सामाजिक सेवामा सैनिक श्रीमती संघ

हिमाल प्रेस २८ माघ २०८० २१:१६
234
SHARES
सामाजिक सेवामा सैनिक श्रीमती संघ

काठमाडौँ- सैनिक श्रीमती संघ सामाजिक कार्यमा अग्रणी समूहमा रहेर त्यही अनुरूपको काम गर्दै आएको छ। सैनिक श्रीमती संघले ४० वर्ष कटाइसकेको र अहिले जिल्लाजिल्लामा प्रशिक्षणको काममा सक्रिय रहेको देखिएको छ।

फरक क्षमता भएका बालबालिकालाई सहयोग गर्ने, नेपाली सेनाका आश्रित परिवार, बहालवाला र अवकाशप्राप्त सैनिक तथा गैरसैनिकहरूलाई लक्षित गरी विभिन्न सीपमूलक कार्यहरू गर्ने जस्ता गतिविधि बढाउँदै गएको छ।

सिलाइकटाइ लेबल-२, ब्युटिसियन लेबल-२, मन्टेश्वरी, बेकरी र अचार तालिमहरू गराउने क्रममा आइतबार तालीममा सफल हुनेहरूलाई सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले प्रमाणपत्र हस्तान्तरण गर्दै व्यवसायमा लाग्न सुझाउँदै सुरुवात गरिन्। उनले सिलाइकटाइ लेबल-१, ब्युटिसियन लेबल-१, मन्टेश्‍वरी र बेकरी तालिमको समापन पनि गरिन्।

गत साता मात्र नेपाली सेनाका सकलदर्जाका विशेष क्षमता भएका बालबालिकालाई लक्षित गरी शिक्षामार्फत्  समग्र विकास गराउने उद्देश्यका साथ निर्माण भएको ‘वरदान सैनिक विशेष दिवा विद्यालय’ को भवनमा प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा विशेष पूजा सम्पन्न गरेको छ।

संघले गत असोज मा फरक क्षमता भएका बालबालिकाका निम्ति विशेष कार्यक्रम गरेर सहयोग नै गरेको थियो। त्यस्ता बालबालिकाका निम्ति स्थापना गर्न लागेको दिवा विद्यालयको सहयोगार्थ विशेष कार्यक्रम गरेका थिए। त्यस्तो विद्यालयको सुरुवात गर्न प्रक्रिया समेत अघि बढाएसँगै पूजा अर्चना भएको हो।

बरदान फरक क्षमता दिवा विद्यालयको सहयोगार्थ त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डप हलमा नेपालका ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति नै गराएर सहयोगी हात बढाएका थिए।

सेवा नै परम् धर्म, सेवा नै परम् तप हो भन्ने आदर्श बोकेको श्रीमती संघले गैर सैनिकसँग सहकार्य गरेर पनि काम गर्ने गरेको छ। सैनिक श्रीमती संघ धर्ममा अडिग रहेर सबै धर्मलाई समान सम्मान गर्दै पूजा अर्चना गर्नेदेखि सबैलाई सहयोग पुर्‍याउने काम गरिरहेको छ।

भूकम्पपछि गर्न सक्ने सहयोग गर्दै आएको संघले अहिले विद्यालय बनाउने देखि फरक क्षमता भएका बालबालीकालाई शिक्षा दिलाउन लागि परेको छ। जाजरकोटमा गएको भूकम्पमा राहतमा समेत सामेल भएको संघले तराईको शितलहरमा न्यायो कपडा वितरण, बहिरा विद्यालयमा खाद्यान्न र कपडा वितरण, अस्पतालमा स्वास्थ्य सामग्री वितरणलगायतका विभिन्न सामाजिक काममा सक्रियता देखाउँदै आएको छ।

सैनिक कल्याणकारी निर्देशनालयको लागत तथा यस सैनिक श्रीमती संघको समन्वयमा नेपाली सेना व्यावसायिक तालिम केन्द्रद्वारा नेपालमा विभिन्न जिल्लामा पनि ब्युटिसियन, अचार बनाउने, हस्तकलाको काम लगायतको प्रशिक्षण दिने गरिएको छ। यस्तो काममा प्रतियोगिता गराएर त्यहाँ प्रोत्साहन गर्ने काम पनि गर्दै आएको संघले जनाएको छ।

सैनिक श्रीमती संघको संरक्षकत्वमा सञ्चालित बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको आयोजनामा उपत्यकाभित्र र बाहिरका विभिन्न विद्यालय तथा डोजाङका ३ सय २१ जना खेलाडीहरूलाई सहभागी गराई प्रतिस्पर्धा गराइएको थियो। त्यसमा प्रधानसेनापति छात्रा तेक्वान्दो प्रतियोगिता प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका थिए। प्रधानसेनापति शर्मा र संघकी अध्यक्ष सुनिता शर्माबाट प्रतियोगितामा उत्कृष्टलाई पदक तथा पुरस्कार वितरण गरिएको थियो। त्यहाँ छात्र र छात्रा दुवै विधामा प्रतियोगिता भएको थियो।

नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका फरक क्षमता भएका बालबालिकाहरूलाई उचित शिक्षा प्रदान गर्ने हेतुले स्थापना गर्न लागेको ‘वरदान फरक क्षमता दिवा विद्यालय’ सञ्चालनार्थ आर्थिक संकलन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘वरदान सुर-सन्ध्या’ कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने कलाकारलाई सम्मान पनि गरेको थियो संघले।

२०८० पुस २ मा सैनिक श्रीमती संघको कार्यालय, भद्रकालीमा संघकी अध्यक्ष सुनिता शर्माबाट नवनियुक्त उपाध्यक्ष श्रीमती निता सिग्देल क्षेत्रीलाई स्वागत गर्दै शपथ ग्रहण गराएकी थिइन। आगामी प्रधानसेनापतिको लाइनमा रहेको अशोक सिग्देल रथीमा बढुवा भएसँगै संघको उपाध्यक्षमा निता आएकी हुन्। उनी संघमा अध्यक्षसँग सहकार्य गर्दै अघि बढ्ने र अध्यक्षको मार्गदर्शनलाई सफल बनाउनेमा लागेकी छन्।

त्यसअघि संघले आफ्नो ४० औँ वार्षिक उत्साव मनाउने काम गरेको थियो। ५९ औँ राष्ट्रिय बालदिवसको अवसरमा आयोजित अन्तर सैनिक महाविद्यालय निवन्ध, कविता तथा चित्रकला प्रतियोगिताका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण तथा यस संघले सैनिक महाविद्यालयहरुमा अध्ययनरत जेहेनदार छात्रछात्राहरुलाई वितरण गर्दै आइरहेको विभिन्न छात्रवृत्ति वितरण एवम् संघलाई सहयोग पुर्‍याउने विभिन्न संघसंस्थाहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

फरक क्षमता भएको सन्ततीको परिवारलाई आर्थिक सहयोग गर्ने, विभिन्न विद्यालयमा पठाउन नसकेका आफ्ना सेनाको परिवारको संरक्षण गर्ने, औषधि उपचारमा गर्ने काममा सहयोग गर्ने र गरिब तथा हातमुख जोर्न गाह्रो भएको कुनै समाचार आएमा त्यहाँ बुझेर सहयोग पुर्‍याउने काममा पनि संघ अगाडि छ।

प्रकाशित: २८ माघ २०८० २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =