स्थिरताका लागि नेपालका सबै दल एकताबद्ध हुने चिनियाँ विश्वास 

अजय अलौकिक २२ फागुन २०८० १५:०२
30
SHARES
स्थिरताका लागि नेपालका सबै दल एकताबद्ध हुने चिनियाँ विश्वास  चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङ। तस्बिर साभार : चिनियाँ परराष्ट्र मन्त्रालय

बेइजिङ- उत्तरी छिमेकी चीनले नेपालको पुनर्गठित मन्त्रिपरिषद्ले राजनीतिक स्थिरता, अर्थतन्त्रको विकास र जनजीवन सुधारका लागि विभिन्न पक्षसँग एकता र सहकार्य गरी अघि बढ्ने विश्वास लिएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा राखिएको जिज्ञासामा मन्त्रालयकी प्रवक्ता माउ निङले  उक्त कुरा बताएकी हुन्।

प्रवक्ता माउले नेपालमा नयाँ सत्तारूढ गठबन्धन निर्माण गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमाथि चीनले ध्यान दिएको भन्दै राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपालका सबै दलले एकताबद्ध भई सहकार्य गर्ने विश्वास व्यक्त गरिन्।

उनले भनिन्, ‘नेपालमा नयाँ सत्तारूढ गठबन्धनको स्थापना गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमाथि चीनले ध्यान दिएको छ। राजनीतिक स्थिरता, अर्थतन्त्रको विकास र जनजीवन सुधार गर्न नेपालका विभिन्न पक्षलाई एकता र सहकार्य गरेर नयाँ सरकारको गठन कार्य अगाडि बढाउने हार्दिक आशा छ।’

मैत्रीपूर्ण छिमेकी र सहयोगात्मक साझेदारी भएकाका कारण पनि चीनले चीन-नेपाल सम्बन्धमाथि उच्च महत्त्व दिएको उनको भनाइ छ। साथै उनले नेपालको नयाँ सरकारसँग शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको पालना गरी परम्परागत मित्रतालाई सबल पार्ने विश्वास व्यक्त गरिन्।

उनले भनिन्, ‘व्यावहारिक सहयोगलाई गहन पारी चीन र नेपालबीच विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकास गरेर दुई देशका जनतालाई अझ बढी फाइदा पुर्‍याउने इच्छा छ।’

प्रकाशित: २२ फागुन २०८० १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =