कोशी सरकार र पहिचानवादीबीचको वार्ता निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने

हिमाल प्रेस २५ माघ २०८० २१:४१
14
SHARES
कोशी सरकार र पहिचानवादीबीचको वार्ता निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने

विराटनगर- कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समिति बीचको बिहीबार पहिलो दिनको वार्ता निष्कर्षबिहीन सकिएको छ। वार्ताका सहभागी शुक्रबार पुनः फेरि बस्ने भएका छन्।

विराटनगरको एक होटलमा भएको वार्ता सकारात्मक भएको सहभागी दुवैतर्फका प्रतिनिधिले बताएका छन्। वार्तामा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूलगायत सहभागी थिए। उनले पहिलो दिनको वार्ता सकारात्मक भएको भन्दै भोलि फेरि बस्ने सहमतिका साथ सम्पन्न भएको बताए।

संघर्ष समितिका तर्फबाट वार्तामा युवराज राईलगायतको सहभागिता थियो। समितिको वार्ता टोलीले पनि आजको वार्तामा दुवै तर्फबाट आफ्ना कुरा राखिएको उल्लेख गर्दै सकारात्मक भएको जानकारी दिए।

सरकारी टोलीमा जबेगूको संयोजकतत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव छन्।

समितिको तर्फबाट वार्ता टोलीमा डकेन्द्र सिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जम्नेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरीलगायत छन्।

प्रदेशसभाको २०७९ फागुन १७ को बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचानमा आधारित नभएको भन्दै पहिचानवादीहरूले आन्दोलन गर्दै आएका छन्।

प्रकाशित: २५ माघ २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =