नौजनालाई ‘नइ पुरस्कार’

हिमाल प्रेस ८ फागुन २०८० १६:०४
202
SHARES
नौजनालाई ‘नइ पुरस्कार’

काठमाडौँ- नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौजनालाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो।

प्रकाशनले नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्धनका लागि निष्ठावान् डा. भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

त्यसैगरी छ दशकअघिदेखि नेपालको पश्चिमाञ्चल क्षेत्रमा उच्च शिक्षाको थालनी र संवर्धनका लागि आजीवन समर्पित पोखराका प्राध्यापक जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन्।

प्रसूति विशेषज्ञ डा. सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ। पाध्ये छ दशकदेखि नारीहरूको स्वास्थ्यसेवा, स्वास्थ्योपचारको जागरण र विकासमा निरन्तर समर्पित छिन्।

खेलकुदको विकासमा मन, वचन र कर्मद्वारा संलग्न रही अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको प्रतिष्ठा बढाएबापत मोहनबहादुर शाहीलाई ‘नइ भाजप पुरस्कार’ समर्पण गरिने भएको छ।

कलाका फाँटमा अविच्छिन्न संलग्न रही अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली संस्कृतिमा आधारित चित्रकलाको प्रतिष्ठा बढाएबापत कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको प्रसाईले बताए।

हरिहर विरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ। त्रिमूर्ति निकेतनको स्थापनाका निम्ति विशिष्ट भूमिका निर्वाह गर्नाका साथै पत्रकारिताका माध्यमबाट सामाजिक चेतनाको निर्माण एवम् नेपाली भाषाको संवर्धनका निम्ति अनुकरणीय योगदान गरेबापत विरहीलाई उक्त पुरस्कार दिन लागिएको हो।

प्रकाशनले जनाएको छ। प्रकाशनले स्याङ्जाका विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। अधिकारी काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र संवर्धनमा सक्रिय छन्।

सनातन अध्यात्म दर्शन र धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि प्राज्ञिक रूपमा समर्पित कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको प्रसाईले बताए।

नेपाली साहित्यको श्रीवृद्धिमा सिर्जनात्मक र संस्थागत रूपमा निरन्तर क्रियाशील रही नेपाली भाषासाहित्यको गौरव बढाएबापत श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय भएको प्रकाशनले जनाएको छ। सबै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ छ।

प्रकाशित: ८ फागुन २०८० १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =