लसुनखेतीबाट बर्सेनि डेढ लाख कमाउँछन् रुकुम पश्चिमकाे झ्याङगाउँवासी

हिमाल प्रेस १ वैशाख २०८१ १७:५०
62
SHARES
लसुनखेतीबाट बर्सेनि डेढ लाख कमाउँछन् रुकुम पश्चिमकाे झ्याङगाउँवासी

रुकुम पश्चिम- रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ। सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन। गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ। अन्य समयमा सडकको त्यति धेरै महत्त्व नभए पनि जब गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बजार पुर्‍याउने समय आउँछ त्यो बेला भने किसानलाई सडक आवश्यकता महसुस धेरै हुने गरेको छ।

सडकको समस्या भए पनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु बिक्री गर्न भने बजारको समस्या छैन। यो गाउँमा अन्य कृषिजन्य वस्तुभन्दा पनि लसुनखेती राम्रो उत्पादन हुने गरेको छ। झ्याङ गाउँमा पछिल्लो केही वर्षयता लसुन खेतीतर्फ किसानको आकर्षण बढेको छ। सिंगो झ्याङ गाउँका बासिन्दाले लसुनखेती गरिरहेका छन्। २२ परिवार रहेको यो गाउँमा सबैले लसुनखेती गरिरहेका छन्। लसुनखेतीले यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत सुधार ल्याएको छ।

गाउँमा पहिलो पटक २०६२/६३ सालदेखि लसुन खेती सुरु गरेका ७१ वर्षीय झुपलाल खड्काले लसुन खेतीबाट पर्याप्त आम्दानी हुने गरेको बताए। ‘गाउँमा पहिलोपटक लसुनखेती गर्ने कुषक म नै हुँ, पछिल्लो सयम लसुन राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रै हुने भएकाले गाउँका सबै किसान लसुन खेतीमा लाग्नुभएको छ,’ खड्काले भने।

गहुँभन्दा लसुनबाट राम्रो आम्दानी हुने भएकाले लसुनखेतीलाई जोड दिएको उनी बताउँछन्। ‘गहुँबाट ६ महिनासम्म राम्रोसँग खान नपुग्ने अवस्था हुन्थ्यो,अहिले लसुनबाट वार्षिक एक लाखदेखि एक लाख ५० हजारसम्म कमाई हुन्छ,अन्य घरखर्च पनि व्यवस्थापन गर्न सहज भएको छ,’ उनले भने।

गत वर्ष १४ क्विन्टल लसुन बिक्रीबाट एक लाख १० हजार आम्दानी भएको खड्काले बताए। एक दशकअघिको कुरा स्मरण गर्दै खड्काले भने,‘पहिले डोकामा बोकेर चार घण्टा हिँडेर सदरमुकाम खलंगा पुगेर लसुन बिक्री गरेको हुँ,अहिले त गाउँ नजिकै सडक पुगेको छ। त्यही लगेर गाडीमा सजिलै बजार पुर्‍याउन सकिन्छ। धैरै कुरामा सहज भएको छ।’

लसुनखेतीलाई व्यवस्थित गर्न वडाको प्रयास

वडामा लसुनखेतीलाई व्यवस्थित गर्न वडा कार्यालय योजना बनाएर अगाडि बढेको वडाअध्यक्ष धनबहादुर खड्काले बताए। उनका अनुसार किसानले उत्पादन गरेको कृषिजन्य वस्तु मूल्य नपाएर त्यतिकै खेर जाले अवस्था आउन नदिन वडाले उत्पादनसँगै बजार व्यवस्थापनलाई पहिलो प्राथमिकता राखेको छ।

कृषकलाई प्रोत्साहन गर्न अनुदानमा बीउ वितरण, राम्रो उत्पादन गर्ने किसानलाई सम्मान तथा पुरस्कृतसमेत गर्दै आएको छ। वडामा उत्पादन भएको कृषिजन्य बस्तु व्यापारीसँग वडाले समन्वय गरेर सल्यान, दाङ, काठमाडाैँसम्म पठाउने गरेको छ।

झ्याङगाउँमा प्रत्येक कृषकले एक क्विन्टलदेखिमाथि लसुनखेती गरिरहेका छन्। झ्याङगाउँमा लसुनखेतीलाई थप व्यवस्थित गर्न आउँदो वर्षदेखि अन्यबाली लगाएका ठाउँमा पनि लसुनखेती गर्ने योजना वडाले बनाएको छ। झ्याङगाउँमा पूरै जग्गामा लसुनखेती गर्न करिब दुई सय ५० क्विन्टल बीउ लाग्ने अनुमान गरिएको छ।

अहिले झ्याङगाउँबाट वार्षिक दुई सय ५० क्विन्टल लसुन जिल्लाबाहिर जाने गरेको छ। बजार व्यवस्थापनको सहजीकरण वडाले गरिदिएकाले उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गर्न कुनै समस्या नरहेको वडाध्यक्ष खड्काले बताए। रासस

प्रकाशित: १ वैशाख २०८१ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =