उपराष्ट्रपति यादव र बंगलादेशका राजदूतबीच शिष्टाचार भेट

हिमाल प्रेस १७ फागुन २०८० १८:५६
14
SHARES
उपराष्ट्रपति यादव र बंगलादेशका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ-  उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले शिष्टाचार भेट गरेका छन्।

उपराष्ट्रपतिको कार्यालयमा आज (बिहीबार) अपराह्न भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार, पर्यटन, विद्युत्लगायत पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो।

उपराष्ट्रपतिको निजी सचिवालयका अनुसार दुई देशबीचको व्यापारको मात्रा बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उपराष्ट्रपतिले व्यापार विस्तार एवं विविधीकरण गर्ने प्रचुर सम्भावना रहेको बताए।

‘तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्ला बन्दरगाह हुँदै नेपाललाई पारवहन सुविधा उपलब्ध गराएकामा बंगलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘रोहनपुर–सिंहाबाद रेलमार्गको शीघ्र सञ्चालन गरी यी समुद्री बन्दरगाहबाट पारवहन सहयोग प्रवद्र्धन गर्न महत्त्वपूर्ण हुनेछ।’

उपराष्ट्रपति यादवले नेपालको जलविद्युत् क्षमता र बंगलादेशको बढ्दो ऊर्जा आवश्यकताले दुई देशबीच ऊर्जा सहयोग अभिवृद्धि गर्ने पर्याप्त अवसरहरू प्रदान गरेको  बताए।

उपराष्ट्रपति यादवले नेपाल र बंगलादेशले सार्क, बिमस्टेक, संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन, जी ७७ र चीनलगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा पारस्परिक हितका विषयमा सहकार्य गर्दै आएकोमा खुसी व्यक्त गरे।

राजदूत चौधरीले नेपाल र बंगलादेशबीचको सम्बन्ध व्यापार, पर्यटन, शिक्षा र ऊर्जालगायत क्षेत्रमा आधारित रहेको उल्लेख गर्दै हरेक वर्ष तीस हजार बंगलादेशी पर्यटक नेपाल आउने गरेका बताए।

बंगलादेशले नेपाली विद्यार्थीका लागि चिकित्सा शास्त्रलगायत विषयमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले भने, ‘हरेक वर्ष छात्रवृत्तिसँंगै आफ्नै खर्चमा पाँच सय देखि छ सय विद्यार्थी ब‌ंगलादेशमा एमबीबीएस गर्न जान्छन्।’

हाल बंगलादेशमा चार हजारदेखि पाँच हजार नेपाली विद्यार्थी अध्ययनरत छन्। राजदूत चौधरीले हाल नेपाल र बंगलादेशबीच १० करोड अमेरिकी डलरको व्यापार हुने गरेको जनाउँदै ४० मेगावाट विद्युतका लागि दुई देशबीच केही दिनभित्रै सम्झौता हुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =