सरस्वतीको मूर्ति सेलाउने विषयमा रौतहटमा झडप, प्रशासनले लगायो कर्फ्यु

हिमाल प्रेस ५ फागुन २०८० १९:४१
34
SHARES
सरस्वतीको मूर्ति सेलाउने विषयमा रौतहटमा झडप, प्रशासनले लगायो कर्फ्यु

रौतहट- रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने बाटोकाे विषयमा विवादपछि झडप भएकाे छ। ईशनाथ नगरपालिका-७ घिउरामा सरस्वतीको मूर्ति सेलाउन जाँदा बिहीबार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ पनि दुई पक्षबीच झडप भएको हो। झडप राेकिने स्थिति नदेखिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको छ।

उक्त स्थानमा बिहीबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको थियो। साँझ ५ बजेदेखि लागू हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ,पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएकाे छ।

प्रशासनद्वारा जारी पत्रमा भनिएको छ,‘बिहीबार ईशनाथ नगरपालिकाको वडा नं.०६ र ०७ मा सरस्वती मूर्ति विसर्जनको क्रममा मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर आज ५ गते घिउरामा पुनः विवाद र झडपको स्थिति उत्पन्न भएकोले सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जाने स्थिति देखिएकोले ईशनाथ नगरपालिका क्षेत्रको कर्फ्यु आदेश जारी गरिएको छ। उक्त आदेशको बर्खिलाफ भएमा कानून बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागी अनुरोध छ।’

घिउरा गाउँका स्थानीय बिहीबार सरस्वती मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँ छेउको पोखरीमा जाने क्रममा मुस्लिम समुदायले बाटो अवरुद्ध गरेका थिए। ट्याक्टरमा डिजे बाजा बजाएको कारण बाटो अवरुद्ध गरेको मुस्लिम पक्षको भनाइ छ।

 

प्रकाशित: ५ फागुन २०८० १९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =