साझेदारी सम्बन्ध अघि बढाउन चीन इच्छुक

अजय अलौकिक ४ असोज २०८० १२:२०
2
SHARE
साझेदारी सम्बन्ध अघि बढाउन चीन इच्छुक

बेइजिङ- नेपालमा जनताका प्रतिनिधिले संविधान जारी गरेको आठ वर्ष पुगेको छ। नेपालको संविधान दिवसका अवसरमा चीनका प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई सन्देश पठाउँदै शुभकामना व्यक्त गरेका छन्। सन्देशमा प्रधानमन्त्री ली छ्याङले चीन र नेपाल मैत्रीपूर्ण छिमेकी भएकाले आपसी हितयुक्त सहकार्यमा जोड दिएका छन्।

प्रधानमन्त्री प्रचण्डसँग मिलेर चीन र नेपालका विभिन्न क्षेत्रमा रहेका आपसी आदानप्रदान र सहकार्यलाई गहन पार्ने प्रतिबद्धता शुभकामना सन्देशमा व्यक्त गरिएको छ। चीन र नेपालबीच युगौँयुगसम्म मैत्रीपूर्ण रहँदै जाने रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर रूपमा अघि बढाउन चीन इच्छुक रहेको प्रधानमन्त्री ली छ्याङले उल्लेख गरेका छन्।

परराष्ट्र मन्त्री वाङ यीद्वारा परराष्ट्र मन्त्री साउदलाई बधाई

यसैगरी चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले नेपालका परराष्ट्रमन्त्री एनपी साउदलाई बधाई सन्देश पठाएका छन्। सन्देशमा परराष्ट्रमन्त्री वाङ यीले चीन र नेपाल परम्परागत मैत्रीपूर्ण छिमेकी भएको औँल्याउँदै बितेका केही वर्षयता चीन नेपाल सम्बन्धको विकासमा प्रगति भइरहेको उल्लेख गरेका छन्। सन्देशमा वाङ यीले मन्त्री साउदसँगै मिलेर दुई देशका नेताबीच सम्पन्न महत्त्वपूर्ण मतैक्यको कार्यान्वयन गर्दै आपसी सम्बन्धलाई निरन्तरता दिँदै जाने इच्छा लिएको पनि व्यक्त गरेका छन्।

बेइजिङस्थित नेपाली दूतावासद्वारा भव्य कार्यक्रम आयोजना

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा चीनका लागि नेपालको दूतावासले बुधबार बेइजिङमा एक भव्य कार्यक्रम तथा रात्रिभोज आयोजना गरेको छ। सो अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा चीनको परराष्ट्र मन्त्रालयको एसिया विभागका महानिर्देशक लिऊ चिनसोङलाई निमन्त्रण गरिएको थियो।

चीनको परराष्ट्र मन्त्रालयको एसिया विभागका महानिर्देशक लिऊ चिनसोङले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए। उनले सन् २०१९ मा राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गर्नुभएको स्मरण गर्दै चीन नेपाल सम्बन्धलाई विकास र समृद्धितर्फ उन्मुख पुस्तामैत्री रणनीतिक सहयोगात्मक साझेदारीमा स्तरोन्नति गरिएको बताए। हालैका वर्षहरूमा दुई देशले महामारीका कठिनाइहरू पार गरी आदानप्रदानलाई कायम राख्दै द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने, नयाँ अध्याय लेख्ने र चीन-नेपाल सम्बन्धको विकासका लागि नयाँ अवसरहरू ल्याउने कामलाई निरन्तरता दिएको पनि बताए।

उनले चीन र नेपालका राष्ट्रप्रमुखले संयुक्त रुपमा सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएको घोषणा गरेबाट यो विश्वको सबैभन्दा अग्लो शिखरको उचाइ र चीन नेपाल मित्रताको उचाइ भएको औँल्याए।

लिऊले नेपालको राष्ट्रिय परिस्थिति सुहाउँदो विकासको मार्गमा अघि बढ्न र नेपालको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि गरिने प्रयासमा चीनले दृढतापूर्वक साथ दिने पनि जनाए।

गत वर्ष नेपाल र चीनबीचको द्विपक्षीय व्यापार १ अर्ब ६८ करोड अमेरिकी डलर पुगेको तथा संयुक्त रूपमा ‘बेल्ट एन्ड रोड’ निर्माणको ढाँचाअन्तर्गत दुवै पक्षले चीन नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनलाई ठोस रूपमा अगाडि बढाएको र हिमालय आरपार त्रिआयामिक अन्तरसम्बन्धित यातायात सञ्जालले प्रारम्भिक आकार लिएको बताए।

लिऊले चीन-नेपाल मित्रताको बारेमा धेरै राम्रा कथाहरू रहेका र यसले नेपाली उखान ‘नङ र औँलाहरू जस्तै घनिष्ठ’ भनेस्तै स्पष्ट रूपमा व्याख्या गरेको उल्लेख गरेका थिए। उनले सन् २००८ मा नेपाल सरकार र जनताबाट चीनमा गएको वनछ्वान भूकम्पमा पाइएको राहतमा सहयोगको स्मरण गरे।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल र चीन हिमाल र नदीले जोडिएको र पुस्तौँदेखि मैत्रीपूर्ण रहेको बताउँदै सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध निरन्तर सुदृढ र प्रगाढ हुँदै आएको औँल्याए।

उनले चीन नेपालको भरपर्दो मित्र र भरपर्दो विकास साझेदार रहँदै आएको भन्दै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताका रक्षाका लागि चीनले गरेको सहयोगको  सराहना गरेका थिए।

नेपालले जहिले पनि एक चीन नीति अवलम्बन गर्दै आएको र कुनै पनि शक्तिलाई चीनको हितमा आँच पुर्‍याउने  नेपालको भूमि प्रयोग गर्न नदिने कुरामा जोड दिए। नेपाल र चीनका जनताबीचको सम्बन्ध प्रगाढ बन्दै गएको र धेरैभन्दा धेरै चिनियाँ पर्यटकले नेपाललाई आफ्नो मनपर्ने पर्यटकीय गन्तव्यका रूपमा लिने गरेको पनि औँल्याए। चिनियाँ शैलीको आधुनिकीकरणको उच्च प्रशंसा गर्दै विश्व शान्ति र विकास तथा मानव जातिको साझा भविष्यसहितको समुदाय निर्माणमा चीनको सकारात्मक भूमिकाको सराहना पनि गरे।

कार्यक्रमको शुभारम्भ राजदूत श्रेष्ठ तथा प्रमुख अतिथि लिऊ चिनसोङले पानसमा बत्ती बालेर गरेका थिए। साथै कार्यक्रममा नेपाली गीत सङ्गीत पनि प्रस्तुत गरिएको थियो।
सो कार्यक्रममा चिनियाँ पदाधिकारी, विभिन्न देशका राजदूत तथा विदेशी कुटनीतिक आयोगका पदाधिकारी र चीनमा अध्ययन तथा बसोबास गर्दै आएका नेपालीको उपस्थिति थियो।

प्रकाशित: ४ असोज २०८० १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =