नेपाली एभरेष्ट नाइटमा झुमे हङकङवासी

हिमाल प्रेस २९ माघ २०८० २०:२२
264
SHARES
नेपाली एभरेष्ट नाइटमा झुमे हङकङवासी

काठमाडौँ- हङकङ भन्ने बित्तिकै चिनियाँभन्दा बढी नेपाली लाहुरेको स्मरण हुन्छ। तर हङकङमा अहिले नेपाली व्यवसायी, ठूला बिल्डरहरू पनि उत्तिकै छन्। यतिबेला हङकङलाई चिनियाँ नयाँ वर्ष ‘लुनार न्यु इयर’को रौनकले छोपेको छ। चिनियाँ नयाँ वर्षको बेला यहाँ तीन दिन सार्वजनिक बिदा पनि हुन्छ। यद्यपि त्यहाँ रहेका नेपालीले तीन नयाँ वर्ष मनाउँछन्। नेपाली नयाँ वर्ष, अंग्रेजी नयाँ वर्ष र चिनियाँ नयाँ वर्ष।

चिनियाँ नयाँ वर्षको अवसरमा हङकङमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। कोभिड-१९ ले विश्वव्यापी महामारीको रूप लिएपछि यस्ता कार्यक्रम प्रभावित बनेका भए पनि अहिले विस्तारै सलबलाउँदै गरेको छ। यही क्रममा हङकङमा मिस नेपाल हङकङ सोसाइटीले युवाहरूलाई ध्यानमा राखेर नेपाली एभरेष्ट नाइट २०२४ आयोजना गर्‍यो।

भिक्टोरिया हार्बरमा उल्लासमय आतसबाजी भएको थियो। उक्त आतसबाजीलाई नियाल्न हङकङ बन्दरगाहको दुई किनारबाट लाखौँ मानिसको भीड लागेको थियो। कार्यक्रम करिब २५ मिनेट चलेको थियो। नयाँ वर्षमा चिनियाँहरू स्थानीय सांस्कृतिक कार्यक्रममा खुलेर रमेका हुन्छन्। यही अवसरमा नेपालबाट कलाकार लगेर समेत त्यहाँ आइतबार साँझ भएको भव्य कार्यक्रममा पनि १ हजार ६ सय भन्दा बढी नेपालीको उपस्थिति रहेको आयोजकमध्येका एक मनिस लिम्बुले बताए।

कार्यक्रमले योङ क्राउडलाई फोकस गरेको भए पनि सबै उमेरका उपस्थितिले यति भीड भएको उनले बताए। एकै हलमा बसेर नयाँ वर्ष मनाउने काम गरेको उनले सुनाए। दीपमाला केडीले उद्घोषण गरेको कार्यक्रममा उनले कलाकारलाई बोलाउने र प्रस्तुति दिन लगाउँदा भीडलाई उत्साहित बनाउने काम गरेकी थिइन्। स्टेजबाट तल झरेर आफैँ दर्शक सामु आएर नाच्ने उत्साह थप्ने काम समेत गरेकी थिइन्।

३ हजार २ सय जना अट्ने हलमा करिब पूरा भरिएको झैँ देखिए पनि १ हजार ६ सय भन्दा बढी रहेको आयोजकको अनुमान छ। दर्शकहरूले एकै हलमा बसेर नयाँ वर्षमा नयाँ प्रकारको प्रस्तुति पाए। त्यहाँ राजेश पायल राई, सुशान्त केसी, समीर श्रेष्ठ, नोगेन लिम्बु, दिक एस तामाङ र कमेडियन विकी अग्रवालको पनि दमदार प्रस्तुति थियो। दी ब्यंगर्सका साथमा ग्लोकिस डान्स स्टुडियो, डिभाइन डान्स स्टुडियोको पनि प्रस्तुति थियो।

कार्यक्रम क्विन एलिजावेथ स्टेडिएममा गरिएको थियो भने टिकट ४ सय देखि एक हजार हङकङ डलरको थियो। मिस नेपाल हङकङ सोसाइटीले यस पटक नेपालबाट युवाको लागि भन्दै कलाकार बाोेलाएर यस प्रकारको कार्यक्रम गरेको हो। त्यही सोसाइटीले एक महिना अघि मात्र मिस नेपाल हङकङ चयन गरेको थियो।

एभरेष्ट नाइट २०२४ तोकिएको उक्त कार्यक्रममा सबै उमेर समूहका उपस्थित दर्शकहरू झुमेका थिए। नेपाली गीतहरू गाएर रमेका थिए। स्टेडियममा नै नाचिरहेका थिए। दीपमालाले पनि संगीतको सुरमा आफ्नो सुमधुर आवाज दिँदै सबैलाई नाच्न उक्साइरहेकी थिइन। यस्ता कार्यक्रममा नेपाली संघसंस्थाले विभिन्न खाले कार्यक्रम आयोजना गर्ने गर्छन्। यस पटक सोसाइटीले फरक टेस्टको कार्यक्रम गरेको हो।

यसै सिलसिलामा हङकङका गुरुङ समुदायले स्थापना गरेको तमु ट्हो ह्युल हङकङले आज रोधी साँझ पस्किँएको छ। युनलङ थिएटरको अडिटोरियममा हुने रोधी साँझमा प्रस्तुति दिनका लागि नेपालबाट २० बढी कलाकार हङकङ पुगेको जानकारी दिइएको छ।

गुरुङ तमुहरूको भाषा, संस्कृति, परम्परा, भेषभूषा, धर्म, संस्कार, रीतिथिति, कला र मौलिकतालाई संरक्षण एवं संवर्द्धनका लागि आपसी सहयोग, सद्‍भाव र भाइचाराको उद्देश्य राखेर सन् १९९८ मा स्थापना भएको संस्थाले आयोजना गर्न लागेको यो नवौँ रोधी साँझ हो। सन् १९९८ मा स्थापना भएको संस्थाले सन् २००० देखि प्रत्येक कार्यसमितिको पालामा एउटा कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रकाशित: २९ माघ २०८० २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =