पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले सर्वोच्चको इजलासमै पिइन् विष

हिमाल प्रेस २१ चैत २०८० १५:५३
40
SHARES
पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले सर्वोच्चको इजलासमै पिइन् विष

काठमाडौँ- पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन्। आफ्नै मुद्दाको बहस चलिरहेका बेला बुधबार उनले विष सेवन गरेकी हुन्। ‘इजलास चलिरहेकै बेलामा विष जस्तै धुलो पदार्थ सेवन गर्नुभयो,’ सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले हिमालप्रेससँग भने, ‘उहाँलाई हामीले अस्पताल पुर्‍याइदिएका छौँ।’

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा मुद्दाको बहस चलिरहेको थियो। कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी छन्। श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्।

यो मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनका पतिलाई छोडेको विरोधमा आन्दोलन गर्दै आएकी छन्। उनले गएको माघ २ गते सर्वोच्चको गेटअगाडि आत्मदाहको प्रयास पनि गरेकी थिइन्। उनले विभिन्न ठाउँमा अनसन पनि बसेकी थिइन्।

प्रकाशित: २१ चैत २०८० १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =