एनसेलको ‘एटिन फर एटिन’मा १६५ बढी प्रस्तावहरू प्राप्त

हिमाल प्रेस १० फागुन २०८० २१:०६
एनसेलको ‘एटिन फर एटिन’मा १६५ बढी प्रस्तावहरू प्राप्त काठमाडौँको लैनचौरस्थित एनसेल आजियाटाको कर्पोरेट भवन। तस्बिर : दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्तावहरु प्राप्त गरेको छ।

कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागू हुने गरी यो कार्यक्रम सञ्चालन गरेको हो।

हाल एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनहरुको मूल्याङ्कन गरिरेहको जनाएको छ। एनसेलले माघ १७ गतेसम्मको समय दिएर ७ वटै प्रदेशका इच्छुक गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो।

एनसेलका अनुसार देशैभरिबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जीविकोपार्जन सहयोग लगायतका क्षेत्रहरुमा विकास कार्य गर्न उत्साहजनकरुपमा प्रस्तावहरु प्राप्त भएका छन्। लागु हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना लगायतका आधारहरुमा कार्यक्रमहरू छानिने कम्पनीले बताएको छ।

तोकिएको मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रति कार्यक्रम १० लाख रुपैयाँ प्रदान गर्नेछ। यस सामाजिक पहल अन्तर्गत कुल १८ आयोजानाहरु छानिने छन् र प्रत्येक एक प्रदेशमा दुई आयोजना लागु गरिनेछन्। बाँकी चार आयोजनाहरु प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यन्वयन गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: १० फागुन २०८० २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =