हिमाल प्रेस संवाद

‘चीनसँगका सम्झौता कार्यान्वयन नहुनुमा नेपालकै कमजोरी छ’

हिमाल प्रेस १९ भदौ २०८० १९:०९
130
SHARES
‘चीनसँगका सम्झौता कार्यान्वयन नहुनुमा नेपालकै कमजोरी छ’

अजय अलौकिक बेइजिङ कार्यथलो बनाएर विगत १३ वर्षदेखि पत्रकारिता गर्दै आएका छन्। केही दिनअघि काठमाडौँ आएका अलौकिकसँग बेइजिङमा बस्ने नेपालीले बुझेको चीन, चिनियाँ विदेश नीति, चीनको भौतिक विकास,  नेपालप्रतिको दृष्टिकोण र नेपाली-नेपालीबीच बेइजिङमा हुने कुराकानीलगायतका विषयमा हिमाल प्रेसले गरेको संवाद :

कोभिड-१९ अघिको बेइजिङ, कोभिड-१९ महामारीका बेलाको बेइजिङ र अहिलेको बेइजिङका बारेमा केही बताइदिनुस् न।

कोभिड-१९ सन् २०२० मा वुहानमा देखा परेको थियो। हुन त यो २०१९ मै देखिएको हो। त्यसैले यसको नामकरण कोभिड-१९ गरियो। हामी बेइजिङमा बस्नेका लागि कुनै प्रभाव परेको थिएन। बेइजिङको अवस्था सामान्य थियो। वुहान र हुबेई आसपासमा मात्रै त्यसको प्रभाव परेको थियो। नेपालबाट घरपरिवारसहित साथीभाइबाट अवस्था के कस्तो छ भनेर चासो व्यक्त हुन्थ्यो। आफन्तको चिन्तापछि अवस्था सामान्य देखाउन मैले धेरै भिडियोहरू बनाएर पठाएको थिएँ।

पहिलो साताचाहिँ अलिक डर भयो। किनभने कोभिडे हावामा छ अनि कहिले कता छ कहिले कता छ भनिन्थ्यो। त्यसैले अलिक मुस्किल भएको थियो। तर पछि कुनै समस्या भएन। बिस्तारै कोभिड-१९ ले विश्वलाई नै च्याप्दै जाँदाखेरी बेइजिङसम्म पनि आइपुग्यो। त्यसपछिको भोगाइ त सबैलाई थाहै छ। २०२२ डिसेम्बरमा आइपुग्दा अवस्था सामान्य भयो। अब बेइजिङ पहिलाजस्तै हुँदैछ। बिदाका बेला मानिसको आवतजावतको भीडले त्यही संकेत गर्छ। पर्यटक आवागमनको तथ्यांकले पनि बेइजिङ खुलस्त भएको देखाउँछ।

आर्थिक रूपमा कोभिड-१९ पछिको बेइजिङमा देखापरेका परिवर्तनहरू केकस्ता छन्?

कोभिडको समयमा धेरै समस्या थियो। रुस-युक्रेन युद्धले पनि आर्थिक मन्दी छायो। पछिल्लो समय ट्रेड वारले समस्या निम्तिएको छ। चीन आधुनिकीकरणको चरणमा प्रवेश गरेको छ। विकासको गतिमा चीन औसत अवस्थामा पुगिसकेको छ। त्यो औसत अझ बढाउन केही समय लाग्ला। पछिल्ला ३० वर्षमा चीनले तीव्र विकास गरेर धेरै फड्को मारेको छ।

मलाई पनि केही समयअघिसम्म के लाग्थ्यो भने नेपाल बन्ने कहिले होला? हाम्रो जीवनमा देख्न पाइएला कि नपाइएला? ५० वर्षभन्दा बढी समयमा नबन्ला? तर चीन बसाइपछि मैले के अनुभव गरेँ भने परिवर्तन मेरै जीवनमा सम्भव छ। १० वर्ष वा १०-१५ वर्षको एउटा चरण बनाएर काम गर्ने हो भने हामीले नेपाल बनाउन सक्छौँ भन्ने कुरा मैले चीनका विभिन्न सहर र प्रान्तहरूको भ्रमण गर्दा अनुभव गरेको छु। चीनमा आठ वर्ष या १० वर्षको अवधिमा आमूल परिवर्तन भएको छ। सहर भनेको घर मात्रै होइन रहेछ। जनताले पाउनुपर्ने सुविधा हो। चीनमा त्यस्तो सुविधा पर्याप्त छ। सबै व्यवस्थित छ। आर्थिक स्तर सामान्य तहभन्दा निकै माथि पुगिसकेको छ।

अमेरिकी प्रभुत्व घटाउन चीन आक्रामक रूपमा अघि बढ्न खोजेको छ भनिन्छ नि?

मेरो विचारमा चीन कहिल्यै पनि आक्रामक रूपमा अघि बढेको छैन। न इतिहासमा थियो न वर्तमानमा छ न भविष्यमा आक्रामक हुनेछ। चिनियाँ राष्ट्रपतिको हरेक सम्बोधनमा विश्व एउटा ग्लोबल भिलेज हो, सभ्यता फरक भए पनि मेलमिलापपूर्वक हिँड्नुपर्छ र एकअर्काबाट सिक्नुपर्छ भन्ने अभिव्यक्ति पाइन्छ। हस्तक्षेपको नीति चिनियाँ इतिहासमै छैन। चीन पहिलादेखि नै शक्तिशाली राष्ट्र थियो। विभिन्न युद्धका कारण कमजोर भयो।

नयाँ चीनको स्थापनापछि बिस्तारै माथि आउँदैछ। माथि आउनु भनेको शक्ति सञ्चय गर्नु होइन। उदाहरणका लागि बीआरआईलाई नै लिन सकिन्छ। यसले हामीसँग भएको लैजाऊ, छरछिमेकीको विकास नै हाम्रो विकास हो, छिमेकी राम्रा भए भने हामी राम्रो हुन्छौँ भन्ने उद्देश्य लिएको देखिन्छ। कतिपय छिमेकी आफू मात्रै बलियो बन्नुपर्ने पक्षमा छन्। तर चीनले बोली र व्यवहारमा यस्तो गरेको छैन।

साउदी र इरानलाई मिलाउन खोज्नु, यूएईसँगको सहकार्यमा जोड दिन खोज्नु, अफ्रिकातिर पनि भूमिका बढाउन खोज्नुले आक्रामक बन्न खोजेको होइन र?

यो त पश्चिमाको बुझाइ हो। तर चीनले यस्तो उद्देश्य लिएको देखिँदैन। चीनको उद्देश्य त कसरी हुन्छ विश्वमा शान्ति कायम गर्ने भन्ने छ। ग्लोबल सेक्युरिटी या ग्लोबल सिभिलाइजेसनको कुरा गरौँ न। सबैको ध्येय भनेको विश्व एउटै हो, विश्व हाम्रै हातमा छ। त्यसलाई हामीले नै बनाउने हो। सीले हरेक पटकको सम्बोधन र मित्रराष्ट्र प्रमुखहरूसँगको वार्तामा भन्दै आएको कुरा मेलमिलाप हो। विश्वमा मिलेर बसौँ। हामी एउटै डुंगामा छौँ। यहाँ आँधी तुफान जे आए पनि त्यसको असर सबैलाई पर्छ। त्यसैले यो डुंगालाई हामीले रक्षा गर्नुपर्छ भन्ने चिनियाँ धारणा छ।

चीनका यस्ता कुरा पश्चिमालाई नपचेको हो कि?

त्यो त हामीले देख्न सक्छौँ नि। हामी बुझिरहेका छौँ। उनीहरू पहिलादेखि नै शक्तिमा आए। पश्चिामाले कसरी हुन्छ अरूलाई दबाउँदै आएको कुरा हामीले देख्दै आएका हौँ। पश्चिमाले सहयोग गरेको जस्तो देखिन्छ। तर जसरी हुन्छ आफ्नो अधीनमा लिने रणनीति हुन्छ। तर चीनबाट त्यस्तो भएको देखिँदैन।

विगतमा चीन आफ्नै विकासमा केन्द्रित थियो भन्न खोज्नुभएको हो?

विगतमा चीन आफ्नो विकासमा थियो। त्यसपछि आफूमात्रै होइन, छिमेकीको पनि विकास गरौँ भन्ने थियो। अहिलेचाहिँ विश्वको पनि विकास गरौँ भन्नेमा छ। आफू शक्तिशाली र आर्थिक रूपमा सम्पन्न हुँदै गएपछि चिनियाँमा सबैको राम्रो होस् भन्ने सदासयता र भ्रातृत्व देखिन्छ।

नेपाल र चीनको सम्बन्ध कस्तो पाउनुभएको छ?

जनस्तरको कुरा गर्दाखेरी नेपालबाट अझै पहुँच पुगेको छैन। जब चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण भयो, त्यसपछि बल्ल नेपाल चिनियो। चीनमा नेपाल चिन्न थालेका छन्। त्यसअगाडि उनीहरूलाई नेपाल नै थाहा थिएन। नेपाल भारतभन्दा यता र सगरमाथाभन्दा उता भनेर बुझाउनुपर्दथ्यो उनीहरूलाई। सीको भ्रमणपछि हामी पनि नेपाल जानुपर्छ भन्ने भावना चिनियाँहरूमा हुन थालेको थियो। तर कोभिड-१९ का कारण त्यो रोकियो। अब फेरि सुरु हुँदैछ।

चीनसँग भएका सहयोग, सहकार्य र सम्झौता कार्यान्वयन नहुनुमा नेपालकै कमजोरी हो त?

बेइजिङमा बसेर हेर्दा यस्तै देखिन्छ। नेपालका केही कुरा अघि बढ्दैन। साधारण कार्यालयमा गएर काम गरौँ भने अगाडि नै बढेको देखिँदैन। त्यो हिसाबले गर्दा हाम्रै कमजोरी जस्तो लाग्छ। उदाहरणका लागि चीनले हामीलाई धेरै वस्तुमा भन्सार मिनाहा गरेको छ। तर हामीले उसले मागेको लेबल उपलब्ध गराउन सकेका छैनौँ। व्यापारीले चिनियाँ अक्षरमा लेखेर पठाएको भए त सामान जान्थ्यो त। तर यहाँ त्यसलाई बेवास्ता गरिन्छ। हरेक कुराको गुणस्तर के हो? प्रयोग के भएको छ? मिति कहिलेसम्म हो? यहाँबाट त्यति पनि गर्न सकिएको छैन।

यो कुरा धेरै पटक उठिसकेको छ। चिनियाँ लेबल बनाएर नेपालले सामान पठाउन सकेको छैन। त्यो हाम्रो कमजोरी हो नि। दुई देशबीच सन्धिसम्झौता कार्यान्वयनको अवस्था पनि त्यही हो। ढिलासुस्ती छ। राजनीतिक दलको स्वार्थ छ। एउटा पार्टी सरकारमा छ। उसले राम्रो गर्न खोज्यो भने अर्कोले बिगार्ने प्रवृत्ति छ। यहाँ रेलको सम्झौता भइहाल्ने हो भने हानथाप भइहाल्छ। किनभने नेता र दलहरूमा मैले गरेको भनेर जस लिन चाहने प्रवृत्ति छ।

चीनबाट रेल आउँछ जस्तो लाग्छ?

अवश्य आउँछ। सिगात्सेमा रेल पुगेको अनुभव गरेर आएको छु मैले। १० वर्षअघि म सिगात्से गएको थिएँ। हाम्रै पहाडजस्तो थियो। त्यहाँ मानिसहरू काम गरिरहेका थिए। के गरिरहेको भनेर सोध्दा रेलका लागि भन्थे। २०२१ मा जाँदा त्यहाँ रेल आइसकेको थियो। हाम्रोजस्तै भूगोल हो त्यहाँको पनि हो। त्यो रेल नेपालमा पनि मज्जाले ल्याउन सकिन्छ।

धेरै लगानीमा रेल ल्याउन सम्भव छ र?

हाम्रो पक्षबाट पनि केही हुनुपर्छ नि। २०१२ मा स्काई ट्रेन भनेर चीनले विश्वलाई चमत्कार देखाइदिएको छ। गरिबी निवारणमा एउटा चमत्कार गरेको छ। नेपालमा रेल ल्याउने प्रक्रिया त्यतिबेलै सुरु भएको थियो। त्यहाँ काम भइसक्यो। तर नेपालमा अहिलेसम्म केही भएको छैन। सिगात्सेमा रेल आइसक्यो। नेपाली पक्षबाट केही भएको छैन। २०२५ सम्म केरुङ आइपुग्न सक्छ। तर हाम्रोबाट सिन्को भाँच्ने काम भएको छैन। अनि कसरी हुन्छ?

दुई देशको सम्बन्धका आयामबारे तपाईँले बेइजिङमा बसेर केकस्ता सुझाव दिइरहनुभएको छ?

एउटा पञ्चशीलको सिद्धान्त अपनाउने छँदैछ। त्यसपछि एक चीन नीति भयो। यसमा त हामीले साथ दिएकै छौँ। यसमा अझ बढी समर्थन चाहिन्छ। कतिपय कुराहरू कूटनीतिक प्रक्रिया र माध्यमबाट सम्बोधन हुनुपर्छ। यहाँ धेरै के देखिन्छ भने विभिन्न मानिसहरू विज्ञ बनेर बोलिदिन्छन् देशदेशको कुरामा।

उत्तर होस्, दक्षिण होस् या तेस्रो मुलुक त्यसमा साधारण मान्छेले बोल्ने नै होइन जस्तो लाग्छ। त्यसबाहेक पदमा बसेका मान्छे हुन् या पेसामा रहेको मान्छेले बोल्नु उचित हुँदैन। त्यसका लागि च्यानल चाहिन्छ। साथै त्यसमा एकरूपता पनि हुनुपर्छ। जसरी हामी एक चीन नीतिमा सबै प्रतिबद्ध छौँ। कूटनीति पनि त्यसरी नै बनाउन जरुरी छ।

हामी सधैँ एक चीन नीति भनिरहेका छौँ। तर चिनियाँले हामीलाई विश्वास नगरेका हुन् कि? हाम्रै कमजोरी हो कि?

त्यस्तो मलाई लाग्दैन। साधारण मानिसबीचको भेटघाटमा पनि राम्रो कुरा गर्छौँ। हामी सबै तिम्रो साथमा छौँ भन्दा त केही बिग्रन्छ जस्तो लाग्दैन। त्यो त हामी साथी हौँ भनेजस्तै हो। एउटा शब्दले खुसी हुन्छ भने के फरक पर्छ र? हामीले त सधैँ साथ दिइरहेका छौँ। त्यो ठूलो कुरा होइन।

दुई देशको अवस्थालाई लिएर तपाईँका सहकर्मी नेपाली र चिनियाँसँग केकस्ता कुराकानी हुन्छन्?

नेपालमा भन्दा नेपालबाहिर बसेका नेपालीहरूलाई नेपाल अझ बिझ्छजस्तो लाग्छ। जस्तै- केही दिनअघि बेइजिङमा १४० वर्षपछि ठूलो बाढी आयो। करिब २९ जनाको मृत्यु भयो। कतै त गाडी नै बगायो। यति ठूलो विपत्तिमा २९ जना मरे। अनि हामी चीनबाट सधैँ नेपालको समाचार हेर्छौँ- यता पहिरो गयो बाटो बन्द, पहिरोले बगायो। यस्ता कुरा हरेक पटक सुनिन्छन्। जनधनको क्षति भएको समाचार पढिरहेका हुन्छौँ। अनि हामीलाई एकदम दुख्छ। हाम्रोमा अझै पनि किन भएन? १० वर्षमा नेपाल बनाउन सक्छौँ भन्ने अनुभव भएको छ। तर खै त हाम्रो बनेको? यस्तै विषयमा कुराकानी हुन्छ।

प्रकाशित: १९ भदौ २०८० १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =