घरायसी कलहमा श्रीमतीको हत्या, ‘जेल जानुपर्ने डरले आत्महत्या’

हिमाल प्रेस ७ चैत २०८० ८:५३
16
SHARES
घरायसी कलहमा श्रीमतीको हत्या, ‘जेल जानुपर्ने डरले आत्महत्या’ माेरङमा घरासयी झगडापछि श्रीमान्ले श्रीमतीको हत्या गरेको घर। बारेमा प्रहरी र स्थानीयवासी घटनाका सोधखोजमा छन्।

इटहरी- मोरङको बेलबारीमा मध्यराति श्रीमान्‌ले श्रीमतीको हत्या गरेर आफैँले आत्महत्या गरेका छन्। बुधबार बिहानको राति १ः४० बजेतिर मोरङको बेलबारी नगरपालिका-१ स्थित अन्दाजी ६० वर्षको बमबहादुर लिम्बूले श्रीमती अन्दाजी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेका हुन्।

आपसी विवादका क्रममा लिम्बूले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। श्रीमतीको हत्या गर्ने दाउले आफूलाई पनि रेटेर बमबहादुरले आत्महत्या गरेका छन्।  उनीहरू स्थानीय निर्मला राईको घरमा चार वर्षदेखि कोठाभाडामा बस्दै आएका थिए। घरधनी निर्मलाले भनिन्, ‘मध्यराति रोएको आवाज आएपछि घटनाबारे थाहा भयो। बमबहादुरले श्रीमतीको हत्या गरेपछि प्रहरीले मलाई जेल लैजान्छ भनेर आफैं घाँटी रेटेछन्।’

घटनास्थलबाट उनीहरूका ८ वर्षीय एक छोरा भने भागेर बच्न सफल भएका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाएपनि चिकित्सकले बिहान ३ः३० बजेतिर मृत घोषित गरेको दाहालले पुष्टि गरे। प्रहरीले घटनामा प्रयोग भएको दाउ बरामद गरेको छ।

पति–पत्नीबीच के विषयमा विवाद भएर उक्त घटना भएको हो भन्नेबारे थप अनुसन्धानपछि खुल्ने उनले बताए। बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

डीएसपी दाहालका अनुसार मृतक गीताको शव घटनास्थलमै रहेको र कानुनी प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि पठाइनेछ। त्यसपछि थप अनुसन्धान सुरु गरिने मोरङ प्रहरीले जनाएको छ।

प्रकाशित: ७ चैत २०८० ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =