बुद्ध शिक्षा फैलाउन अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस २० फागुन २०८० १५:४४
18
SHARES
बुद्ध शिक्षा फैलाउन अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ

लुम्बिनी- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्धको शिक्षा विश्वभर फैलाउन ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउनुपर्ने बताएका छन्। बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबार सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।

‘मेरो एउटा इच्छा छ। प्रधानमन्त्रीसँग पनि छलफल गरेर बुद्धको मेन टिचिङ जुन छ, त्यसलाई विश्वव्यापी बनाउन ‘इन्टरनेसनल मेडिटेसन डे’ का रूपमा घोषणा गर्न संयुक्त राष्ट्रसंघमा प्रस्ताव गर्ने पक्षमा छु’, उपप्रधानमन्त्री श्रेष्ठले भने। उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेर काठमाडौँमा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रूपमा रहेको ध्यान विधिलाई योग दिवसजस्तै गरी अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको सुनाए।

‘कुन डे भन्ने कुरा छलफल गरौँला तर मेरो हृदयमा भएको ध्यान दिवसका बारेमा सरकारले प्रस्ताव लैजान्छ’, उनले भने।

मन्त्री श्रेष्ठले गृह मन्त्रालयले ध्यान सुरु गरिसकेको पनि बताए। उनले आफ्नो मन्त्रालयले सुशासन र अपराधको क्षेत्रमा काम गर्नुपर्ने दायित्व भएको बताउँदै अब मान्छेलाई स्वरूपान्तरणले मात्रै सुशासन र अपराध न्यूनीकरण गर्नेमा जोड दिए। यसका लागि ध्यान उपयोगी हुने उनको भनाइ छ। ‘गृह मन्त्रालयमा १५ मिनेट ध्यान गरेर मात्रै काम गर्ने अभियान सुरु गरिसकेका छौँ। अब कारागारमा पनि ध्यानविधि थाल्ने अभियानमा छौँ’, उनले भने।

बुद्धले जीवन अगाडि बढाउन ‘आफैँलाई हेर र फेर’ भन्ने शिक्षा दिएकाले त्यसलाई आत्मसात् गर्नुपर्ने गृहमन्त्री श्रेष्ठको आग्रह छ। ‘बुद्धले आफ्नो बाटो आफैँले हिँड्नुपर्छ भन्नुभएको छ। आधुनिक विज्ञानले पनि बुद्धको शिक्षालाई आत्मसात् गरेको छ’, उनले भने।

तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठले बुद्धको शिक्षालाई फैलाउन निकै महत्त्वपूर्ण योगदान गर्ने उनले बताए। गृहमन्त्री श्रेष्ठले त्रिपिटक गौतम बुद्धको शिक्षाको भण्डार भएको बताए।

विनयपिटक, सुत्तपिटक र अभिधम्म पिटकले अनुशासन, नियम र बुद्धका शिक्षाको सन्देशलाई बुझाउने भएकाले यसलाई सबैले बुझ्ने गरी नेपालीमा समेत प्रकाशन गर्न आवश्यक रहेको उनले बताए। त्रिपिटक प्रकाशनका लागि सरकारका तर्फबाट समेत आफूले सहयोग गर्ने गृहमन्त्री श्रेष्ठले आश्वासन दिए।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरु गरिएको हो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धको दर्शन र विचारलाई विश्वले अंगीकार गरेकाले त्यसलाई फैलाउन त्रिपिटकजस्तो कार्यक्रमले ठूलो सहयोग गर्ने बताए। उनले त्रिपिटकमा बुद्धका ज्ञान र शिक्षाको संग्रह भएकाले यस्ता कार्यक्रम प्रत्येक जिल्ला र प्रदेशमा गर्नुपर्ने बताए।

उपाध्यक्ष डा. लामाले बुद्ध दर्शन नेपालको संस्कृति र परम्परा भए पनि विश्वले अंगीकार गरेकाले यसको विकासमा लाग्नुपर्नेमा जोड दिए। उनले बुद्ध दर्शनलाई विश्वले आत्मसात् गरेकाले शान्तिको सन्देश फैलाउन सरकारले पहलकदमी गर्नुपर्ने बताए।

उदघाटन समारोहमा चोकी निमा रिन्पोछेले बुद्वदर्शन तर्कमा आधारित रहेकाले वैज्ञानिक रहेको बताए। उद्घाटन समारोहमा अखिल नेपाल भिक्षु महासंघका संघनायक/संरक्षक भिक्षु बोधिसेन महास्थविर, संघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविर, सचिव निग्रोध महास्थविर, नेपालका लागि श्रीलंकाका राजदूत, लुम्बिनी विकास कोषका पदाधिकारी, बोर्ड सदस्य, स्थानीय सरकारका प्रमुखहरूको सहभागिता थियो।

त्रिपिटक पाठमा छिमेकी देश भारत, श्रीलंका, थाइल्यान्ड तथा म्यानमारबाट समेत प्रतिनिधिहरूको उपस्थिति थियो। तीनदिने पाठमा भारतका बैद्ध तीर्थस्थल बोधगया, सारनाथ, कुशीनगर, राजगृह, श्रावस्तीका भिक्षुभिक्षुणीसहित देशका विभिन्न जिल्लाबाट उपासकहरूको उपस्थिति छ।

अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रर्वद्धन गर्नका लागि बुद्ध जन्मस्थलमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिएको आयोजकले जनाएका छन्।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो।

सुत्तपिटक, अभिधम्म र सम्राट् अशोकको पालामा इपू दोस्रो शताब्दीमा लेखिएको विनयपिटक गरी तीन ग्रन्थलाई मिलाई बनाइएको ग्रन्थलाई त्रिपिटक भनिन्छ।

त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो। हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ। यो ग्रन्थ पाली भाषामा लेखिए पनि धार्मिक प्रभावअनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ।

मायादेवी मन्दिर परिसरका लागि तोकिएको त्रिपिटक वाचन कार्यक्रम वर्षाका कारण अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान केन्द्रमा राखिएको प्रचार प्रसार संयोजक भिक्षु बिमलो स्थविरले जानकारी दिए।

प्रकाशित: २० फागुन २०८० १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =