नेपाली खानेपानीको कतार उडान : अमिरले गर्लान् समझदारी?

भ्रमणका क्रममा श्रम सम्झौता नवीकरणदेखि पानी, माटो र केयर गिभरसम्मका विषयमा छलफल हुने

रमेश भारती १० वैशाख २०८१ २१:४६
472
SHARES
नेपाली खानेपानीको कतार उडान : अमिरले गर्लान् समझदारी?

काठमाडौँ- नेपालको खानेपानी निर्यात गर्ने विषयमा नेपाल र कतारका प्रतिनिधिबीच एक दशकयता पटकपटक छलफल हुँदै आएको छ। तर टुंगो भने लाग्न सकेको छैन।दुवै मुलुकले यस विषयमा अहिलेसम्म ठोस निर्णय किन लिन सकेका छैनन् भन्ने विषयको जबाफ स्वयं खानेपानी मन्त्रालयले पनि दिन सकेको छैन।

कतारी अमिर (राजा) सेख तमिम विन हमाद अल-थानी मंगलबार नेपाल भ्रमण आउने र बुधबार फर्कने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेपछि फेरि पानीको प्रसंग उठेको छ। हुन पनि कतारका राष्ट्रप्रमुख अमिरको नेपाल भ्रमणका क्रममा नेपालले शिक्षा, कृषि, खेलकुद, श्रम, पर्यटन, जलविद्युत्, खानेपानी, स्वास्थ्य, धार्मिकलगायतका एक दर्जन क्षेत्रमा सम्झौता र समझदारीको तयारी गरेको भनिए पनि कुन क्षेत्रमा कस्तो सहमति गर्ने स्पष्ट छैन।

खासगरी नेपालले भ्रमणका क्रममा कतारसँग श्रम सम्झौता, कृषि र खानेपानी व्यापारका लागि द्विपक्षीय समझदारीको तयारी गरेको छ। खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठका अनुसार कतारी अमिरको भ्रमणका अवसरमा खानेपानी व्यापारका विषयमा द्विपक्षीय समझदारीको प्रस्ताव गर्ने तयारी छ। तर कुन मोडलमा सम्झौता हुने टु‌ंगो भइसकेकाे छैन। कतारसँग मन्त्रालयले खानेपानी व्यापारका लागि सन् २००५ देखि औपचारिक रूपमा प्रस्ताव गर्दै आए पनि निर्णय हुन बाँकी रहेको उनले बताइन्।

‘कतारले नेपालको शुद्ध पिउने पानीमा लामाे समयदेखि चासो देखाउँदै आएकाे सत्य हो तर कसरी कुन मोडलमा पानी निर्यात गर्ने अझै स्पष्ट भइसकेकाे छैन,’ उनले भनिन्, ‘कतारी अमिरको भ्रमणका क्रममा खानेपानी व्यापारमा समझदारी भए अर्को नयाँ व्यापारको बाटो खुल्नेछ।’

नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो। त्यही समययता पानीको विषय उठेको हो। गत मंसिरमा तत्कालीन खानेपानी मन्त्री महेन्द्रराय यादवसँग नेपालका लागि कतारी राजदूत मिसाल विन मोहम्मद एलएई अन्सारीसँग भएको शिष्टाचार भेटमा मन्त्री यादवले राजदूतलाई खानेपानी व्यापारको प्रस्ताव गरेका थिए। उक्त भेटमा मन्त्रीको प्रस्तावलाई कतारी राजदूतले सकारात्मक रूपमा लिएका थिए।

२०७५ सालमा खानेपानी मन्त्री बिना मगरले नेपालका लागि कतारका तत्कालीन राजदूत युसुफ बिन मोहम्मद अल हेललाई पानी किनेर लैजान प्रस्ताव गरेकी थिइन्। त्यतिबेला मन्त्री मगरले कतारी राजदूतसँग नेपाललाई ग्यास र तेल दिएर खानेपानी लैजान आग्रह गरेकी थिइन्। अल हेलले  कतारमा ग्यास र तेलको अभाव नभए पनि शुद्ध पिउने पानीको भने समस्या भएका कारण नेपालबाट पानी खरिद गर्ने आश्वासन दिएका थिए।

यसैगरी २०७६ भदौमा तत्कालीन कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कतारलाई खानेपानी किन्न प्रस्ताव गरेका थिए। कतारको स्वास्थ्य तथा खानेपानी निकायहरूले नेपाली दूतावासका प्रतिनिधिलाई बोलाएर छलफलसमेत गरेको पूर्वराजदूत भारद्वाजले हिमाल प्रेसलाई जानकारी दिए।

नेपालको पानी कतारमा लैजाने विषयमा दुवै देशका सरकारबीच समझदारी गर्नु अति आवश्यक भएको भारद्वाजले बताए। ‘नेपालले खानेपानी व्यापारका लागि प्रस्ताव गरेर मात्र हुँदैन। यसरी पानी व्यापार गर्न सकिन्छ भनेर कतारी अधिकारीलाई योजना दिनुपर्छ,’ उनले भने, ‘कतार नेपालबाट पानी लैजान सहमत होला। तर पानी लैजाने बाटो खोइ? यस्ता विषयमा नेपाल पहिला नै औपचारिक योजना बनाएर छलफल गर्दा राम्रो हुन्छ।’

अरू देशको भन्दा नेपालको पानी स्वच्छ र प्राकृतिक मिनरलयुक्त भएकाले कतारले लैजाने उनको भनाइ छ। उनका अनुसार नेपालमा कतारी पर्यटक धेरै आउन सक्छन्। यसका लागि सरकारले पर्यटनस्थलसँगै पर्यटन क्षेत्रका योजना बनाएर कतारी राजासँग प्रस्ताव गर्नुपर्ने उनको सुझाव छ।

दुई निजी जहाज लिएर आउन लागेका कतारी अमिरका साथमा आधा दर्जनभन्दा बढी मन्त्री आउने सूचना पाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। कतारी अमिरसँग विभिन्न मन्त्रालयका प्रतिनिधिहरू पनि आउनेछन्। उनीहरूले सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ। ‘कतारी अमिरको नेपाल भ्रमण पहिलो भएका कारण महत्त्वपूर्ण क्षेत्रमा द्विपक्षीय समझदारी हुन्छ। यसका लागि सम्बन्धित मन्त्रालय तयारीमा छन्,’ उनले भने। अमिरसँग आधा दर्जनभन्दा बढी विभिन्न मन्त्रालयका मन्त्रीसहित उच्च कर्मचारी आउने दूतावासले परारष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ।

कतारी अमिरको भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौँ आएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन्। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्तासहित द्विपक्षीय केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारसँग श्रम सम्झौता नवीकरणको प्रस्ताव गरेको छ। सोहीअनुसार कतारी प्रतिनिधिसँग छलफल गरी श्रम सम्झौता नवीकरणमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता गोविन्द रिजालले जानकारी दिए।

कतारी अमिरको नेपाल भ्रमणका अवसरमा नेपाली माटो कतार लैजान र कृषिका केही क्षेत्रममा द्विपक्षीय समझदारी तयारी छ। कतारी अमिरको नेपाल भ्रमणको अवसरका कृषिका केही क्षेत्रमा द्विपक्षीय समझदारी तयारी भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता शवनम शिवोकाटीले जानकारी दिइन्।

कतारी अमिरको भ्रमणका क्रममा कृषि व्यापार र अन्य केही क्षेत्रमा द्विपक्षीय समझदारी हुने उनको भनाइ छ। नेपालले सन् २००० जुलाई ११ मा कतारको राजधानी दोहामा दूतावास स्थापना गरेको थियो। कतारले त्यसको ११ वर्षपछि २०११ अगस्टमा काठमाडौँमा आफ्नो दूतावास खोलेको हो।

संसारकै धनी मुलुकको राष्ट्र प्रमुख नेपाल आउनु आफैँमा अत्यन्त राम्रो सन्देश हो। एक वर्षअघि नै उनी आउने तयारी भए पनि इजरायलमा भएको आक्रमणका कारण ढिलाइ भएको हो।

कतारले विशेष गरेर नेपाली महिला केयर गिभर खाेजी गरेको छ। जसरी इजरायलमा नेपाली महिला केयर गिभर भएर जाने गरेका छन्। यसैगरी कतारले पनि त्यसमा पहल गर्दै आएको छ।

अमिरले यो विषय उठाउन सक्नेछन्।  कतारले पहिलादेखि नै यो विषय उठाउँदै आएको छ। तर संसद्‌मा नै रोकिएकाले यसमा समझदारी हुन सकेकाे छैन।  कतारले सुरक्षाको पूर्ण प्रत्याभूति गरे श्रमिक लैजान संसद्ले पनि खुला गर्न सक्ने देखिन्छ।

कतारका अमिरलाई उपहार रुद्रकली र खगेन्द्रप्रसाद

प्रकाशित: १० वैशाख २०८१ २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =