गण्डकीमा राष्ट्रियसभा निर्वाचन : गठबन्धन तीनै उम्मेदवार निर्वाचित

विजय नेपाल ११ माघ २०८० १७:१३
20
SHARES
गण्डकीमा राष्ट्रियसभा निर्वाचन : गठबन्धन तीनै उम्मेदवार निर्वाचित

पोखरा– राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका ३ जना उम्मेदवार नै निर्वाचित भएका छन्। बिहीबार भएको मतदानको अन्तिम मतपरिणाममा अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ निर्वाचित भएका छन्। उनले ३ हजार ८ सय ८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन्।

श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिएका थिए। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार प्राप्त गरे। उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए।

राप्रपाका रोमबहादुर भण्डारीले १ सय ६ मत ल्याए। गठबन्धनको स्थानीय तहतर्फ १ जनाले मत क्रस गरेका छन्। यस्तै, अपांगता र अल्पसंख्यकमा क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार निर्वाचित भए। उनले ३ हजार ७ सय ७४ मतभार प्राप्त गरे।

उनले स्थानीय तहतर्फ १ सय १ र प्रदेशसभातर्फ ३५ जनाले मत गरेका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए। उनलाई स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए। अपाङ्गता कोटामा ३ मत बदर भएको छ।

महिला क्लष्टरमा माओवादी केन्द्रकी मनरुपा शर्मा निर्वाचित भएकी छन्। उनले ३ हजार ६ सय ६० मतभार पाएर पाँचौं प्रयासमा सांसद बन्ने सौभाग्य पाएकी हुन्। सहिदपत्नी शर्माले स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ मत प्राप्त गरिन्।

उनका निकटतम् प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाएकी छन्। उनले स्थानीय तहतर्फ ७३ र प्रदेशतर्फ २२ जनाले मतदान गरेका छन्। स्थानीय तहतर्फ गठबन्धनका ५ जना मतदाताले विपक्षीलाई मतदान गरे।

स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो। राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनै पनि मत पाएनन्। प्रदेश सभाका २ सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे।

बिहान ९ देखि ३ बजेसम्म भएको मतदानमा २२९ जनाले मत खसासेका हुन्। कुल २३० मतदातामध्ये बागलुङ ढोरपाटनका मेयर देवकुमार नेपाली अनुपस्थित भए। उनी इमेज सहकारी ठगी अभियोगमा फरार छन्।

मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम आचार्यले बताए। गण्डकीबाट राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका नेकपा (एमाले) का गणेशप्रसाद तिमिल्सिना, एमालेकै दीपा गुरुङ र नेपाली कांग्रेसका प्रकाश पन्थको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ।

प्रकाशित: ११ माघ २०८० १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =