लुम्बिनीमा १२५० जना बने अल्पकालीन भिक्षु [तस्बिरहरू]

विनोद परियार २६ फागुन २०८० १६:५७
44
SHARES
लुम्बिनीमा १२५० जना बने अल्पकालीन भिक्षु [तस्बिरहरू]

लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार एकै दिन १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षु बनेका छन्। अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका विभिन्न १० वटा शील पालना गर्नुपर्नेछ।

अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर प्रांगणमा १२ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो।

अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष महास्थविर धम्म शोभन र थाइलयान्डका धम्मकाय फाउन्डेसनका उपप्रमुख फरा उपाझ्याए पभनासहित बौद्ध धर्म गुरुहरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन्।

अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियम पालना गर्नुपर्नेछ। सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ। भिक्षु बन्नका लागि भने २२७ वटा नियम पालना गर्नुपर्नेछ।

फागुन १६ गते सुरु भएको प्रवज्यामा लुम्बिनी आएर १२५० जनाले केश मुन्डन गरेर चीवर प्राप्त गरेका हुन्। श्रामणेरहरूले आफूहरूले पहेँलो चीवर ग्रहण गर्न पाउँदा निकै खुसी लागेको बताएका छन्।

अखिल नेपाल भिक्षु महासंघका कार्यकारिणी सदस्य भिक्षु प्रज्ञामूर्तिले बुद्ध शिक्षाको प्रवर्धन र लुम्बिनीको महत्त्वलाई थप उजागर गर्न १२५० जनालाई श्रामणेर बनाइएको बताए। उनले चीवर प्राप्त गरेका १२५० जनालाई पञ्चशील, अष्टशील र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराउने गरिएको बताए। छोटो अवधिमा चीवर प्राप्त गरी बुद्धको शिक्षा ग्रहण गराउन आफूहरूले श्रामणेर बनाउने गरिएको उनले जानकारी दिए।

राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथले लुम्बिनीमा गरिएको अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने  बताए।

कार्यक्रम निर्देशक एवं लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश शाक्यका अनुसार सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना र सन् २०२३ मा ५ सय जनालाई प्रव्रज्या गराइएको थियो।

प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राईको उपस्थिति थियो। प्रव्रज्यामा देशभरबाट सहभागिता रहेको छ। प्रवज्याअन्तर्गत आइतबार भिक्षाटन, चैत ३ र ४ गते बृहत्तर लुम्बिनी क्षेत्रको रामग्राम र तिलौराकोटमा धर्मयात्रा र चैत ८ गते समापन कार्यक्रम हुनेछ।

   

प्रकाशित: २६ फागुन २०८० १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =