शिक्षकको दरबन्दी र विद्यार्थीको अनुपात मिलाउनुपर्छ : उपराष्ट्रपति

हिमाल प्रेस १० मंसिर २०८० २१:४२
246
SHARES
शिक्षकको दरबन्दी र विद्यार्थीको अनुपात मिलाउनुपर्छ : उपराष्ट्रपति

रुपन्देही- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन भारत सरकार र भारतीय दूतावासले गरेको सहयोग प्रशंसनीय रहेको बताएका छन्। उपराष्ट्रपतिले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीन रूपले नै अतुलनीय रहेको जनाउँदै नेपालको विकास साझेदार बनेकामा भारत सरकारलाई धन्यवाद दिए।

आइतबार रुपन्देहीको रोहिणी गाउँपालिका–२, पोखरभिण्डीमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले शैक्षिक क्षेत्रको विकासमा सबै पक्ष र वर्गले सहयोग गर्न आवश्यक रहेको बताए। उनले शिक्षकको दरबन्दी र विद्यार्थीको अनुपात मिलाउन लाग्नुपर्नेमा समेत जोड दिए।

उपराष्ट्रपति यादवले बिनाभिसा दुई देशका नागरिक आवतजावत गर्न सक्ने गरी स्थापित नेपाल–भारत सम्बन्ध अन्यत्र बिरलै पाइने बताए।

भारतीय राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले भारतले नेपालसँगको सहकार्यलाई अझै सुदृढ बनाउँदै गएको बताए। उनले नेपालको विकासमा साझेदार बन्न पाएकोमा खुसी व्यक्त गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर भारतले सहयोग गरिरहेको जानकारी दिए।

भारत सरकारको सहयोगमा सञ्चालित ‘हाई इम्पेक्ट कम्युनिटी डेभलपमेन्ट परियोजना’ २० वर्ष पूरा भएको बताउँदै उनले यस अवधिमा यस परियोजनाअन्तर्गत पाँच सय ५० भन्दा बढी परियोजना सुरु गरेको बताए।

भारतको अनुदान सहयोगमा नेपाली १ करोड ४९ लाखको लागतमा २०६९ सालमा पोखरभिण्डी माविको भवन निर्माण गरिएको थियो। दुईतले उक्त विद्यालय भवनमा १२ वटा कक्षाकोठा छन्। उक्त विद्यालयमा भारतीय विद्यार्थी पनि अध्ययन गर्छन्। -रासस

प्रकाशित: १० मंसिर २०८० २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =