सहरमा आज

हलमा ‘महाजात्रा’सहित ५ नाटक र चित्रकला प्रदर्शनी

सुस्मिता बजगाईं १० चैत २०८० ६:५५
38
SHARES
हलमा ‘महाजात्रा’सहित ५ नाटक र चित्रकला प्रदर्शनी

काठमाडौँ-  प्रत्येक साताझैँ यो साता पनि उपत्यका विभिन्न महोत्सव, चित्रकला प्रदर्शनी, नाटक मञ्चन, पुस्तक लोकार्पण र फिल्म प्रदर्शनले भरिपूर्ण छ।
नाटकघरमा ५ नाटक मञ्चन भइरहेको छ। आर्टग्यालरीमा विभिन्न चित्रकला प्रदर्शनीसहित हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनीको वर्चस्व छ।
उपत्यकामा केकस्ता विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु भइरहेको छ त?

सर्वनाममा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चनसहित राष्ट्रिय नाट्य विमर्श–२०८०
कालिकास्थानस्थित सर्वनाम थिएटरमा राष्ट्रिय नाट्य विमर्श–२०८० नामक कार्यक्रम हुँदैछ। बिहान साढे १० बजे सुरु हुने कार्यक्रममा उत्तरवर्ती नाट्यकर्मको रुपरेखा र नेपाली रंगमञ्चका प्राविधिक परिवर्तन विषयमा कार्यपत्र पनि प्रस्तुत गरिनेछ।

साथै नाटक रसिक राज र शीतल थोकरले निर्देशन गरेको नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन हुनेछ। सर्वनामको १९ औं ब्याचको प्रस्तुतिमा तयार पारिएको हो। कार्यक्रममा सीमान्त स्वरहरुको प्रतिबिम्बनमा नेपाली रंगमञ्च विषयमा सामुहिक छलफल पनि हुनेछ। कार्यक्रम कविडाँडा साहित्य समाज चितवनले आयोजना गरेको हो।

 नाटक ‘वाचिक अभिव्यञ्जना’ लोकार्पण

प्रा. डा. सावित्री कक्षपति नाटक ‘वाचिक अभिव्यञ्जना’ लोकार्पण हुँदैछ। यो नाटक प्रह्लाद नाटकमा आधारित छ। कालिकास्थानस्थित सर्वनाम थिएटरमा बिहान साढे १० बजे हुने नाट्य विमर्शमा पुस्तक सार्वजनिक गरिनेछ। पुुस्तक सर्वनामले नै प्रकाशन गरेको हो।

शिल्पीमा ‘मासु बेच्ने केटो’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘मासु बेच्ने केटो’ मञ्चन हुँदैछ। नाटक राजेन्द्र पराजुलीको कथासङ्ग्रह ‘जन्तरमन्तर’मा सङ्ग्रहित कथा ‘मासु बेच्ने केटो’मा आधारित छ। नाटकको नाट्य रूपान्तरण र निर्देशन संगीता उरावँले गरेकी छन्। शिल्पीमा एक वर्षे नाट्य कार्यशालामा सहभागी प्रशिक्षार्थीहरुले तयार पारेका हुन्। नाटक शनिबार साँझ साढे ५ बजेको एक सो मञ्चन हुनेछ।

कौशीमा ‘उबुर उबुर टिक्की’

टेकुस्थित कौशी थिएटर(कथा घेरा)मा चैत २ देखि फिजिकल नाटक ‘उबुर उबुर टिक्की’ मञ्चन भइरहेको छ। सुदाम सिकेले नाटकको परिकल्पना तथा निर्देशन गरेका छन्। नाटकमा मानिसका व्यक्तिगत भोगाईलाई शरिरको हाउभाउमार्फत प्रस्तुत गरिएको छ।
नाटकमा निर्देशक सुधामसहित कलाकार आकाश नेपाली, बिनिता गुरुङ, निष्ठा त्रिपाठी र सरिता कठायतको अभिनय छ।
मंगलबारबाहेक साताको प्रत्येक दिन सवा ५ बजे मञ्चन भइरहेको नाटक शनिबार भने दिउँसो १ बजे दुई सो हुनेछ। नाटक चैत १८ गतेसम्म मञ्चन हुनेछ।

मण्डलामा ‘आकाशको बाटो’
थापागाउँस्थित मण्डला थिएटरमा चैत २ देखि नाटक ‘आकाशको बाटो’ मञ्चन भइरहेको छ।
नाटकको लेखक तथा निर्देशक प्रदीप कुमार चौधरी हुन्। सामाजिक विषयवस्तुमा आधारित नाटकमा आकाशको बाटो हुँदै बिदेशिन बाध्य नेपाली युवापुस्ताको कथा र त्यसले समाजमा पारिरहेको प्रभाव प्रस्तुत गरिएको छ।
नाटकमा कलाकार सोहित रावल, सशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ्ग राई, आकृति के.सी, झरना चोखाल, विपना बस्नेत, दिया दुमी राईलगायत कलाकारको अभिनय छ। नाटक चैत १८ गतेसम्म चल्नेछ।
सोमबारबाहेक साताको प्रत्येक दिन ४ बजे मञ्चन भइरहेको नाटक शनिबार भने दिउँसो १२ः३० र ४ बजेको दुई सो हुनेछ।

मण्डलामा ‘अन्धवेग’
मण्डलामै नाटककार बालकृष्ण समको चर्चित नाटक ‘अन्धवेग’ मञ्चन भइरहेको छ। सन १९९६ मा प्रकाशित दुःखान्त नाटक यौन मनोविज्ञानमा आधारित छ। पारिवारिक कथामा आधारित नाटकमा क्षणिक आवेगले निम्त्याएको दुष परिणामलाई देखाइएको छ।
रंगकर्मी प्रवीण खतिवडाको परिकल्पना र निर्देशनमा तयार वियोगान्त नाटकमा कलाकार अनुप न्यौपाने, प्रमिला खनाल, सुवास तिम्सिना, संगीता थापा, बारात लिम्बु, सारदा अधिकारी, सुन्दर धिताल, केशवजंग शाही, सन्देश कार्की र सन्तोष गिरिको अभिनय छ।
नाटक चैत १८ गतेसम्म चल्ने नाटक शनिबार दिउँसो साढे २ बजे र साँझ साढे ५ बजे मञ्चन हुनेछ।
०००

संगीत महोत्सव
हनुमानढोका संग्रहालय र इतुम बहाल क्षेत्रमाइकोज इन द भ्यालीको आठौं संस्करणमा संगीत महोत्सव चलिरहेको छ। चैत ९ गते सुरु भएको महोत्सवको आज अन्तिम दिन हो।
दुई दिन चल्ने महोत्सवमा अमेरिका, भारत, मौरिसस, स्पेन र युक्रेनका कलाकार डब डब दफा, दहना, राजामती गायक, हिमालयन हाइवे, सोनगी ब्लुज र सुर सुधाले सांगीतक प्रस्तुति दिनेछन्।
महोत्सवमा प्रदर्शनीसहित सम्पदा भ्रमण, परिवार तथा बालबालिका गतिविधि, स्थानीय खाना र स्वदेशी उत्पादनसँग सम्बन्धित स्टल छ।

                       ०००
पाटनमा थारु कला प्रदर्शनी
ललितपुरस्थित पाटन संग्राहलयमा। थारू समुदायको इतिहास, जीवनपद्धति झल्किने कला प्रदर्शनी चलिरहेको छ। चैत ३ गतेदेखि सुरु भएको प्रदर्शनीको नाम ‘डउले डउले’ अर्थात ‘नमस्ते, तपाइँलाई कस्तो छ?’ राखिएको छ। यो चितवनमा बोलिने थारू समुदायको भाषा हो।

प्रदर्शनीमा थारू समुदायको इतिहास, दिनचर्या, मौलिकता, अन्तरपुस्ताको ज्ञान र सीप झल्काउने कलाकृति राखिएको छ। जहाँ पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म थारू समुदायको विविधतालाई झल्काइएको छ।
थारू सांस्कृतिक संग्राहलय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको हो। चैत १८ गतेसम्म चल्नेछ।

आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनी
बबरमहलस्थित फागुन ३० देखि नेपाल आर्ट काउन्सिलमा कन्भोकेसन्स इन आर्ट नामक चित्रकला प्रदर्शनी चलिरहेको छ। चैत ८ गतेसम्म चल्ने प्रदर्शनीमा सोजन प्रजापतिले बनाएका परम्परागत तस्बिरहरु राखिएका छन्। प्रदर्शनीमा प्रवेश निशुल्क छ।

कला परिषदमा ‘सार्वभौम वन’
कला परिषद्मै मंसिर २३ देखि ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनरत छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो।
कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेजलाई प्रदर्शनीमा राखिएको छ।
प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्तावेज, विभिन्न प्रजातिका रैथाने बिउ विजन, चित्रलगायतका विभिन्न दस्तावेजहरू छन्।
प्रदर्शनी चैत १८ सम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि साँझ सात बजेसम्म खुल्ला रहनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

हलमा नेपाली, हिन्दी र अंग्रजी फिल्म

महाजात्रा
चैत ९ गतेदेखि फिल्म ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ। यो सन् २०१६मा प्रदर्शन भएको फिल्म ‘जात्रा’ को तेस्रो श्रृंखला हो। अघिल्ला श्रृंखलाजस्तै यसमा अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्षको कथामा प्रस्तुत गरिएको छ।
साथै हाँसो र संवेदना मिश्रित गरिएको फिल्मले राजनीति र भ्रष्टाचारविरुद्ध कटाक्ष पनि गरेको छ। फिल्ममा विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउतलगायत कलाकारको अभिनय छ। फिल्म प्रदीप भट्टराईको लेखन र निर्देशनमा बनेको छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिभिल मल र लबिम मलमा फिल्मको ३३ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण पिक्चर्समा फिल्म ‘महाजात्रा’ चलिरहेको छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म महाजात्रा चलिरहेको अन्य हल हुन्।

रङ्गेली
फागुन २५ देखि नै प्रदर्शन भएरहेको फिल्म ‘रङ्गेली’ शक्तिको खेलमा आधारित छ। फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल र एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

उपहारः द जर्नी अफ लाइफ
फागुन २५ देखि प्रदर्शन भएको फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ। अनाधिकृत संरचनामा व्यावसाय सञ्चालन गर्दै आएकी महिलाले भोग्नुपरेको समस्यालाई फिल्मको मुख्य विषयवस्तु बनाइएको छ।
फिल्ममा प्रेम, रोदन, पीडा र कमेडी मिश्रित फिल्ममा रेखा थापा, मुकुन भुसाल, बेनिशा हमाल, पूजा शर्मा, तेज गिरि, समर्पण जंग कार्की, शिशिर राणा, अंशु महर्जनलगायत कलाकारको अभिनय छ।
उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुरमा फिल्मको दुई सो छ। रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्समा फिल्मको सो छ।

अगस्त्य
फागुन १८ देखि फिल्म ‘अगस्त्य’ प्रदर्शन भइरहेको छ। निर्देशक चौधरीको लेखन र निर्देशनमा बनेको फिल्म भारतमा बेचिएकी नेपाली किशोरीको उद्धारको कथा छ।
फिल्ममा सौगात मल्ल, निश्चल बस्नेत, रविन्द्र झा, शिशिर बाङ्देल, प्रमोद अग्रहरि, नाजिर हुसेन, मलिका महत, विजय बराल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठीलगायत कलाकारको अभिनय छ।
उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर र एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

मड्गाउँ एक्सप्रेस
हिन्दी फिल्म ‘मड्गाउँ एक्सप्रेस’ चैत ९ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी रड्रामा जनरामा बनेको फिल्ममा दिव्यन्दु शर्मा, उपेन्द्र लिमाय, नोरा फतेही लगायत कलाकारको अभिनय छ। बाल्यकालदेखिका तीन साथी गोवा घुम्न निस्किएको यात्रामा आइलाग्ने परिस्थितिलाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्म कुनाल केम्मुले निर्देशन गरेका हुन।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको सात सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण पिक्चर्समा फिल्म ‘मड्गाउँ एक्सप्रेस’ चलरिहेको छ।

योद्धा
बलिउड फिल्म ‘योद्धा’ चैत २ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर एक्सन र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक सागर अम्ब्रे र पुस्कर ओझा हुन्। फिल्ममा सिद्धार्थ मल्होत्रा, राशी कन्ना मुख्य भूमिकामा छन्। शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मलमा एक सो छ।

शैतान
थ्रिलर र हरर जनरामा बनेको बलिउड फिल्म ‘शैतान’ का निर्देशक विकाश बहल हुन। फिल्म फागुन २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अजय देवगन, माधवन, जानकी बोडिवाला मुख्य भूमिकामा छन्।
उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र छाया सेन्टरमा नौ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा बलिउड फिल्म ‘शैतान’ चलिरहेको छ।

कङफु पाण्डा ४
फागुन २५ देखि नेपालमा हलिउड फिल्म ‘कुङफु पाण्डा’को चौथो भाग प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर, कमेडी र पारिवारिक जनरामा बनेको छ। फिल्मका निर्देशक माइक मिचेल र स्टेफनी स्टाइन हुन्। फिल्ममा एन्जेलिना जोली, ज्याक ब्ल्याक, ज्याकी च्यान, सेठ रोजेन, लुसी लिउ, डस्टिन होफम्यान, डेभिड क्रसलगायको अभिनय छ।
उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको सात सो छ।
बिग मुभिज, एफक्यूब सिनेमाज, मा हलिउड फिल्म ‘कुङफु पाण्डा ४’ चलिरहेको छ।

ड्युन २
फागुन ११ देखि हलमा डेनिस भिलेनुएभ निर्देशित हलिउड फिल्म ‘ड्युन २’ प्रदर्शनरत छ। साइन्स फिक्सन जनरामा बनेको फिल्म फ्यांक हबर्टको पुस्तकमा आधारित छ।
एक्सन, एडभेन्चर र ड्रामा जनरामा बनेको फिल्ममा फ्लोरेन्स पग, टिमोथी चालमेट, रेबेका फग्र्युसनलगायत कलाकारको अभिनय छ।
उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, लबिम मल र सिभिल मलमा फिल्मको तीन सो छ।

प्रकाशित: १० चैत २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =