३४ विमानस्थलमा टेलिकमको फ्री वाइफाई

हिमाल प्रेस ११ फागुन २०८० १७:५३
३४ विमानस्थलमा टेलिकमको फ्री वाइफाई

काठमाडौँ- नेपाल टेलिकमले देशका ३४ वटा विमानस्थलमा फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। यससम्बन्धी नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच शुक्रबार सम्झौता भएको हो। सो सहमति पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेको टेलिकमका प्रवक्ता हरि ढकालले जनाएका छन्।

सहमतिपत्रअनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाई नेटवर्क जडान गर्नेछ। साथै नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्री वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ। त्यसैगरी विमानस्थलभित्र यात्रुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने टेलिकमको विज्ञप्तिमा उल्लेख छ।

फ्रि वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनका लागि उपकरण जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गर्नेछ। त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थानसमेत प्राधिकरणले उपलब्ध गराउने भएको छ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्री वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको प्रवक्ता ढकालले जनाएका छन्। उनका अनुसार अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुनेछ।

प्रकाशित: ११ फागुन २०८० १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =