गुराँसको रङले लतपतिएको ‘टिएमजे’ [फोटो फिचर]

विवेक विवश रेग्मी ५ वैशाख २०८१ १३:४९
90
SHARES
गुराँसको रङले लतपतिएको ‘टिएमजे’ [फोटो फिचर]

म त लालीगुराँस भएछु,
वनैभरी फुलिदिन्छु, मनैभरी फुलिदिन्छु…।

क्षेत्रप्रताप अधिकारीले लेखेको यो गीत नारायण गोपालले वर्षौँ पहिले गाए। त्यसबेलाको लोकप्रिय गीत अहिलेका पुस्तामा पनि उत्तिकै लोकप्रिय छ। कालजयी यो गीतको प्रत्येक हरफहरू गुञ्जिरहेको पाइन्छ, ‘टिएमजे’ क्षेत्रमा।

टिएमजे अर्थात्, तीनजुरे, मिल्के, जलजले। कोशी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य हो – टिएमजे।तेह्रथमु र संखुवासभाको संगमस्थल टिएमजेमा आएका आम पर्यटकको ओठमा गुञ्जिन्छ, ‘म त लालीगुराँस भएछु।’

अहिले ढकमक्क फुलेको लालीगुराँसको रङ्गिन दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ। खासगरी ३२ प्रजातिका गुरासँमध्ये २८ प्रजातिका गुराँस टिएमजे क्षेत्रमा पाइन्छ। राष्ट्रिय फूल रहेको लालीगुराँससहित २८ प्रजातिका गुराँस यस क्षेत्रमा पाइने भएकाले आन्तरिकसहित भारतबाटसमेत पर्यटकहरू आउनेगरेको स्थानीयबासी बताउँछन्।

विभिन्न प्रजातिका गुराँस ढकमक्क फुलिरहेको दृश्यले मनै लोभ्याउँछ। विशेषतः पहाडी क्षेत्रमा फागुन अन्तिम सातादेखि बैशाख तेस्रो सातासम्म लालीगुराँस फुल्ने गरेको छ। टिएमजे क्षेत्रमा लालीगुराँसबाहेक बार्बाटम, भीरगाटम, लेपिडोटम, ल्वोन्डेसीजस्ता प्रजातिका गुराँस जेठ तेस्रो सातासम्म फुल्छन्।

तेह्रथुमको सबैभन्दा अग्लो ३ हजार ४५० मिटर उचाइमा रहेको भ्यूटावरबाट आसपासका विभिन्न जिल्ला नियाल्न सकिन्छ। गुराँस फुलेको समयमा यहाँको दृश्य मनमोहक हुन्छ। साथै तीनजुरे क्षेत्रबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमाल सहजै आँखाको दृश्यमा अटाउन सकिन्छ।

तेह्रथुम र संखुवासभाकै सीमानामा रहेको पाथीभरा मन्दिरमासमेत पछिल्लो समय धार्मिक पर्यटकहरू बढ्दै गएका छन्। सवारी साधन पार्किङ गरी २० मिनेट मात्रै पैदल हिँडेर पुगिने यो ठाउँमा पनि पर्यटकको आकर्षक बढ्दो छ। तीनजुरे पुग्नका लागि धरानबाट करिब ८७ किलोमिटर छ। झण्डै साढे तीन घण्टामा वसन्तपुर पुगिन्छ भने त्यसको करिब आधा घण्टामा तीनजुरे पुगिन्छ। वसन्तपुरको देउरालीबाटै वन, जंगल र चराचुरुंगीका मनमोहक संगीत सुन्न पाइन्छ।

तर,सो क्षेत्रमा पुग्ने पर्यटकले गुराँस टिप्दा रुखहरूचाँडै नै उजाडिने जानकारहरू बताउँछन्। यसरी गुँरास टिप्दा यसपछि पुग्ने पर्यटकलेसमेत गुराँस हेर्न नपाउनुका साथै पर्यटहरू पनि घट्ने जानकारहरूको भनाइ छ। एकपटक टिपेको ठाउँबाट पुनः अर्को पटक नफुल्नेसमेत बताइन्छ। पछिल्लो समय स्थानीय पालिकाले फूल नटिप्न र टिपेको पाइएमा कारबाही हुने जानकारी गराएपनि आँखा छलेर कतिपयले टिप्ने गरेको स्थानीयको भनाइ छ। जसकारण पर्यावरणसँगै पर्यटन क्षेत्रमासमेत क्षति हुने गरेको छ।

प्रकाशित: ५ वैशाख २०८१ १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =