सुदूरपश्चिम : कांग्रेसकै सरकारलाई समर्थन गर्ने नागरिक उन्मुक्तिको निर्णय

हिमाल प्रेस ४ चैत २०८० १९:३३
40
SHARES
सुदूरपश्चिम : कांग्रेसकै सरकारलाई समर्थन गर्ने नागरिक उन्मुक्तिको निर्णय

सुदूरपश्चिम- नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको छ। धनगढीमा आज (आइतबार) बसेको संसदीय दलको बैठकले प्रदेश सरकारमा आफूहरू पनि सहभागी रहेकाले समर्थन यथावत् राख्ने निर्णय भएको बैठकपछि सो पार्टीका संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले जानकारी दिए।

पत्रकारको प्रश्नमा उनले केन्द्रमा एउटा गठबन्धन र प्रदेश तहमा त्यस विपरीतको अर्कै गठबन्धनलाई सहयोग गर्ने विषय नेपालमा नयाँ अभ्यास हुन सक्ने बताए।

अर्को प्रसङ्गमा उनले नागरिक उन्मुक्ति जनताको लागि जन्मिएको पार्टी भएकाले जनभावनाअनुसार जाने र केन्द्रमा पार्टीका संरक्षक र पार्टीका अध्यक्षबीच भएको भनिएको मतभेदले पार्टी नफुट्ने बताए।

प्रदेशसभामा चौथो ठूलो शक्ति सो पार्टीका सुदूरपश्चिम प्रदेशसभामा सात सदस्य छन्। संसदीय दलको बैठकमा दुईजना अनुपस्थित थिए। काठमाडौँमा रहेका दुई जना स्वास्थ्यका कारण आजको बैठकमा उपस्थित हुन नसकेको नेता चौधरीले जानकारी दिए।

प्रदेशमा सरकार गठनका लागि निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकको निर्णयसँगै प्रदेशमा नयाँ फेरिएको गठबन्धन दललाई सरकार गठन गर्न तत्काल कठिन देखिएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहलाई पनि बहुमत कायम राख्नुपर्ने चुनौती यथावत् छ। फेरिएको नयाँ गठबन्धनमा सहभागी एमालेका १०, माओवादी केन्द्रका सभामुखसहित ११ र नेकपा एकीकृत समाजवादीका चार प्रदेशसभा सदस्यले मात्र सरकार गठनमा बहुमत पुग्दैन। प्रदेशसभा नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र एक स्वतन्त्र सदस्य छन्।

कुल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सदस्यको समर्थन चाहिन्छ। नयाँ गठबन्धनलाई बहुमत पुर्‍याउन सभामुखबाहेक थप तीन सदस्य अपुग देखिएको छ। नागरिक उन्मुक्तिकै सहयोग रहे पनि मुख्यमन्त्रीको पक्षमा बहुमत पुग्दैन।

प्रदेशसभाको यस्तो गणितमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राप्रपा एक र स्वतन्त्र एक सदस्यले मत दिएमा मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त हुन्छ। स्वतन्त्र र राप्रपाका सदस्यले मुख्यमन्त्रीलाई समर्थन गर्ने आश्वासन दिएको दाबी गरिएको छ। रासस

प्रकाशित: ४ चैत २०८० १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =