वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग चौबिसै घन्टा खुल्ने

हिमाल प्रेस २९ चैत २०८० १८:४०
24
SHARES
वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग चौबिसै घन्टा खुल्ने फाइल तस्बिर।

काठमाडौँ- राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ। ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज पत्रकार सम्मेलन गरी ठमेलको भगवानबहाल क्षेत्रमा स्थानीय बसोबास गर्दै आइरहेकाले सो क्षेत्रलाई छाडेर अन्य क्षेत्र २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलभित्र रोजगारी सिर्जना गर्दै व्यवसायलाई चलायमान बनाउनका लागि ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिए।

अध्यक्ष शर्माले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुलाउन स्थानीय, प्रदेश र केन्द्र सरकारका सुरक्षा निकायसँग सहकार्य गरिसकेकाले ढुक्क भएर व्यापार व्यवसाय गर्न सबै व्यवसायीलाई आग्रह गरे। ठमेलभित्र आठ हजार पाँच सय व्यवसायी र ६० हजार बढीले रोजगार पाएको उनको भनाइ छ।

दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जय अधिकारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउन २४ सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए। उनले दरबारमार्गलाई लामो समयदेखि २४ सै घण्टा खुलाउन प्रयास गरे पनि उक्त प्रयासले भर्खर मात्र सार्थकता पाएको बताए।

महेन्द्र शालिकबाट नारायणहिटी दरबार सङ्ग्रहालयसम्म खुला हुने दरबारमार्गमा दुई सय व्यवसायी र छ हजार व्यक्तिले रोजगार पाएको उनको भनाइ छ। शहरको वातावरणलाई पर्यटकको अनुकूल बनाउँदै जानसके मात्र लगानी अनुरुप प्रतिफल प्राप्त गर्न सकिने पत्रकार सम्मेलनमा बताइएको छ। ठमेल र दरबारमार्गबाट सुरु भएको २४ घण्टा सञ्चालन गर्ने अभियानलाई बिस्तारै देशका विभिन्न शहरमा लगिने विश्वास उनले व्यक्त गरे।

प्रकाशित: २९ चैत २०८० १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =