एसीसी वुमन्स कप : मान्दिभ्ससँग तेस्रो खेल खेल्दै नेपाल

हिमाल प्रेस १ फागुन २०८० ७:१२
36
SHARES
एसीसी वुमन्स कप : मान्दिभ्ससँग तेस्रो खेल खेल्दै नेपाल फाइल तस्बिर

काठमाडौँ- एसीसी वुमन्स प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ।

यो खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुनेछ।

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८९८ विकेटको जित हासिल गरेको थियो। त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो।

आजै समूह डी कै भुटान र हङकङले पनि समूह चरणको अन्तिम खेल खेल्दैछन्।

यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ।

नेपाल रहेको समूह ‘डी’मा हङकङ, माल्दिभ्स र भुटान छन्।

एसियाली क्रिकेट काउन्सील (एसीसी)ले वुमन्स प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो। यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने वुमन्स टी-२० एसिया कपमा सहभागिता जनाउन पाउनेछ।

एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन्।

फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने वुमन्स प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ।

प्रतियोगिताको समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, आयोजक मलेसिया र कतार रहेका छन्। समूह ‘बी’ मा चीन, जापान, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन्।

समूह ‘ए’ मा भने कुवेत, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन्।

समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट दुईदुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। चारवटै क्वार्टरफाइनल खेल फेब्रुअरी १४ तारिखमा खेलिनेछ।

सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल १८ तारिखमा हुनेछ।

प्रकाशित: १ फागुन २०८० ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =