मुगुमा घर जल्दा दाजुबहिनीको ज्यान गयो

हिमाल प्रेस २२ माघ २०८० १२:४०
36
SHARES
मुगुमा घर जल्दा दाजुबहिनीको ज्यान गयो प्रतीकात्मक तस्बिर

काठमाडौँ- मुगुको खत्याड गाउँपालिका-२ मा आइतबार राति आगलागीमा परेर दाजुबहिनीको ज्यान गएको छ। लालु सन्ज्यालको घरमा आगो लाग्दा १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झरना सन्ज्यालको मृत्यु भएको वडाध्यक्ष हेमराज मल्लले जानकारी दिए।

उनका अनुसार आगो लागेपछि बहिनी झरना घरबाट निस्किएकी थिइन्। दाइलाई बचाउन भनेर भित्र जाँदा उनी पनि त्यहीँ परेकी थिइन्। आगोले जलेर तीनवटा घर पूर्ण नष्ट भएको छ भने पाँचवटा चौपाया मरेका छन्।

सन्ज्याल परिवारका तीन दाजुभाइको घर जल्दा घरमा रहेका अन्नपातलगायतका सबै सम्पत्ति नष्ट भएको मल्लले बताए। उनले भने, ‘तीन भाइको घर जलेर नष्ट भएको छ। क्षतिको विवरणबारे मुचुल्का उठाउने काम भइरहेको छ।’

गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले राति लागेको आगो सोमबार बिहान प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको बताए। गाउँमा पानीको समस्या रहेकाले आगो निभाउन ढिलाइ भएको थियो। शाहीले आगलागीको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनले भने, ‘आगो घरबाटै निस्किएको भन्ने छ, केकसरी फैलियो भनेर हामी बुझ्दैछौँ।’

प्रकाशित: २२ माघ २०८० १२:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =