परराष्ट्रमन्त्री श्रेष्ठ चीनमा, प्राथमिकता बीआरआई

हिमाल प्रेस १२ चैत २०८० १५:४८
18
SHARES
परराष्ट्रमन्त्री श्रेष्ठ चीनमा, प्राथमिकता बीआरआई चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ। तस्बिर : रासस

काठमाडौँ- उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार बिहान चीनको राजधानी बेइजिङ पुगेका छन्। उनले मंगलबार आफ्ना समकक्षी वाङ यीसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। मन्त्री श्रेष्ठ नौ दिन लामो चीनयात्रामा निस्किएका हुन्।

भारतीय समकक्षीले बधाईसमेत नदिएको अवस्थामा श्रेष्ठले यति लामो चीन भ्रमण गर्नु आफैँमा अर्थपूर्ण रहेको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। विगतमा भारतीय समकक्षीबाट सामाजिक सञ्जालमार्फत भए पनि बधाई आउने गरेको थियो। श्रेष्ठ उपप्रधानमन्त्री नियुक्त भएपछि त्यस्तो बधाई आएको छैन। समकक्षी फेरिएलगत्तै दक्षिणबाट औपचारिक वा अनौपचारिक रूपमा बधाई आउँथ्यो। चीनले भने मन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय सम्हालेकै दिन बधाई दिएको थियो।

श्रेष्ठलाई भारतीय परराष्ट्रमन्त्रीले सञ्जालमार्फत बधाई नदिनुलाई परराष्ट्र मन्त्रालयले गम्भीर रूपमा लिएको छ। यस विषयमा दिल्लीस्थित नेपाली दूतावाससँग पनि छलफल भइसकेको परराष्ट्रका एक उच्च अधिकारीले बताए।
भारतीय परराष्ट्रमन्त्रीले श्रेष्ठ परराष्ट्रमन्त्री हुनु केही दिनअघि दिल्ली हुँदै पुणे जाने क्रममा रहेकी परराष्ट्र सचिव सेवा लम्सालसँग लामो छलफल गरेका थिए। भेटपछि जयशंकरले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन र सहकार्य गरेर अघि बढ्न भारतले चाहेको जानकारीसहित ट्विट गरेका छन्। परराष्ट्र सचिवसँग भएको भेटलाई महत्त्व दिएका जयशंकरले समकक्षी परिवर्तन हुँदा खासै चासो नदिएको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्।

मन्त्री श्रेष्ठलाई सोमबार बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए।

उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङको मैत्रीपूर्ण निमन्त्रणामा चीन गएका हुन्। उनले वाङसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना, नेपालको विकास निर्माण चिनियाँ पक्षले लिएको ठेक्कामा भएको ढिलाइ र नेपालमा चिनियाँले दिने सहयोगबारे छलफल गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

काठमाडौँको चक्रपथका चोकचोकमा फ्लाईओभर सडक निर्माण गरेर ट्राफिक चुस्त बनाउने विषयमा पनि छलफलको सूचीमा रहेको बताइएको छ। नेपाली इन्जिनियरले फ्लाईओभर सबै स्थानमा एकैपटक बनाउनुपर्ने सुझाव दिँदै आएका छन्।

मन्त्री श्रेष्ठले यसअघि चीनले गरेका कतिपय प्रतिबद्धता पूरा नभएको विषयमा पनि छलफल गर्ने कार्यसूची छ। श्रेष्ठले बेइजिङ र अन्य प्रान्तमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ।

उपप्रधानमन्त्री श्रेष्ठले सोमबार चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै मन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =