिएको गुनासो चिया व्यवसायीको छ।

सन् २०१९ मा नेपालको राष्ट्रिय खाद्य तथा दाना रेफरेन्स प्रयोगशाला र भारतको फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड अर्थोरिटी अफ इन्डिया (एफएसएसआईए) बीच अर्को पनि समझदारी भएको थियो।  भारतीय पक्षले समझदारी कार्यान्वयन  नगर्दा चियाको गुणस्तरमा  प्रश्न उठ्ने गरेको चिया व्यवसायीहरू बताउँछन्।

नेपाल-भारत व्यापार सन्धिविपरीत भारतले गुणस्तरको विषयलाई मुद्दा बनाएर नेपाली चिया लैजान रोक लगाउँदै आएको नेपाल चिया उद्योग एसोसिएसनका अध्यक्ष कमल मैनालीको आरोप छ। आयातमा रोक नलगाएका बेलामा भने भारतले नेपाली चिया लगेर भारतीय कम्पनीको ब्रान्डमा विदेशी बजारमा व्यापार गर्दै आएको उनले बताए। ‘नेपाली चियालाई भारतीय ब्रान्डमा व्यापार गरे पनि भारतले नेपाली चियाको गुणस्तरमा दुई दशकयता प्रश्न उठाउनु गलत हो। यसमा सरकार गम्भीर भएन’, उनले भने।

भारतले नेपाली चियाको नमुना कोलकात्तास्थित सेन्ट्रल फुड ल्याब (सीएफएल) मा परीक्षण गर्दै आएको छ। उक्त नमुनाको परीक्षण प्रतिवेदन आउन कम्तीमा १५ दिन लाग्छ। भारतले नेपाली चियामा सबैभन्दा ठूलो मुद्दा प्रतिवेदनको समयलाई देखाउने गरेको एसोसिएसनका अध्यक्ष मैनालीको भनाइ छ। नमुना परिक्षणको प्रतिवेदन आउन १५ दिन लाग्दा हरियो चियाको सामान्य पात सुक्छ। हरियो चिया ओइलिएपछि भारतले गुणस्तरहीन भन्ने गरेको चिया मैनालीले बताए।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दीपक खनाल नेपाली चियाको गुणस्तरमा प्रश्न उठाउने ठाउँ नभएको बताउँछन्। उनका अनुसार भारतबाहेक अन्य देशबाट भने नेपाली चिया गुणस्तरीय छ भन्दै माग भइरहेको छ।

भारतले मात्र नेपाली चियाको गुणस्तरमा प्रश्न उठाउनु गलत भएको उनले बताए। ‘नेपाली चियाका गुणस्तरमा समस्या छैन। भारतले बाहाना मात्र बनाएको हो। नेपाली चियाको माग बढ्न थालेपछि भारतले गुणस्तरमा भारतले खोट देखाउँछ’, खनालले भने, ‘भारतीय व्यापारीले मात्र नेपाली चियाको गुणस्तरमा प्रश्न उठाउँदै आएका छन्। त्यहाँका ग्राहकले नेपाली चिया गुणस्तरीय भनेर नेपाली बजारबाट किनेर लैजान्छन्।’

भारतमा चियाको उत्पादन घट्न थालेपछि  नेपाली चियाको गुणस्तरमा प्रश्न उठाएको खनालको दाबी छ।

भारतमा नेपाली चियाको बजारलाई निरुत्साहित गर्न २०७९ भदौमा तत्कालीन भारतीय सा‌ंसदहरूले लबिइङ गरेका थिए। पश्चिम बंगालका तत्कालीन सांसद शान्ता क्षेत्रीसहित केही सा‌ंसदले दार्जिलिङको केही चिया बगानका सञ्चालकको मिलोमतोमा भारतीय बजार खोस्न विश्व बजारमा नेपालीको प्रचार भइरहेको आरोप लगाएका थिए।

हिमालयन अर्थोडक्स टी प्रोडयुसर्स एसोसिएसन (होट्पा) का उपाध्यक्ष उदय चापागाई नेपालको गुणस्तरयुक्त चिया भारत निर्यात हुन नदिन भारतका सांसदहरूले राज्यसभादेखि लोकसभासम्म चर्को लबिङ भइरहेको बताउँछन्।

भारतीय पक्षले सन्धि, सम्झौता र समझदारीलाई मान्यता नदिएको उनको आरोप छ। ‘नेपालको राष्ट्रिय खाद्य तथा दाना रेफरेन्स प्रयोगशालाले जारी गरेको गुणस्तरसम्बन्धी प्रमाणपत्रलाई एफएसएसआईएले मान्यता दिने भनेर समझदारी भएको छ। भारतले भने यही विषयमा विवाद निकाल्छ’, चापागाईले भने।

भारतले नेपाली चियाको गुणस्तर परीक्षणको बहाना मात्र बनाएको उनको आरोप छ। भारतमा नेपालबाट वार्षिक रूपमा ९० प्रतिशत अर्थोडक्स र करिब ५० प्रतिशत सीटीसी चिया निर्यात हुँदै आएको छ।

कृषि मन्त्रालयका अनुसार निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जान्छ। सबैभन्दा बढी चिया निर्यातमा हुने नाकामै भारतले रोक लगाउने गरेको छ। नेपालबाट  वार्षिक एक करोड ७४ लाख किलो चिया भारत निर्यात हुँदै आएको मन्त्रालयको तथ्यांक छ। नेपाली हरियो चियाको पात अवैध बाटो हुँदै भारत तस्करी समेत हुने गरेको छ।

विश्व व्यापार संगठन (डब्लूटीओ) को प्रावधानअनुसार नेपालले भारतीय चियाको आयातमा लगाएको भन्सार शुल्कजस्तै भारतले पनि नेपाली चियाको निर्यातमा भन्सार शुल्क लगाउन छुट छ। नेपालले भने भारतीय चिया आयातमा ४० प्रतिशत भान्सार लगाउँदै आएको छ। भारतबाट नेपालमा भित्रिने चियामा भने नेपाल सरकारले ४० प्रतिशत भन्सार शुल्क लगाएको छ।

प्रकाशित: १९ वैशाख २०८१ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + sixteen =