खेती-किसानी

संकटमा रैथाने गाई, संरक्षणमा छैन योजना

रमेश भारती २३ फागुन २०८० ८:०३
72
SHARES
संकटमा रैथाने गाई, संरक्षणमा छैन योजना तस्बिर साभार : पशु सेवा विभाग।

काठमाडौँ– नेपाली समाजमा गाईबस्तुको मल हालेर कृषि उत्पादन गर्ने चलन निकै पुरानो हो। गोबर मल हालेर फलाएको उत्पादन ‘अर्गानिक’ मानिन्छ। यद्यपि अब देशका अधिकांश भूभागमा रासायनिक मलको पहुँच पुगिसकेको छ। सोही कारण अर्गानिक उत्पादन कम हुँदैछ। अनि खेतमा बाली राेप्नुअघि डोकाभरि गाईबस्तुको मल बोकेर खेतबारीमा लैजाने चलन हराउँदै गएको छ।

मलकै लागि गाईभैँसी पाल्ने किसान नगण्य छन्। त्यसैले त गाईभैँसी पालन मलका लागि नभएर दूध उत्पादनका लागि हुन थालेको छ। दूध धेरै उत्पादन गर्न उन्नत जातिको गाई आयात हुन थालेपछि रैथाने गाई संकटमा पर्न थालेका छन्। व्यावसायिक गाईपालनमा रैथाने गाई समेटिँदैनन्। अत:  नेपाली हावापानीमा विकसित भएका रैथाने गाईको सट्टा गोठहरू आयात गरिएका गाईले भरिन थालेका छन्।

सरकारी अधिकारीहरू नै रैथाने गाई लोप हुने अवस्थामा पुगेको स्वीकार्छन्। पशु सेवा विभागले अछामी, खैला, लुलु, पहाडी, तराई, सिरी र याक नेपालमा स्थानीय प्रजातिका गाईलाई रैथानेको सूचीमा राखेको छ। विभागका प्रवक्ता डा. चन्द्र ढकाल भन्छन्, ‘दूध थोरै दिने भएका कारण किसानले रैथाने गाई पाल्न छाडेका छन्। रैथाने गाईका केही प्रजाति ग्रामीण क्षेत्रमा मात्रै छन्।’

कृषि सूचना तथा प्रशिक्षण केन्द्रको २०७८/७९ को तथ्यांकअनुसार नेपालमा गाई र गोरुको संख्या ७४ लाख ६६ हजार छ। यसमध्ये दूध दिने गाई १२ लाख ९ हजार छन्। बाच्छी र दूध नदिने गाईको संख्या करिब २५ लाख छ। केन्द्रको तथ्यांकमा कति संख्यामा रैथाने गाई छन् भन्ने छुट्याइएको छैन। विभागले भने ७० देखि ८० हजार जति रैथाने गाई रहेको अनुमान गरेको छ।

उन्नत जातका गाई आयात बढ्न थालेपछि रैथाने गाई संकटमा पर्न थालेका हुन्। नेपालमा विकासे पशु आयात १७२ वर्षदेखि हुन थालेको इतिहास छ। १९०७ सालमा जंगबहादुर राणाले बेलायतबाट दुइटा जर्सी गाई ल्याएको पशु सेवा विभागको अभिलेखमा उल्लेख छ। नश्ल सुधारसम्बन्धी एक अध्ययनअनुसार जंगबहादुर राणाले बेलायतबाट ल्याएका ती गाईको नश्ल सुधार गरिएको थियो। ती गाईबाट उत्पादन भएको बाछा १४ कृषि केन्द्रमार्फत बडाहाकिमलाई वितरण गरिएको थियो। त्यसपछि यी गाईको बारेमा केही खुलाइएको छैन।

नश्ल सुधारको प्रयोग गरिएन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रैथाने गाईको संरक्षण र नश्ल सुधारका लागि कार्यक्रम सञ्चालन गरेको छैन। रैथाने गाई संरक्षणका बजेट पनि छुट्याइँदैन। स्थानीय गाईलाई नश्ल सुधार गर्नुपर्छ भन्ने योजना नआएका कारण नश्ल सुधारको काम नभएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का प्रवक्ता डा. लुमानिधि पाण्डे लौँडारीले बताए।  उनले भने, ‘रैथाने गाईको नश्ल सुधारका लागि छलफल त भए होला तर योजनामा समेटिएको पाइँदैन।’

लौँडारीले सरकारी तहबाट उन्नत जातका गाई उत्पादनका लागि नश्ल सुधार गरी चौपाया उत्पादन गर्दै आए पनि रैथाने चौपायालाई समेट्न नसकिएको बताए। ‘रैथाने चौपायालाई नश्ल सुधार गरी नयाँ चौपाया उत्पादन गर्न सकिन्छ तर नेपालमा यसको अभ्यास गरिएको छैन। आगामी दिनमा रैथानेको संरक्षण र नश्ल सुधारका लागि पहल गर्नुपर्छ’, उनले भने।

कृषि क्षेत्रमा पशुपालनले दीर्घकालीन प्रभाव पार्छ। यसका लागि सरकारले ध्यान नदिएको कृषिविज्ञको गुनासो छ। नेपाली रैथाने बालीदेखि चौपायाको ८० प्रतिशत मौलिक गुण लोप भएको कृषिविज्ञहरूको आरोप छ। कृषि क्षेत्रमा रैथानेको जगेर्ना गर्न नसक्दा यस्ता मौलिक गुण फर्काउन समस्या भइरहेको उनीहरू बताउँछन्।  कृषिविज्ञ कृष्ण पौडेल भन्छन्, ‘नेपालमा रैथाने चौपाया, कृषि सामग्री र तरकारीसमेत लोप भइसकेको छ।’

उनका अनुसार राम्रो नश्ल छान्न सके त्यसबाट उन्नत जातको जस्तै दूध दिने गाई उत्पादन गर्न सकिन्छ। उनले भने, ‘विकसित देशले त्यसरी नै नश्ल सुधार गरिरहेका छन्। नेपालमा रैथाने गाईको नश्ल विकास भएन। नेपालका रैथाने आछामी, सिरी, लुलु गाईको खानपानमा ध्यान दिए राम्रो परिमाणमा दूध दिने उनको भनाइ छ। रैथाने गाईको नश्ल सुधार गरेर त्यसैको नयाँ प्रजाति विकास गर्न सरकारले महत्त्व नदिएको आरोप उनको छ।

उनले भने, ‘कृषिका बाली तथा बस्तुभाउको मौलिक जैविक गुण निरन्तर विघटन भइरहेको छ। कतिपय प्रजाति लोप भइसकेका छन्। वर्णसंकर बनाउने प्रक्रियाको विकास नहुँदा रैथाने गुण लोप हुँदैछ। सरकारले संरक्षणको योजना ल्याउन सकेन।’

 कुन प्रजातिका गाईले कम र बढी दूध दिन्छन् भनेर अध्ययन गरी नश्ल सुधार गर्न सकिने उनी बताउँछन्। ‘स्थानीय गाईलाई कृत्रिम गर्भाधान गराएर धेरै दूध दिने वर्णसंकर गाई उत्पादन गर्न सकिन्छ’, उनले भने।

नेपालमा पाइने रैथाने गाई

राष्ट्रिय पुश प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका अनुसार नेपालमा रैथाने गाई गाई गाउँमा मात्र पाइन्छ। दूध धेरै उत्पादन गर्ने नाममा ग्रामीण क्षेत्रमा पनि उन्नत प्रजातिका गाई भित्रिन थालेका छन्।

लुलु गाई : लुलु गाई मुस्ताङ, मनाङ र डोल्पामा पालिन्छ। यसको उत्पत्ति मुस्ताङमा भएको पशु सेवा विभागको पशु अध्ययनमा उल्लेख छ। लुलु गाईले करिब एक पटकमा दुई लिटरसम्म दूध दिन्छ। जुरो नभएको, उच्च हिमाली भेगका सुख्खा चिसोमा पनि हुर्कन सक्ने, होचो कद, लामो पुच्छर, छोटा खुट्टा बाक्ला रौँ भएको लुलु गाईको तौल १५० देखि२२५ केजीसम्म हुन्छ।

खैला गाई – खैला गाई सुदूरपश्चिम प्रदेशमा पाइन्छ। यो गाई सुदुरपश्चिमका पहाडीसँगै तराई जिल्लामा पालिन्छ। खैला गाईले दैनिक दूध २.५ लिटर दूध दिने विभागको अध्ययनमा उल्लेख छ। खैला गाई बलियो शरीर, रिसालु स्वभाव र अन्य स्थानीय जातभन्दा ठूलो शरीर भएका हुन्छन्। यो गाई बाच्छाबाच्छी उत्पादनमा लागि बढी पालिन्छ।

पहाडी गाई  : पहाडी गाई नेपालको मध्यपहाडी भेगमा पाइन्छ। यो प्रजातिको गाई भुटान, सिक्किम र दार्जिलिङबाट भित्रिएका हुन्। गोबर मल र धार्मिक एवम् सामाजिक कार्यका लागि पालिने पहाडी गाईले एक बेतमा सरदर  १५० देखि २०० लिटरसम्म दूध दिन्छ। सरदर ३–४ वर्षमा पहिलोचोटि ब्याउँछ। यो गाईको शारीरिक तौल २०० देखि ३०० केजीसम्म हुन्छ। यस्ता गाईको रङ कालो, रातो, फुस्रो र टाटेपाटे हुन सक्छ।

अछामी गाई : यो प्रजातिको गाईको उत्पत्ति अछाम जिल्लामा भए पनि बझाङ, बाजुरा र डोटीमा पाइने गाई हो। नौमुठे गाई पनि भनेर चिनिने यो गाई नेपालमा पाइने सानो जातको गाई हो। पशुसेवा विभागको पशुपन्छी विकास अध्ययनमा अछामी गाईले दैनिक ४ लिटरसम्म दूध दिन्छ। यो गाईको तौल १२० देखि १५० केजीसम्म हुन्छ।

तराई गाई : नेपालको तराई क्षेत्रमा पालिने यो गाई बहर उत्पादन गर्न पाल्ने गरिन्छ। हाल हरियाणा, जर्सी, साहिवालको वर्णसंकरले गर्दा तराई गाई करिबकरिब लोप अवस्थामा रहेको पुश सेवा विभागको अध्ययनमा उल्लेख छ। तराई गाईले दैनिक पाँच लिटर दूध दिन्छ।

याक, नाक र चौरी : याक र नाकलाई पहाडी गाई र गोरुसँग प्रजनन गराई खच्चड उत्पन्न गरिन्छ। जसलाई चौँरी भनिन्छ। पहाडी गोरु (किर्को) र नाकको प्रजननबाट निस्कने गाईलाई दिम्जो चौँरी भनिन्छ भने गोरुलाई दिम्जो झोप्क्यो भनिन्छ। त्यस्तै याक र पहाडी गाईको प्रजननबाट जन्मने गाईलाई उरंग चौँरी र गोरुलाई उरंग झोप्क्यो भनिन्छ। यस्तो अन्तरजातीय प्रजननबाट जन्मने चौँरीहरूले सन्तान उत्पादन गर्न सक्छन् भने भालेहरु (झोप्क्यो) ले सधैँ सन्तान उत्पादन गर्न नसक्ने हुन्छन्। दूध उत्पादनका लागि दिम्जो चौँरी उत्तम मानिन्छ भने भारी बोक्नका लागि उरंग झोप्क्यो उत्तम मानिन्छ।

यसको रौँ लामा, सिङ तिखो, लामो र बलियो हुन्छ। अत्यधिक चिसो सहन सक्ने क्षमता यी जातका गाईमा हुन्छ। शरीरको तौल १९३ केजीसम्म हुने यो गाईले बढीमा तीन लिटरसम्म दूध दिन्छ।

याक अथवा चौँरी गाई २ सय २० केजी तौलको हुन्छ भने यसले दैनिक ४ लिटर दूध दिन्छ। नाक र स्थानीय जातको बहरको क्रसबाट जन्मेको डिम्जो चौँरी तथा याक र स्थानीय गाईको क्रसबाट जन्मिएकोलाई उराङ चौँरी भनिन्छ।

समुद्री सतहभन्दा तीन हजारदेखि चार हजार पाँच सय मिटर उचाइसम्म सजिलै हुर्कन सक्ने यसको भालेलाई याक र पोथीलाई नाक भनिन्छ। नेपालमा एक दशकयता रैथाने गाईको सट्टामा ब्रोन स्विस, होलिस्टेन फ्रिजन र शाही वाल जातका गाई विकसित गराई पाल्न थालिएको छ। यी जातका गाईले दैनिक १५ देखि २१ लिटर दूध दिने भएका कारण रैथाने गाईभन्दा उन्नत जातका गाईको आकर्षण बढेको हो।

सिरी गाई : पूर्वी नेपालको ताप्लेजुङ साब्लाखुलाई पकेट क्षेत्र मानिएर पाल्ने यो गाई लोपोन्मुख अवस्थामा छ। केन्द्रका अनुसार दुई वर्षअघि गरिएको अनुसन्धानमा नेपालमा सिरी गाई जीवितै रहेको तथ्य फेला परेको हो।

नेपालमा पहिचान भएका ६ वटा रैथाने गाईमध्ये सिरी गाईले धेरै दूध दिन्छ। यो जातका गाईले दैनिक २० लिटरसम्म दूध दिने केन्द्रले जनाएको छ। नेपालमा रैथाने गाई कति छ भन्ने यकिन तथ्यांक नभएको विभागले जानकारी दियो। पछिल्लो समय जिल्ला कृषि पशु सेवा विभागबाट तथ्यांक संकलन गर्ने काम भइरहेको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए।

प्रकाशित: २३ फागुन २०८० ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =