पुस्तक चर्चा

झुटो समाचार, दुष्प्रचार र संगठित कुप्रचार : अन्तर्राष्ट्रिय सम्बन्धमा पर्ने प्रभाव र चुनौतीको पहिचान

रमेशप्रसाद खनाल ५ फागुन २०८० १७:५०
376
SHARES
झुटो समाचार, दुष्प्रचार र संगठित कुप्रचार : अन्तर्राष्ट्रिय सम्बन्धमा पर्ने प्रभाव र चुनौतीको पहिचान

मानव सभ्यताको विकासक्रममा विज्ञान र प्रविधिले हासिल गरेको अभूतपूर्व प्रगति मानव समाजको निमित्त वरदान साबित भएको निर्विवाद छ। विज्ञान र प्रविधिका विभिन्न आयामहरूको व्यापक विकासले समाजमा सकारात्मक प्रभाव पारेको यथार्थ हो। विकाससँगसँगै भित्रिने नकारात्मक असरले भने मानव समाजलाई अछुत रहन दिँदो रहेनछ। कतिपय अवस्थामा यस प्रकारका प्रगति अभिशाप वा कलंकमा परिणत हुन जाने आशंका पनि बढ्दै जाने रहेछ।

विज्ञान प्रविधिको विकासका विविध आयाममध्ये अहिले उच्चतम बिन्दुमा पुगेको विकासको क्षेत्र हो सञ्चार प्रविधि। सञ्चार प्रविधिका क्षेत्रमा सन् १९८३ मा इन्टरनेटको जब आविष्कार भयो मानव समाज एकाएक भर्चुअल संसारमा एक विशाल फडको मार्न सफल भएको मानिन्छ। १९९३ देखि इन्टरनेट आममानिसको पहुँचमा पुग्नासाथै सूचना र सञ्चारको जालोले प्रत्यक्ष रूपमा समग्र मानव समाजलाई परिवेष्टित गर्दै लान थाल्यो। यसले विश्वलाई करिबकरिब एक गाउँको परिभाषामा बाँध्न सफल भयो भन्दा फरक पर्दैन। करिब तीन दशकमा इन्टरनेटको जालोले संसार ढाकिसकेको छ।

आज मानिस इन्टरनेटबिनाको जीवन कल्पना गर्न नसक्ने अवस्थामा पुगिसकेको छ। यस्तो द्रुत गतिमा भएको डिजिटल प्रविधिको विकाससँगै सञ्चार र मिडिया क्षेत्रले पनि अभूतपूर्व फड्को मार्न पुग्यो। हिजोको जस्तो रेडियो, पत्रपत्रिका वा टेलिभिजनको भरमा पाइने सूचना र सञ्चार तत्काल (instant) प्राप्त गर्न र उही समय (real time) मा सम्प्रेषित हुने, विश्वव्यापी हुने र कुनै पनि विषयमा आममानिसले समेत आफ्नो विचार र धारणा सबैसमक्ष प्रस्तुत गर्न सक्षम हुने वातावरणको विकास हुन गयो।

भौतिक रूपमा उपस्थित भएर गर्नुपर्ने काम पनि डिजिटल माध्यमबाट जहाँसुकै बसेर जुनसुकै समय र क्षेत्रबाट पनि गर्न सकिने अवस्थाको विकास हुन् गयो। यस विकासले मानव-मानवबीच हुने संवाद र सञ्चारको प्रक्रिया र विधिलाई नै नयाँ कलेवरमा स्थापित गरिदियो। साथै यसले परम्परागत रूपमा हुने काम र समयको परिभाषा पनि फेरिदियो। सामाजिक सञ्जालको उदयसँगै सूचना र सञ्चार क्षेत्रले पुन: एक अर्को नयाँ फड्को मार्न सफल भयो।

फेसबुक, व्हाट्स याप, इन्स्टग्राम, युट्युबलगायत विविध सामाजिक सञ्जालले मानिसलाई एक सूत्रमा बाँध्ने काम त गर्‍यो तर यसले विभिन्न विकृति र विसंगति पनि भित्र्याउन थाल्यो। विकाससँगै विनाश पनि आउँछ भने झैँ डिजिटल प्रविधिको विस्मयकारी उदयसँगै अनलाईनबाट गरिने धोखाघडी, ठगीलगायत यौनजन्य अपराध आदि पनि बढ्न थाल्यो। अपराधशास्त्रमा अर्को अपराधको वर्गीकरण थपिन पुग्यो-जसलाई हामी आज साइबर अपराध (Cyber Crimes) भनेर जान्दछौँ।

कुनै पनि सूचना तत्कालै विश्वभर फैलाउन आजको डिजिटल प्रविधिले सहज भएको छ। सावधानीपूर्वक यो माध्यम प्रयोग वा उपयोग गर्दा यही माध्यम एकातिर फलदायी हुन्छ भने गलत, भ्रामक र झुटा सूचना समाचार तत्कालै सम्प्रेषित हुन जाँदा नकारात्मक असर तत्काल देखिन थाल्दछ। आफ्नो हातमा सूचना उपलब्ध हुने सुविधाले व्यक्तिलाई सहजता त दिएको छ तर असावाधानीपूर्वक यही सुविधा सञ्चालन हुँदा उत्पन्न हुनसक्ने नकारात्मक परिणामप्रति सचेत नभएमा मानव समाज र सभ्यताको भविष्यमाथि नै प्रश्न उठ्न सक्दछ।

डिजिटल प्रविधिको विकासले मानव जीवनका सबै क्षेत्रलाई प्रभावित पारेको परिप्रेक्ष्यमा देशहरूबीचको सम्बन्धमा पनि उतारचढाव ल्याउन यसले असर पार्न थाल्नु कुनै अनौठो विषय भएन। सामाजिक सञ्जाल र विकास हुँदै गएका विभिन्न प्रकारका एपमार्फत राष्ट्रहरू आफ्ना अभीष्ट प्राप्तिमा लाग्नुपर्ने बाध्यतामा परेको स्पष्टै देखिन्छ। परम्परागत रूपमा गरिँदै आएको कूटनीतिक क्रियाकलाप अब साइबरमार्फत गरिन थालेको छ।

इन्टरनेटको माध्यम प्रयोग गरी राष्ट्रहरू आफ्ना चासो र हितका विषयमा प्रत्यक्ष रूपमा आममानिससँग जोडिन सक्ने भएका छन्। यसै माध्यमको दुरूपयोग गर्दै वा ह्याक गर्दै आफ्नो साध्य प्राप्त गर्न राष्ट्रहरू एकअर्काविरुद्ध हिजोको जस्तो परम्परागत होइन डिजिटल माध्यम प्रयोग गरेर प्रतिद्वन्द्व्वीलाई कमजोर पार्ने वा तिनका नीतिलाई निस्तेज पार्ने वा प्रतिद्वन्द्व्वी राज्यमा आफ्नो प्रभाव विस्तार गर्ने र आफ्नो हित प्रवर्धन गर्ने प्रभावकारी माध्यम बनाएको देखिन्छ। यस क्रममा डिजिटल माध्यमबाट गरिने कूटनीतिक क्रियाकलापलाई अचेल डिजिटल कूटनीति (Digital Diplomacy) पनि भन्न थालिएको छ।

यसै परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै Consortium Of South Asian Think Tanks (COSATT) र जर्मनीको Konrad Adenauer Stiftung (KAS) ले श्रीलंकाको राजधानी कोलम्बोमा मार्च १४-१५, २०२३ मा अन्तर्राष्ट्रिय सम्बन्धमा झुटा समाचार, कुसूचना र अफवाह (Fake news, Disinformation and Propoganda in International Relations) विषयक अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरिएको थियो। सोही कार्यशालामा प्रस्तुत गरिएका नौवटा कार्यपत्र संकलन गरी अक्टोबर, २०२३ मा यही शीर्षकमा पुस्तक प्रकाशित भएको छ। पुस्तकको प्रकाशक रहेका हुन् COSATT र KAS।

झुटा समाचार, हल्ला, अफवाहले लोकतन्त्रको मूल मुटु पारदर्शिता, जबाफदेहिता र व्यक्तिको सूचनाको हकमा प्रत्यक्ष प्रहार गर्दछ। सही सूचनाको प्रवाह नहुँदा गलत सूचना र जानकारीका आधारमा मानिसलाई सकारात्मकबाट नकारात्मक बनाइदिने र शान्तिलाई अशान्ति र भाँडभैलो गराउने हैसियत राख्दछ यस प्रकारका झुटा समाचार सम्प्रेषणले। झुटा समाचार सम्प्रेषण र प्रचारप्रसारले मानवअधिकार कुण्ठित हुन्छ। यो गलत कर्म भएकाले अपराधको श्रेणीमा पर्न आउँछ यस प्रकारका क्रियाकलाप।

झुटो समाचार, तथ्य र तथ्यांकको तोडमरोड (manipulation) बाट सबैभन्दा धेरै मूलधार भनिने सञ्चारगृहमा कार्यरत पत्रकारहरू नै हुने भएकाले कार्यशालामा मुख्यतया दक्षिण एसियाका नेपाल, श्रीलंका, भारत, पाकिस्तान, बंगलादेशका सञ्चारकर्मी र पत्रकार सहभागी थिए ।

पुस्तकको भूमिकामा जेहान परेराले लेखेका छन्, ‘विश्व आक्रान्त बनेको तत्काल संसारभर फैलिने क्षमता राख्ने सामाजिक सञ्जालको उपयोग राम्रो काममा मात्र नभई दुरूपयोग हुने दु:खदायी पक्ष हो।’ परेराको भूमिकाले पुस्तकको मूल अन्तर्य बुझ्न सहज हुन्छ। त्यसैगरी संयुक्त रूपमा प्राक्कथन लेख्दै COSATT का नेपाल संयोजक डा. निश्चलनाथ पाण्डेय र KAS एसिया कार्यालयका निर्देशक आद्रेयास क्लेनले अनलाईन प्रकाशन र पठन संस्कृतिको विकाससँगै आएका विविध चुनौतीहरूको छलफल गरी समाधानका उपाय पहिल्याउन आयोजाना गरिएको कार्यशालाका केही प्रमुख कार्यपत्र प्रकाशन गरिएको जानकारी दिएका छन्। समसामयिक विषय र व्यक्ति, समाज, राज्य र विश्वलाई नै प्रभावित पार्ने महत्त्वको विषयवस्तुलाई केन्द्रमा राखेर पुस्तक प्रकाशन भएको कथन सराहनीय छ।

नेपालको प्रस्तुति र स्थिति

१. नेपालको योजना आयोगकी पूर्व सदस्य सलोनी प्रधान सिंले Addressing Impacts of Fake News and Disinformation शीर्षकको कार्यपत्रमा झुटा समाचार र कुप्रचारको प्रभावलाई कसरी सम्बोधन गर्ने भन्ने उपायहरू प्रस्तुत गरेकी छिन। TRP र क्लिक संख्याका आधारमा आय हुने भएपछि सामाजिक सञ्जाल प्रयोग गरी मानिसहरू जुनसुकै तहमा झरेर भए पनि पैसा कमाउने उद्देश्यले अरुलाई बदनाम गराउने मात्र होइन कतिपय अवस्थामा आत्महत्या गर्नसमेत पुगेका छन्। गलत सूचना, तथ्य तथ्यांक बंग्याएर सम्प्रेषित गरिने समाचारले समाजमा विग्रह ल्याउने मात्र होइन यसले समाजमा द्वन्द्व सिर्जना गर्ने, नेपाल जस्तो सबै जात, धर्म, लिंग, भाषाभाषी एक भएर सहिष्णुतासहित बसेको मुलुकलाई खण्डीकृत गराउने दुष्प्रयास नहोला भन्न सकिन्न। यसतर्फ सचेत हुनुपर्ने लेखिकाको राय छ।

२. नेपालको सन्दर्भमा हिमालप्रेसका सम्पादक चन्द्रशेखर अधिकारीले Fake News, Disinformation and Propaganda in the Context of Nepal शीर्षकमा मिहीन ढंगबाट नेपाल सन्दर्भलाई विश्लेषण गरेका छन्। लेखक  नेपालमा डिजिटल साक्षरतामा जोड दिन्छन् भने चुनाव र राजनीतिक संकट परेको बेला नेताहरू पनि यस प्रकारको विसंगत कार्यमा लागेको हुनसक्ने उनको आकलन छ। जानमानसको धारणा आफ्नोअनुसारको ढाँचामा ढाल्न, समुदायहरूबीच फाटो ल्याउन तथा राजनीतिक परिणामलाई प्रभावित पार्न फेक समाचार र अफवाहको प्रयोग गरेको पनि देखिन्छ।

‘ब्रेकिंग न्युज’को होडबाजीमा तथ्य सही गलत परख नगरी हतारमा समाचार सूचना प्रवाह गर्नुपर्ने बाध्यतामा सञ्चारमाध्यमहरू परेको लेखकको ठम्याइ छ जसको कारण पनि गलत सूचना समाजमा सम्प्रेषण हुन पुग्छ र त्यसले सामाजिक विग्रह सिर्जना गर्न सक्छ। नेपालमा पनि तथ्य परख गर्ने संस्थाहरू नजन्मिएका होइनन तर तिनको प्रभावकारितामा अझै प्रश्नचिह्न उठ्ने गरेको छ।

कोभिड १९ को महामारीका सन्दर्भमा धेरै हल्ला र अफवाह चले। नेपाली सेनाले हेलिकप्टरबाट कोभिड महामारीको संक्रमण फैलन रोक्न विषादी छर्ने भएको व्यापक हल्ला चालिएको थियो। त्यसलाई पछि सेनाले खण्डन नै गर्नुपरेको थियो।

लेखकले एमसीसी [अमरिकी सरकारको Millennium Development Challenge (MCC) द्विपक्षीय सहयोग सम्झौताअन्तर्गत नेपालको विद्युत् प्रसारण लाइनको निर्माणलगायतका कामका निमित्त ५५ मिलियन डलरको सहयोग] र एसपीपी [अमेरिकी सरकारको State Partnership Program(SPP) अन्तर्गत नेपाली सेना र अमरिकी सेनाबीच प्राकृतिक विपत्तिका विविध संकटमा सहयोग आदानप्रदान गर्ने भनिएको सम्झौता] का विषयमा नेपाली सामाजिक सञ्जाललगायत कतिपय समाचार संस्थाले फैलाएका हल्ला वा अफवाहहरूका आधारमा प्रसारण गरेका समाचार र त्यसले नेपाली समाजलाई कुन रूपमा ध्रुवीकृत हुने अवस्थामा पुर्‍याएको थियो भन्ने बारे पनि उल्लेख गरेका छन्।

यी दुई विषयले नेपाली समाज व्यापक रूपमा ध्रुवीकृत मात्र होइन देशहरूबीचको सम्बन्धमा नै असर पर्न सक्ने अवस्थासमेत सिर्जना भएको थियो। भूराजनीतिक रूपमा संवेदनशील भौगोलिक अवस्थितिमा रहेको नेपाल अनि दुई ठूला विश्व शक्ति बन्न अगाडि बढेका छिमेकी राष्ट्रहरू भारत र चीन तथा वर्तमानको विश्व शक्ति सयुंक्त राज्य अमेरिकाबीचको त्रिदेशीय चासोको केन्द्रमा पर्न गएको नेपालमा यस प्रकारको हल्ला, फेक समाचार र अफवाह फैलिनु कुनै अनौठो विषय थिएन।

दुष्प्रचारको उदाहरणका रूपमा लेखकले नेपालमा राजनीतिक रूपमा अति नै विवादित बनाइएका एमसीसी र एसपीपी परियोजना सम्बन्धमा इन्टरनेटमा फैलाइएका सामग्रीहरू र तिनको आधिकारिक निकायबाट बारम्बार खण्डन गरिए पनि यी परियोजनाबारे नकारात्मक पक्षहरू नै स्थापित हुन पुगेको विषयलाई उदाहरणका रूपमा पेस गरेका छन्। कतिपय अवस्थामा इन्टरनेटमा फैलिने वा फैलाइने अफवाहयुक्त समाचारको बाढीको ठूलो हात रहने गर्दो रहेछ र सोचेजस्तो भ्रम सिर्जना गर्न यस्ता सूचना सामग्रीहरू सफल हुन पुग्दा रहेछन्।

लेखक नेपालको समृद्ध धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई लक्षित गरी दुष्प्रचार गरिएको कुरामा चिन्तित देखिन्छन् जसले गर्दा समाजमा विग्रह, द्वन्द्व र मनमुटाव सिर्जना हुने अथवा समाज विभक्त हुने सक्ने खतराप्रति सचेत हुन आह्वान गर्छन्। पत्रकार, सञ्चार गृह, सरकारी निकाय, समाजको संयुक्त प्रयासले मात्र यस प्रकारको महामारीको रूपमा देखा परेको फेक समाचार र दुष्प्रचारजस्ता विसंगतिको समाधान हुन सक्छ भन्ने लेखको ठहर छ। साथै  हरेक देशको आफ्नो परिस्थिति र परिवेशअनुसार फेक समाचार, अफवाह र दुष्प्रचारलाई नियन्त्रण गर्नुपर्ने राय लेखकको छ। नेपालका सन्दर्भमा उनी सामाजिक सञ्जालको व्यवस्थापन गर्ने सम्बन्धमा ऐन तर्जुमा हुँदै गरेको र तथ्य परख एवं परीक्षण गर्ने संयत्र बनाउने क्रममा रहेको उल्लेख गर्दछन्।

झुटा समाचार र अफवाहको बाढीले समाज जागरणको एक साधनका रूपमा प्रयोग गर्दै आएको पत्रकार पुस्ताको निमित्त पत्रकारिताको विशिष्टता जोगाउन चुनौती थपिएका छन्। मानिसको हातहातमा समाचारको प्रभावकारी र तत्क्षण प्रसारण गर्न सक्ने क्षमता भएपछि परम्परागत पत्रकारिताको प्रभावकारिता पछाडि धाकिलिएको छ। आफ्नो हातमा आएको सूचना र देखेको भिडियो झुटो नै भए पनि त्यसैलाई तत्काल पत्याइहाल्ने भएकोले त्यस्ता सूचना सामग्रीको प्रभावमा मानिसहरू तत्कालै प्रभावित हुन पुग्दछन्। परम्परागत रूपमा विकसित हुँदै आएको तथा हिजो विश्वास गरिएका सञ्चारमाध्यमलाई नै आफू विपरीत छापिएको वा प्रसारित गरिएको कुनै समाचार वा सूचना फेक, झुटा, अफवाह भनिदिने प्रचलन पनि बढ्दै गएको छ। जस्तो- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्क टाइम्स, सीएनएन जस्ता विश्वले पत्याएका सञ्चार संस्थालाई सधैँ फेक सञ्चार प्रसारण गर्ने आरोप लगाउँथे र कतिपयले त्यो ठिक भन्ने पनि गरेको नसुनिएको होइन।

३. एकीकृत विकास अध्ययन केन्द्रका वरिष्ठ खोजकर्ता समरशमशेर जबराको प्रस्तुति रहेको छ – Fake News, Disinformation and Propaganda in Nepal. जुन नेपालका सहभागीहरूका तर्फबाट प्रस्तुत तेस्रो कार्यपत्र हो जसमा लेखकले नेपाल केन्द्रित भएर आफना विचार व्यक्त गर्दै झुटो समाचार र दुष्प्रचारको सूक्ष्म विवेचना गरेका छन्।

ट्युनिसियाको ‘ज्यास्मिन क्रान्ति’ फेसबुकबाट भएको क्रान्ति मानिन्छ। सामाजिक सञ्जाल कति प्रभावकारी हुँदो रहेछ र एउटा शक्तिशाली राज्य सत्तालाई पदच्यूतसमेत गराउने ताकत राख्दो रहेछ। यसर्थ यसको बढ्दो प्रयोग र दुरुपयोगसँगै आएका चुनौती र तिनको समाधानमा केकस्ता कदम चाल्न सकिन्छ भन्ने लेखको प्रस्तुतिले गहन रूपमा विश्लेषण गरेको छ। सूचनाको बाढीले ल्याइरहेको लथालिंग अवस्थाले समाज, राष्ट्र र व्यक्तिलाई अहित गर्ने त छँदै छ यसले लोकतन्त्र र वाक् स्वतन्त्रताको बर्खिलाप पर्खाल ठड्याउने आशंका छ। यसलाई लेखक सूचनाको अव्यवस्था (information disorder) भन्दछन्। २०२२ को एक प्रतिवेदनअनुसार ९० प्रतिशत नेपाली फेसबुक र युटुबजस्ता सामाजिक सञ्जालका साधन प्रयोग गर्दछन्।

यस कार्यपत्रमा लेखकले ‘सूचना अव्यवस्था ’ लाई केन्द्रमा राखेर इन्टरनेट र सामाजिक सञ्जालबाट सिर्जित विषमताबारे बृहत् रूपमा चर्चा गरेका छन्। सूचनालाई आफ्नो स्वार्थबमोजिम तोडमरोड गर्ने र सत्तामा हुनेले विपक्षीको विचारलाई फेक समाचार भनेर सजिलै भनिदिने चलन बसिसकेको छ। त्यसैगरी इन्टरनेटमा प्रवाहित भएका सामग्रीमा क्लिकका आधारमा विज्ञापन र आय हुने अवस्था सिर्जना भएपछि आजको युग ‘क्लिकवेट युग’ मा परिणत भएको छ। अबको होडबाजी क्लिक्वेट रहेको लेखको विश्लेषण छ। त्यस्तै सूचनाको प्रदूषण (Information Pollution) आजको मूल चुनौती भएको छ। २०१५ मा नेपालमा गएको महाभूकम्पपछि कतिपय भिडियो आदि सामग्री सूचना प्रदूषणका उदाहरण हुन्। त्यसै कोभिड महामारीसँगै आएको ‘सूचना महामारी’ (infodemic) ले विश्वलाई नै आक्रान्त पारेको थियो।

लोकतन्त्रमा एकातिर ‘वाक् स्वतन्त्रता’ को सुनिश्चतता गर्दै अर्कोतर्फ दुष्प्रचार, अफवाह र झुटा समाचार र सूचनाको बीच भेद पहिल्याएर झुटको खेती गर्नेलाई कानुनको दायराभित्र ल्याउनुपर्ने चुनौतीमा राज्यहरू पुगेका छन्। सूचनाको प्रवाह र प्रसारणमा उचित व्यवस्थापनको निमित्त आवश्यक नियम, कानुन र स्पष्ट नीति निर्माण हुन कार्यपत्रले जोड दिएको छ। सूचनाको अव्यवस्थाले राज्यहरूबीचको सम्बन्धमा पनि नकारात्मक असर पार्ने भएकाले त्यसतर्फ पनि त्यतिकै सचेत रहनुपर्दछ भन्ने बोध गराउन सक्षम छ यो कार्यपत्र।

भारतको प्रस्तुति र स्थिति

१. भारतको पहिलो कार्यपत्र डा. वैशाली रघुवंशीको रहेको छ जसको शीर्षक रहेको छ -भारतमा भ्रामक समाचार र दुष्प्रचार/अफवाह’(The State of Fake news and Disinformation in India) बनारस विश्व हिन्दु विश्वविद्यालयको सहायक प्राध्यापक डा. वैशालीको लेखबाट यो संग्रहको सुरुवात हुन्छ।

२. भारतको मुम्बईवेष्टित स्वतन्त्र अन्वेषक अभिषेक अशोकले आफ्नो प्रस्तुति Fake News, Disinformation and Propaganda: Cutting Across Fields Beyond Politics मा मानव सभ्यताको सुरुवातदेखि नै गलत सूचना र अफवाह फैलाउने र फैलिने नगरेको होइन तर सन् १४९३ देखि छपाइ प्रक्रिया सुरु भएपछि गलत सूचना सम्प्रेषणले गति लिएको उल्लेख गरेका छन्। भारतीय सन्दर्भमा पुराण अनि विभिन्न सभ्यता र साम्राज्यकालमा भएका यस प्रकारका अफवाह उपयोग नगरिएका होइनन् भन्ने उनको भनाइ सत्यको नजिक छ भलै त्यो आजको जस्तो रूप र सारमा हुँदैनथ्यो।

स्मार्ट फोनको युगमा प्रत्येक व्यक्तिलाई लक्षित गरेर सूचना र जानकारी सम्प्रेषण गर्न सकिने, एल्गोरिदम्सले व्यक्तिको एक क्लिक्बाट उसको इच्छा र चाहनाबमोजिमको सामग्री सहजै उपलब्ध हुनसक्ने तथा कसैको भर नपरी आफ्नो मनको चाहनाबमोजिम व्यक्तिगत विचार प्रवाह गर्न सहज हुने स्थितिको विकास भएको छ। अझ अडियो वा फोटो मात्र होइन, भिडियो पनि सहजै प्रसारण गर्न सकिने भएकोले अब कुनै रेडियो वा टेलिभिजनको पर्दामा देखाइनु वा हेर्नुपर्ने स्थिति समाप्त भएको छ।

अझ उही समयमा प्रत्यक्ष प्रसारण हुँदा संसारभरमा एकैछिनमा कुनै सामग्री प्रवाहित हुने र त्यसले चाहेको लक्ष्य हासिल हुन सक्ने भएकोले कुनै संशोधन वा सम्पादन बिना यसरी प्रसारित हुने सामग्रीले सम्पूर्ण मानव समुदायमा पार्न सक्ने सकारात्मक/नकारात्मक असरबारे घोत्लिने पर्ने समय आएको छ। कुनै अन्य माध्यमहरूको भरमा नपरी आफ्ना विचार, सिर्जना आफूखुसी सामग्री सम्प्रेषण गर्न सक्ने अवसरलाई कतिपयले दुरुपयोग गरी व्यक्ति, समुदाय, धर्म, संस्कृति र सभ्यताविरुद्ध हतियारका रूपमा पनि प्रयोग गर्ने गरेको देखिन्छ।

भारतलगायत दक्षिण एसियाका मुलुकहरूमा स्मार्ट फोनले अभूतपूर्व क्रान्ति ल्याएको छ। पैसाको कारोबारदेखि मनोरञ्जनका साधनका रूपमा पनि स्मार्ट फोन प्रयोग हुँदैछ। सकारात्मक विकासका साथै नकारात्मकताको पनि विकास गर्दै गरेको छ। समाजमा अनुशासनहीनता बढाएको छ भने साम्प्रदायिक दंगा, कुनै लक्ष्यित वर्ग र समुदायविरुद्ध हिंसा भड्काउने बढाउने हेतुले झुटा समाचार र सूचना प्रसारित गरिएको पाइएको कैयौँ उदाहरण छन्।

२०१३ मा भारतको मुजफ्फर नगरमा भाँडिएको हिंसात्मक दंगामा कैयौँको ज्यान गयो एक फेक भिडियोका आधारमा। त्यो बनेको थियो अफगानिस्तानमा। हुँदै नभएको घटनालाई हो भन्ने पारेर प्रसारित उक्त भिडियोका कारण अनाहकमा निर्दोषको ज्यान गएको थियो। कुन समाचार फेक हो कुन वास्तविक हो छुट्ट्याउन निकै कठिन हुने गएको छ।

कोभिड-१९ को महामारीसँगै सूचना प्रविधिको प्रयोग एक्कासि बढ्यो र सम्पर्करहित सेवा सुरु भयो। सँगसँगै विकृति पनि भित्रिन थाले। २०२१ को एक प्रतिवेदनअनुसार महामारीको समयमा फेक समाचार २१४ प्रतिशतका दरले बढेको पाइएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक प्रमाणपत्र बारे झुटो बोलेको आभास जनाउने भिडियो जारी हुँदा प्रधानमन्त्री स्वयंले स्पष्टीकरण दिनुपरेको थियो भन्ने उदाहरण पनि लेखकले उल्लेख गरेका छन् ।

झुटो र साँचो कुन हो र के हो भन्ने छुट्ट्याउनुपर्ने अन्योलमा सायद मानव इतिहासको नयाँ सन्दर्भ बन्दै गएको छ। यसले एकीकृत भएर रहेको समाज विभक्त हुँदै जाने खतरा रहन्छ भने को आफू र को अर्को भन्ने भावना प्रबलीकरण हुँदै गएको छ। यसले समाजलाई अझ खण्डीकृत गर्दै जान्छ भन्ने उनको राय सही नै लाग्दछ। त्यस्तै प्रसारित सामग्रीका तथ्य सही हो होइन भनेर जाँच्ने कार्य कठिन बन्दै गएको छ। स्मार्ट प्रविधिको प्रयोग गरी फोटोसपलगायतको सहयोगमा गरिने कतिपय सामग्रीको सत्यताबारे यकिन भन्न कठिन हुने भएकोले तत्कालै फेक समाचार वा तथ्यको खण्डन गर्न नसक्दा सामग्री प्रसारकको ध्येय सिध्द भइहाल्ने खतरा रहन्छ।

३. भारतको अब्जर्भर रिसर्च फाउन्डेसनका वरिष्ठ फेलो समीर पाटिलले Disinformation and Technology: Responsibilities and Challenges for South Asia शीर्षकमा अफवाह र नवीन प्रविधिले दक्षिण एसियामा उत्पन्न गरेको दायित्व र चुनौतीबारे विश्लेषण गरेका छन्। दक्षिण एसियामा करिब एक अर्ब जनसंख्याले इन्टरनेट प्रयोग गर्दछन् भन्ने तथ्यांक उल्लेख गर्दै लेखकले कोभिड महामारीजस्ता जनव्यापी चासोको विषयलाई आफ्नो व्यापारिक उद्देश्य प्राप्तिको साधन बनाउने मनसाय भएका केही व्यक्तिहरूले थप मलजल गर्ने काम गरेको जनाएका छन्। कोभिड भाइरसको महामारीसँगै ‘सूचनाको महामारी’(infodemic) बाट पनि मानिसहरू प्रताडित बन्न पुगेको तथ्यलाई उनी उजागर गर्दछन्। सञ्चारमा हासिल भएको क्रान्ति र यो नवीन प्रविधिको आगमनसँगै कुनै गुमनाम सुरक्षित स्थानमा रहेर अर्को देशभित्र असुरक्षा, अशान्ति र वितण्डा सिर्जना गर्न सक्ने क्षमता प्रवर्धन भएकोमा लेखक ध्यानाकर्षण गराउँछन्।

अगस्ट २०१२ बैंगलोर, मुम्बई, हैदराबादजस्ता सहरबाट एकाएक असाम निवासी भारतीयहरू आफूहरूविरुद्ध लक्षित साम्प्रदायिक दंगा भड्किने त्रासमा आफ्नो काम अध्ययन छोडेर भाग्न थाले। उनीहरू त्यसरी भाग्नुमा पाकिस्तानमा रहेका केही सामाजिक सञ्जालका प्रयोगकर्ता र ब्लगरहरूले फैलाइएको भनिएको अफवाह वा हल्ला मात्र थियो भन्ने पछि पुष्टि भयो । तर सिर्जना गर्न खोजिएको त्रास र एक समुदाय र अर्को समुदायबीचको मनमुटावलाई बढावा दिने काम भने भइसकेको थियो।

लेखकको चिन्ता आर्टिफिसियल इन्टलिजेन्स (एआई) को व्यापक प्रयोग गरी फेक मात्र होइन सक्कल नै लाग्ने (डिप फेक) भिडियो आदि बनाउने र प्रसारण गर्ने कार्यले अब सक्कल र नक्कलको भेउपत्तो पाउन आममानिसले नसक्ने विषयतर्फ केन्द्रित छ। किनभने उनको विचारमा जुन बेला यस्ता झुटा सामग्रीको वास्तविकता थाहा हुन्छ त्यतिबेला सम्म त्यस्ता सामग्री प्रसारण गरेर आफ्नो मनसाय वा उद्देश्य हासिल गर्न चाहनेले सो गरिसकेको हुन्छ; क्षति पुगिसकेको हुन्छ भन्ने उनको धारणा छ।

रुस र युक्रेनको युद्ध भर्खर सुरु भएको थियो। युक्रेनका राष्ट्रपति जेलेन्सकीले आफ्ना सेनाका जवानहरूलाई रुसविरुद्ध युद्ध नगर्न आह्वान गरेको भिडियो एकाएक सामाजिक सञ्जालमा व्याप्त (भाइरल) भयो। सक्कल नै लाग्ने यस्ता नक्कल गरिएका (डिप फेक) पहिल्याउन निकै कठिनाइ परेको थियो। अर्को प्रविधि जसले अझ यस प्रकारको अफवाह फैलाउन र आफ्नो साध्य सिद्धि गर्न सघाउने भएको छ त्यो हो एआईद्वारा स्वत: गरिने शब्दानुकरण र वाक्यविन्यास जसले अर्थको अनर्थ लगाउन सक्छ र जे भनिएको हो र भन्न खोजिएको हो त्यसको ठिक विपरीत असर पार्न सक्ने सम्भावना बढेको छ।

भारतले यस प्रकारका अफवाह र कुप्रचारको नियन्त्रण गर्न विभिन्न मार्ग अवलम्बन गरेको छ। भारतको सूचना ब्युरोले यसतर्फ काम अगाडि बढाएको छ। नोभेम्बर २०१९ मा तथ्य परीक्षण एकाइ स्थापना गरेको छ भने Information Technology (Intermediary Guidelines and Media Ethics Code) Rules, २०२१ मार्फत विविध प्रक्रियाको थालनी गरेको छ। भारतमा Digital India Act बनाउने पहल सुरु भएको छ। भारत सरकारले डिजिटल सुरुक्षा हेतु विभिन्न पाइला चालेको छ। त्यसैगरी डिजिटल शिक्षा प्रभावकारी रूपमा फैलाउन अग्रसर छ भारत। डिजिटल मञ्चर र माध्यमलाई सुरिक्षित, मर्यादित र संयमित बनाउन नागरिक समाज, पत्रकार आदिको पनि त्यत्तिकै भूमिका रहनुपर्ने तर्फ लेखक इंगित गर्दछन्।

पाकिस्तानको प्रस्तुति र स्थिति

Fake News, Disinformation and Disruptive Technologies: A Pakistani Perspective on Hybrid Warfare शीर्षकमा लाहोर विश्वविद्यालयका प्राध्यापक प्रो. डा. राविया अख्तरले पाकिस्तानको वर्तमान स्थितिको आकलनसहित आफ्ना विचार  प्रस्तुत गरेकी छिन्।

झुटा समाचारले गर्दा सरकारी तवरमा जारी भएका सूचना सामग्री पनि पुन: दोहोर्याएर परख गर्ने पर्ने जरुरी हुँदै आएको छ। कसले भनेको पत्याउने, कसले भनेको नपत्याउने जस्तो अवस्था सिर्जित भएको छ। यसले गर्दा जनमानसमा विश्वासको संकट(Crises of Trust) उत्पन्न भएको छ। यो युगलाई विश्वासको संकटको युग नामकरण गरिए पनि हुने भएको छ। सही र सत्य कुरा पनि विश्वास गर्न नसकिने गरी मिश्रण (dilute) हुन पुगेको अवस्थामा झुटा समाचार सही मानिने र सही सत्य समाचार झुटा मानिने परिस्थिति निर्माण भएको छ। कसैले कसैमाथि विश्वास गर्न नसकिने भयावह विश्वको परिकल्पना भएको थिएन होला। सामाजिक सञ्जाल ‘दुईधारे’ तरबारका रूपमा विकसित हुँदैछ -जता बाट चलाए पनि धारिलो हतियारको काम गर्ने जस्तो भन्ने राबियाको भनाइ सही लाग्दछ।

सामाजिक सञ्जालले आममानिसलाई आफ्ना देशका उच्च तहका नेता तथा अधिकारीहरूसँग प्रत्यक्ष संवाद गर्न सक्ने सुविधा त दिएको छ तर यसको साथै गलत सूचना प्रवाह हुने सम्भावना पनि त्यति नै रहन्छ भन्ने उनको भनाइ सटिक लाग्दछ।

राज्यहरू हिजोको परम्परागत सैनिक जस्तै डिजिटल लडाकु(digital warrior) तयार पार्न थालेका छन् । भारत र पाकिस्तानबीचको विद्यमान सम्बन्धका देखिएका कटुताका परिप्रेक्ष्यमा पाकिस्तानमा हुने घटनामा भारतको हात र भारतमा हुने घटनामा पाकिस्तानको हात रहेको भन्ने आरोपप्रत्यारोप निरन्तर चलिरहेको विषय भएको साइबर माध्यममा त्यो क्रम अझ बढेको विभिन्न उदाहरण पनि प्रस्तुत भएको छ यो लेखमा।

श्रीलंकाको प्रस्तुति र स्थिति

लिंगका आधारमा गरिने विभेदकारी व्यवहारले उदार लोकतन्त्रमा पार्ने वा परेको प्रभावबारे गहन रूपमा नयाँदिल्लीस्थित WISCOMP मा वरिष्ठ फेलोका रूपमा रहेकी डा. मल्लिका जोसेफले आफ्नो कार्यपत्र Tech-Facilitated Gendered Disinformation and its Impact on Liveral Democracy मा विश्लेषण गरेकी छिन। लैंगिक रूपमा पछाडि पारिएको स्त्रीलिंगी वा अन्य लिंगीहरूप्रतिको विभेदपूर्ण सूचना सामग्री होस् वा यौनजन्य आक्रमणको निसाना बनाउने प्रवृत्ति बढ्दै गएको विषयमा डा. जोसेफको चिन्ता व्यक्त भएको छ।

लोकतान्त्रिक व्यवस्थामा महिला समानताको पक्षधर भए पनि फेक समाचार र दुष्प्रचारले महिलाको अस्मिता मात्र होइन उनको नेतृत्व क्षमतामा नै प्रश्न चिह्न खडा गरेको पाइन्छ। विश्वमै पहिलो महिला प्रधानमन्त्री श्रीलंकामा सिरिमाओ बन्द्रानाइके, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारतमा महिला प्रधानमन्त्री तथा नेपाल, भारत र श्रीलंकामा राष्ट्रपति पदमा महिला पुगे पनि आममहिलाको स्थिति भने सोचेजस्तो गरी बदलिएको छैन भन्ने उनको कथन छ। सामाजिक सञ्जालको प्रयोग गर्दै अनुहार र नाम नभएको (faceless and nameless) हरू र अनुदारवादीहरूको प्रत्यक्ष तारोमा परेका छन् महिला। अनलाइनमार्फत हुने हिंसाले महिलालाई प्रताडित पार्ने एक नयाँ अस्त्र  फेला परेको जस्तो स्थिति बनेको उनको राय छ। यस विषयमा लेखकले बृहत् रूपमा सचेतनामूलक प्रस्तुति दिएकी छन्।

माल्दिभ्सको प्रस्तुति र स्थिति

माल्दिभ्सको ‘दिह्यारेस न्युज मिडिया’ सँग आबद्रध आनिफा हुस्सैन सिराज र खातिमा युसुफले Fake News and Propaganda in the Maldives शीर्षकको आफ्नो लेखमा माल्दिभ्सको वर्तमान स्थिति र त्यसलाई नियन्त्रण गर्न अपनाइएका उपायहरूबारे उल्लेख गरेका छन्। माल्दिभ्सका सन्दर्भमा हेर्दा फेक समाचार वा दुष्प्रचार गर्दा राजनीतिक वा अवधारणात्मक पक्ष सबल रहेको लेखिकाहरूको मत छ। आमजनमानसलाई कुनै निश्चित राजनीतिक दल वा नेताको प्रभावमा रहन फेक समाचार र सूचनाहरू प्रवाहित हुने गरेको लेखिकाहरूको विचार व्यक्त भएको छ।

२०२२ मा माल्दिभ्सबाट भारतीय सेना निष्कासनको निमित्त ‘इन्डिया आउट’ नामक आन्दोलन गरिँदा धेरै सञ्चार संस्थाहरूले फेक समाचार र तथ्यहरू प्रसारण गरेको पाइएको थियो भन्ने लेखिकाहरूको दाबी छ।

माल्दिभ्समा आफ्नो राजनीतिक अभीष्ट प्राप्ति गर्न फेक समाचार र कुसूचनाहरू फैलाइँदैछ। निश्चित जातजाति, धर्म र समुदायविरुद्ध लक्षित फेक समाचारले सामाजिक सदभाव र समन्वयलाई खतरामा पार्दछ र यो दीर्घकालीन रूपमा असर पार्ने खालको हुन्छ। यसले राष्ट्रको अर्थतन्त्रको विकासमा पनि पर्याप्त असर पार्दछ। तथ्य प्रमाणीकरण गर्ने संस्थाहरू खुलेका छन् र तिनले जारी भएको फेक समाचार, भिडियो आदिको सत्यताबारे तत्काल प्रतिक्रिया दिने गरेका छन् गैरसरकारी तवरमा। नागरिक समाजले पनि यसलाई गहनतापूर्वक लिएर  कार्यक्रम सञ्चालन गरिरहेका छन्।

फेक समाचार र सचार गृहहरूलाई आवश्यक पर्ने विज्ञापनका कारण राजनीतिक बिन्दु वा सत्ता वा दल र सञ्चार गृहहरूबीच एक प्रकारको मिलनबिन्दु वा साँठगाँठ (nexus) रहेकाले यो दुश्चक्र यथावत् रहने उनीहरूको ठोकुवा छ।

उपसंहार

दक्षिण एसियाका मुलुकहरू नेपालका तर्फबाट तीन, भारतका तर्फबाट तीन, श्रीलंका, पाकिस्तान र माल्दिभ्सका तर्फबाट एकएक गरी नौ कार्यपत्र संलग्न गरी प्रकाशन गरिएको यो पुस्तक सम्बन्धित विषयमा लेखिएका सोही देशको शीर्षकअन्तर्गत समावेश गरिएका भए पाठकलाई दक्षिण एसियाका देशहरूको स्थिति, तिनले सामना गर्नुपरिरहेको चुनौती बारे थप स्पष्ट हुन वा आकलन गर्न सहज हुन्थ्यो।

यो समसामयिक र सान्दर्भिक पुस्तक पढ्दै गर्दा प्रकाशकले लेखक/कार्यपत्र प्रस्तोताको तस्बिर पनि लेखसाथै समावेश गरिदिएको भए अझ सराहनीय कार्य हुने थियो भन्ने लाग्छ। कालो अन्धकारयुक्त वर्तमान र भविष्यको साथै नीलो गहिराइ बुझाउने आवरण कलाकृति साधारण लागे पनि गहन सन्देशयुक्त भएकाले पुस्तकको मूलभूत उद्देश्य फेक समाचार र सूचनाले ल्याउन सक्ने त्रासदपूर्ण स्थितिलाई इंगित गर्न सफल रहेको छ।

अन्तरराष्ट्रिय सम्बन्धमा फेक समाचार बारेको शीर्षक भए पनि पुस्तकमा  दक्षिण एसियामा देखिएका, भोगिएका सूचना वा सामाजिक सञ्जालमा विद्यमान विसंगतिहरूको मात्र बृहत् विश्लेषण गरिएको छ। फेक समाचार र दुष्प्रचारको कारण आममानिसले भोग्नुपरिरहेको पीडा मात्र होइन राष्ट्रहरू बीचको आपसी सम्बन्धमा नै खलल पुर्याउने खालको अवस्था सिर्जना गराउने गरी यस्ता सामाजिक सञ्जालका माध्यम प्रयोग आजको चिन्ताको विषय हो। लोकतान्त्रिक विधि, मान्यता र सिद्धान्तविपरीत नहुने गरी झुटा समाचार र सूचनाको स्रोत पत्ता लगाउने र यस्ता कार्यमा संलग्नहरूलाई कानुनको दायरामा समेट्नुपर्ने जटिल चुनौती आजको विश्वले सामना गरिरहनु परेको यथार्थ चित्रण गर्न पुस्तक र संग्रहित प्रस्तुतिहरू सफल छन्। पुस्तक प्रकाशन गरेर डा. निश्चलनाथ पाण्डेले दक्षिण एसियाली देशहरूले भोग्नुपरिरहेको ज्वलन्त विषयलाई उजागर गर्ने र सम्बद्ध सबै पक्षलाई सचेत पार्ने प्रशंसनीय काम गर्नुभएको छ।

यो लेखको प्रयोजनका निमित्त fake news लाई ‘झुटो समाचार’, disinformation लाई ‘दुष्प्रचार/अफवाह’ र propaganda लाई ‘संगठित प्रचार’ का रूपमा प्रस्तुत गरिएको छ।    

[कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक जर्मनीका लागि नेपालका पूर्व राजदूत एवं पूर्वशिष्टाचार महापाल हुन्।]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =