कोशीमा एमालेकी कोइराला विजयी, भयो ‘फ्लोर क्रस’

विवेक विवश रेग्मी ११ माघ २०८० १६:५९
68
SHARES
कोशीमा एमालेकी कोइराला विजयी, भयो ‘फ्लोर क्रस’

इटहरी- कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा महिलातर्फ एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन्। उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी चम्पा कार्कीलाई पराजित गर्दै विजयी भएकी हुन्। उनले ५,०८६ मत प्राप्त गर्दा माओवादीकी कार्कीले ४,९९२ मत प्राप्त गरिन्।

कोशी प्रदेशमा दुई पालिका प्रमुखले मतदानमा भाग लिएनन्। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार अनुपस्थित भए।

साम्पाङले आफू उपमहानगरपालिकाकै काममा व्यस्त भएकोले मतदानमा सहभागी हुन नसकेको प्रतिक्रिया दिए। गच्छदार भने बुधबार राति एक्कासी मुटुसम्बन्धी बिरामी भई विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना भएका छन्।

यता झापा गाउँपालिकाका प्रमुख जयनारायण साह पनि यस निर्वाचनमा भाग लिन पाएनन्। भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण मतदाता नामावलीमा उनको नाम निर्वाचन आयोगले हटाएको थियो।

कोशीमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो। महिला पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी  कार्की र नेकपा एमालेबाट कोइराला, अन्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेलको उम्मेदवारी परेको थियो। कोशीमा १३७ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता थिए।

प्रदेशसभा सदस्यहरूले नै आजको मतदानमा फ्लोर क्रस गरेको पाइएको छ। यहाँ तीन जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेका छन्। त्यस्तै स्थानीय तहका १७ जनप्रतिनिधिले पनि फ्लोरक्रस गरेको पाइएको छ। राष्ट्रियसभा निर्वाचनमा कोशीमा एमाले र राप्रपाले तालमेल गरेका थिए। यहाँ महिलातर्फ राप्रपाले एमालेको उम्मेदवारलाई सहयोग गर्ने र अन्यमा राप्रपालाई एमालेले सहयोग गर्ने गरी तालमेल भएको थियो।

प्रकाशित: ११ माघ २०८० १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =