पशु बिमा ठप्प, तथ्यांक नमिल्दा रोकियो भुक्तानी

हिमाल प्रेस ४ चैत २०८० १७:४४
22
SHARES
पशु बिमा ठप्प, तथ्यांक नमिल्दा रोकियो भुक्तानी फाइल तस्बिर

काठमाडौँ- दुई सातायता देशभरका निर्जीवन बिमा कम्पनीले कृषि तथा पशु बिमा गर्न बन्द गरेका छन्। सेवा ठप्प हुँदा किसानले बिमा गर्न र भुक्तानी दाबी गर्न पाएका छैनन्। गत साता निर्जीवन बिमा कम्पनीहरूले सरकारले कृषि बिमाअन्तर्गतको बाँकी अनुदान रकम निकासा नगरेको भन्दै सेवा बन्द गरेका थिए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु बिमा गराएका बिमित किसानको स्पष्ट कागजात प्राप्त नभएको र बिमा कम्पनीले पशु बिमाको पुनः अध्ययन गरेर पठाएपछि मात्र निकासा गर्ने तयारीमा छ। १५ निर्जीवन बिमा कम्पनीको छाता संगठन नेपाल बिमक संघले अनुदानबापत सरकारले एक वर्षदेखि करिब ३ अर्ब रुपैयाँ  रोकेको भन्दै फागुन २४ गतदेखि सेवा ठप्प पारेको हो।

कृषि मन्त्रालयका अधिकारीहरू कृषि र पशु सेवा विभागको अध्ययनअनुसार ठूलो फार्म भनेर बिमा गराएका कतिपय संस्थाले ऋण प्रयोजनका लागि फार्म दर्ता गरेर बिमा गराएको भेटिएपछि रकम निकासा रोक्नुपरेको बताउँछन्। पशु बिमाको समयमै विस्तृत विवरण प्राप्त नभएकाले अनुदान भुक्तानीमा ढिलाइ भएको उनीहरूको दाबी छ।

मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले निर्जीवन कम्पनीबाट पठाएको विवरण  र मन्त्रालयमा रहेको म्यानुअल रेकर्ड भिडाउँदा अनुदान रकममा फरक देखिएको  बताए। उनका अनुसार कृषि विभागको साढे ९ करोडको बिमामा १ करोड ६० लाख रुपैयाँ जति फरक देखिएपछि निकास रोक्नुपरेको हो। शर्माले भने, ‘कृषि, बाली बिमाको धेरै समस्या नभए पनि पशु बिमा गरेका थुप्रै किसानको विवरण नमिलेका कारण निकासा रोक्नुपरेको हो।’

कृषि फार्मको बिमा गरिए पनि नभएका चौपायाको बिमा र ऋण देखाएका कारण समस्या देखिएको छ। कृषि तथा पशु सेवा विभागले गरेको अध्ययनमा अनुदान रकम फरक भेटिएपछि अनुदान रकम रोकिएको डा. शर्माले बताए।

‘तथ्यांकमै समस्या देखिएपछि अनुदान दिन मिल्दैन। अहिलेको मुख्य समस्या यही हो। पशु बिमाdf समस्या भएपछि अनुदान रोकिएको छ। पशु बिमाको स्थानीय तहले प्रमाणीकरण गरेर पठाएपछि अनुदान रकम किसानकै खातामा पठाउने तयारी भइरहेको छ’, उनले भने।

स्थानीय तहमा बिमा कम्पनीका एजेन्ट राखेर स्थानीय तहको निगरानीमा किसानको फार्ममा पशुको बिमा गरिएको हो कि होइन भनेर एकपटक अध्यनन गर्नुपर्ने उनको भनाइ छ।

नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमक संघसँग कृषि बिमा गराउन विषयमा छलफल भइरहेको बताए। उनले भने, ‘सेवा बन्द गरेपछि कृषि मन्त्रालय सचिवस्तरीय छलफल सुरु गरेको छ। केही दिनमा समस्या समाधान हुनेछ।’

नमिलेको विवरण कटौती गर्न र बाँकी अनुदान रकम भुक्तानी गर्दै जान कम्पनीलाई आग्रह गरिएको उनले बताए। ‘बिमा कम्पनीले प्राधिकरणमा पठाएको विवरण कृषि विभाग र कृषि मन्त्रालयमा पनि जान्छ। यसमा तथ्यांकमा केही समस्या र भुक्तानीमा रकममा तलमाथि देखियो। यस विषयमा छलफल भइरहेको छ’, पौडेलले भने।

बिमा कम्पनीले हाल ६० हजार किसानलाई पशु बिमाअन्तर्गतका रकम  भुक्तानी दिएका छैनन्। दई हजारभन्दा बढी किसानको पशु बिमामा कृषि मन्त्रालय सशंकित छ। यस विषयमा कृषि मन्त्रालयले कृषि तथा पशु सेवा विभागमार्फत अध्ययन गरिरहेको छ।

बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले अनुदान उधारो बिमा भएको बताए। उनका अनुसार उधारो बिमा गर्न पाइँदैन।

सरकारले कृषिअन्तर्गत पशु बिमाको करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यस विषयमा कृषि मन्त्रालयसँग कैयौँ पटक छलफल गरे पनि भुक्तानी निकासामा ढिलाइ गरेको उनले बताए। ‘नक्कली बिमा गराएको भेटिए शंका लागेका बिमितको मात्र भुक्तानी रोक्ने हो। सबैको भुक्तानी रोक्दा धेरै किसान मारमा परेका छन्। अहिले यो समस्या निर्जीवन बिमा कम्पनीले भोग्नुपरेको छ’, पौडेलले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =