‘महाजात्रा’ प्रिमियर: जात्रा शृङ्खलाको उत्कृष्ट फिल्म

हिमाल प्रेस ७ चैत २०८० ११:१४
24
SHARES
‘महाजात्रा’ प्रिमियर: जात्रा शृङ्खलाको उत्कृष्ट फिल्म

काठमाडौँ- प्रिमियरमा फिल्म ‘महाजात्रा’ले उत्कृष्ट बनेको प्रतिक्रिया पाएको छ। सुन्धारास्थित सिभिल मलमा मंगलबार गरिएको प्रिमियरमा सहभागीहरुले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका हुन्।

सहभागी कलाकारले फिल्मको पटकथा देखि हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेललगायत कलाकारको अभिनयको तारिफ गरे।

अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहँदा समय बितेको पत्तै नपाएको प्रतिक्रिया दिए। उनले फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको खुलेरै तारिफ गरे। ‘फिल्म राम्रो र रमाइलो बनेको छ। कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ। यसले सन्देश दिन्छ तर जात्रा कै शैलीमा। उनले भने। ‘परिवार एकसाथ बसेर हेर्ने फिल्म बनेको छ’।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र सन्देशमूलक फिल्मबनेको प्रतिक्रिया दिईन्। ‘फिल्म हेरिरहँदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिदैन। किनकि समग्रमा नै फिल्म राम्रो बनेको छ। कलाकार पनि निकै मेहनत गरेका छन्।’ उनले भनिन।

अभिनेत्री ऋचा शर्माले समय सान्दर्भिक र दर्शकले हेर्न चाहेको कुरा फिल्ममा पाएको बताइन। ‘हलमा केही संवादमा सिठ्ठी र ताली बज्नेमा विश्वस्त छु। प्रिमियरमै हामी पात्रको सुखदुःखसँग जोडिएका थियौँ। यसमा कडा म्यासेज, हास्यरसमा दिनुभएको छ। हामीले शब्दमा व्याख्या गर्नु भन्दा पनि दर्शकले हलमै गएर हेर्नु भयो भने बढी पाउनु हुनेछ’, अभिनेत्री शर्माले भनिन्।

अभिनेता तथा हास्य कलाकार जीतु नेपालले फिल्ममार्फत राजनीतिज्ञले सन्देश पाउने बताए। ‘फिल्म पूर्ण प्याकेजमा बनेको छ। एउटा पक्ष मात्र राम्रो भएर फिल्मले यत्तिको तारिफ पाउँदैन। यो प्रिमियरमा उपस्थित सबैले तारिफ गरेका छन्। दर्शकले छुटाउन नहुने फिल्म बनेको छ’, कलाकार नेपालले भने।

हास्यकलाकार किरण केसीले फिल्मले सम्पूर्ण वर्गका दर्शकलाई आकर्षित गर्ने बताए। ‘यो फिल्म परिवार नै बसेर हेर्न मिल्छ। यो जात्रा शृङ्खलाको उत्कृष्ट सिनेमा हो’, केसीले भने।

गायक तथा अभिनेता प्रकाश सपूतले समसामयिक विषयवस्तुमा सुन्दर फिल्म बनाएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए।

अभिनेता हरिवंश आचार्यले लेखिएको भन्दा प्रिमियरमा हेरेको फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। ‘मैले भन्दै आइरहेको कुरा नै आज फिल्म हेरेपछि सबैले भन्नु भयो। स्क्रीप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हास्ने फिल्म बनाउछन् भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यहि भन्दा डबल हर्षित छु’, अभिनेता आचार्यले भने।

अभिनेत्री वर्षा राउतले सबैले दिएको प्रतिक्रियाले आफूलाई दंग बनाएको बताइन्। ‘आज म टिम भएर फिल्म हेर्दा र प्रतिक्रिया बटुल्दा निकै उत्साहित छु। अब दर्शकसँग फिल्म हेर्न निकै उत्सुक छु। फिल्मको पात्रसँग हलमा रहेका दर्शकहरू कनेक्ट भएको पाउँदा म निकै खुसी छु’, अभिनेत्री राउतले भनिन्।

त्यस्तै अभिनेता विपिन कार्कीले ‘जात्रा’ र ‘जात्रै जात्रा’ भन्दा बढी मनोरञ्जन ‘महाजात्रा’ मा पाउने दावी गरे। ‘अघिल्ला शृङ्खला भन्दा बढी माया पाउनेमा विश्वस्त छु। मलाई हिरो बनाएको र चिनाएको सिनेमा नै जात्रा शृङ्खला हो।’ उनले भने। ‘यो मेरो करिअरलाई अगाडि बढाउने फिल्म हो । जात्रा झैँ महाजात्राले पनि मलाई नयाँ उचाईमा पर्याउने छ’, अभिनेता कार्कीले भने।

लेखक तथा निर्देशक भट्टराईले फिल्मले प्राप्त गरिरहेको प्रतिक्रियाले डर भागेको बताए। ‘हामीलाई मन परेर र राम्रो लागेर नै फिल्म बनाएका थियौँ।’ उनले भने। ‘जात्रामा हामीले तीन साथीको कथा भनेका थियौँ भने यसपटक राष्ट्रिय विषयलाई पनि जोडेका छौँ’, निर्देशक भट्टराईले भने।

षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ को तेस्रो शृङखला महाजात्रा’ चैत ९ मा विश्वभर प्रदर्शन हुनेछ। फिल्ममा कलाकार हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ,अर्जुनजंग शाही, सुमन कार्की,अरविन खड्कालगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्।

 

प्रकाशित: ७ चैत २०८० ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =