साताको सेयर बजार : तीव्र उतारचढावबीच ७० अंकको वृद्धि

हिमाल प्रेस २५ फागुन २०८० १५:२९
6
SHARES
साताको सेयर बजार : तीव्र उतारचढावबीच ७० अंकको वृद्धि

काठमाडौँ- सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ। तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ।

साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ।

सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अंक अर्थात् छ प्रतिशतले बढेको थियो। उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मंगलबार भने उच्च अंकको गिरावट देखियो। मंगलबार परिसूचक ७० दशमलव ३१ अंकले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो। बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो। नेप्सेका अनुसार परिसूचक बुधबार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अंकले बढेको थियो।

यो साता पुँजी बजारमा १३ अर्ब २२ करोड १७ लाख १७ हजार बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर कारोबार भएको छ। आइतबार दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने ३७ करोड ३७ लाख ५१ हजार बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता शेयर मात्रै किनबेच भयो।

मंगलबार चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता शेयर कारोबार भएको छ। त्यसैगरी, बुधबार तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ।

बिहीबारको कारोबारपछि  कुल बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ बराबर कायम भएको छ। रासस

प्रकाशित: २५ फागुन २०८० १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =