त्रिपिटक वाचनमा बौद्धमार्गी [तस्बिरहरू]

विनोद परियार २३ फागुन २०८० १३:५२
22
SHARES
त्रिपिटक वाचनमा बौद्धमार्गी [तस्बिरहरू]

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित तीन दिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन (पाठ) गरिएको छ। अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संघसंस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो। आइतबार सरु भएको त्रिपिटक पाठ मंगलबार समापन गरिएको छ।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो। सुत्तपिटक, अभिधम्म र सम्राट् अशोकको पालामा इसापूर्व दोस्रो शताब्दीमा लेखिएको विनयपिटक गरी तीन ग्रन्थलाई मिलाई बनाइएको ग्रन्थलाई त्रिपिटक भनिन्छ।

त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो। हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ। यो ग्रन्थ पाली भाषामा लेखिए पनि धार्मिक प्रभावअनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ।

त्रिपिटक पाठको मंगलबार निवर्तमान शिक्षामन्त्री अशोक राईले समापन गरे। समापन समारोहलाई सम्बोधन गर्दै राईले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धका शिक्षाको सँगालो त्रिपिटक पाठले विश्वभर सकारात्मक सन्देश प्रवाह गरेको बताए। गौतमबुद्ध एसियाको मात्रै नभएर विश्वकै प्रकाश भएको बताउँदै उनले बुद्धको शिक्षा विश्वका लागि अपरिहार्य भइसकेको बताए।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्रा खु्र धमेशभनले आधुनिक समाजमा बुद्धशिक्षाको आवश्यकता बढ्दै गएको बताए। उनले महासंघले तेस्रो पटक लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको त्रिपिटक वाचन गर्न सफल भएको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीमा तीनदिने त्रिपिटक पाठले यहाँको व्यवसायलाई समेत चलायमान बनाएको र बुद्ध शिक्षालाई विश्वव्यापी बनाउने काम गरेको बताइन्। यस्तै लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको पर्यटन प्रवर्धनसँगै बुद्धशिक्षालाई अन्तर्राष्ट्रियकरण गराउन त्रिपिटक पाठले महत्त्वपूर्ण योगदान दिएको बताए।

समापन समारोहमा थाइल्यान्डका बौद्धधर्म गुरु सोमदेज फ्रा महामुनियोङको लिखित शूभकामना सन्देश वाचन गरी सुनाइएको थियो। साथै उक्त अवसरमा त्रिपिटक कार्यक्रमका लागि सहयोग गर्नेहरुलाई सम्मानसमेत गरिएको महासंघका महासचिव भिक्षु निग्रोधले जानकारी दिए। त्रिपिटक वाचनमा १२५० जना प्रवज्या (अल्पकालीन भिक्षु) समेत सहभागी थिए।

 

प्रकाशित: २३ फागुन २०८० १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =