शिक्षकलाई मोबाइल प्रयोगमा जनप्रतिनिधिको अंकुश

रमेश दवाडी ११ माघ २०८० १६:१९
496
SHARES
शिक्षकलाई मोबाइल प्रयोगमा जनप्रतिनिधिको अंकुश

काठमाडौँ- स्थानीय सरकारहरू विद्यालय समयमा शिक्षकलाई मोबाइल प्रयोगमा कडिकडाउ गर्न थालेका छन्। शिक्षकहरू मोबाइलमा व्यस्त हुँदा बालबालिकाको पठनपाठन र सिकाइ क्रियाकलापमा अवरोध भएको गुनासो बढेपछि विद्यालय समयमा मोबाइल प्रयोगमा कडाइ गर्न थालिएको हो।

पछिल्लोपटक प्यूठानको प्यूठान नगरपालिकामा प्रधानाध्यापकसहितको बैठकले खाजा खाने समयबाहेक अन्य समयमा शिक्षक र विद्यालय कर्मचारीलाई मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइएको छ। ‘कक्षामा शिक्षकले एकेडेमिक काममा भन्दा कुराकानीमै समय बिताउन थालेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो। दिउँसो खाजा खाने समयमा प्रयोग गर्न दिने, विद्यालय समयमा शिक्षक कर्मचारीको मोबाइल सुरक्षितसाथ राख्ने निर्णय भएको छ’, नगरपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले भने।

अभिभावकहरूबाट पनि शिक्षकहरू मोबाइलमा व्यस्त हुँदा सिकाइ गतिविधिमा त्यति ध्यान नदिएको भनेर गुनासो आएको उनले जानकारी दिए। उनले भने, ‘शिक्षकले मोबाइलमा फोन आउनेबित्तिकै पाँचसात मिनेट कुराकानी गरेर समय बिताउ थालेपछि यस्तो निर्णय गर्न बाध्य भयौँ।’

भण्डारीका अनुसार नगरपालिकाले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यालय समयमा मोबाइल फोन प्रयोग नगर्न नगरपालिकाअन्तर्गतका सबै विद्यालयलाई परिपत्र गरेको छ।

भण्डारीद्वारा जारी परिपत्रमा भनिएको छ, ‘खाजा खाने समयबाहेक शिक्षकहरूले कक्षाकोठामा मोबाइल फोनको प्रयोग गर्न नपाइने, सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको मोबाइल फोन प्रधानाध्यापकले सुरक्षित साथ विद्यालयमा राख्ने प्रबन्ध मिलाउने।’

यसअघि धादिङको नीलकण्ठ नगरपालिकाले पनि यस्तै निर्णय गरेको छ। शिक्षक कक्षाकोठामा पस्नेबित्तिकै मोबाइलमा घण्टी बज्ने, बाहिर निस्किएर कुरा गर्दा पाँच-दस मिनेट त्यत्तिकै सकिने, कतिपय शिक्षक त विद्यार्थीलाई कक्षाकार्य गर, यो पाठ पढ भनेर आफूचाहिँ मोबाइल चलाएर बस्न थालेपछि नगरपालिकाले उक्त निर्णय गरेको थियो।

नगरपालिकाको शिक्षा शाखाले पालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक र कर्मचारीलाई विद्यालय समयमा मोबाइल फोन नचलाउने व्यवस्था गर्न प्रधानाध्यापकलाई निर्देशन दिएको छ। निर्देशनअनुसार खाजा खाने समयमा बाहेक शिक्षकले कक्षाकोठामा मोबाइल फोन चलाउन पाउँदैनन्। शिक्षक तथा कर्मचारीको मोबाइल फोन प्रधानाध्यापकले सुरक्षित साथ विद्यालयमा राख्नुपर्छ।

सरोकारवालाहरू भने स्थानीय सरकारबाट कडिकडाउ गर्नुभन्दा शिक्षक आफैँ जिम्मेवार भएमा समस्या नहुने बताउँछन्। शिक्षाविद् प्रा.डा. शोभाखर कँडेल भन्छन्, ‘शिक्षकलाई मोबाइल प्रयोगमा अंकुश लगाउनु गलत छ। यो शिक्षक जिम्मेवार नहुँदाको परिणाम हो।’ उनका अनुसार प्रविधिमैत्री शिक्षाका लागि कक्षाकोठामा स्मार्टबोर्ड राखिएका छन्। त्यसलाई चलाउनका लागि पनि मोबाइल आवश्यक पर्छ।

कँडेल भन्छन्, ‘मोबाइल सदुपयोग गर्न जान्यो सिकाइ गतिविधि अन्तरक्रियात्मक हुन सक्छ। शैक्षिक प्रयोजनका लागि मोबाइल प्रयोग गर्नु भनेको असाध्यै राम्रो हो। स्थानीय सरकारले शिक्षकले कक्षाकोठामा मोबाइल हेरे भनेर रोक्नुचाहिँ उचित होइन।’ स्थानीय सरकारले शिक्षकहरूलाई जिम्मेवारी बनाउन अनुमगन तथा निरीक्षण संयन्त्र प्रयोग गर्नुपर्ने सुझाव उनको छ। डा. कँडेल भन्छन्, ‘मोबाइल प्रयोग रोक्नु समाधानको बाटो होइन।’

काठमाडौँको पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतम पनि शिक्षकलाई कडाइ गर्नुभन्दा शिक्षक आफैँले मोबाइल प्रयोगमा सजगता अपनाउनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘मोबाइल प्रयोगमा निषेध गर्नु भनेको प्रविधिमैत्री सिकाइ गतिविधिलाई रोक्नु हो। शिक्षकले पनि विद्यालय समयमा फेसबुक चलाएर र गेम खेलेर समय बिताउनु हुँदैन।’

प्यूठानका प्रशासकीय अधिकृत भण्डारी मोबाइललाई शैक्षिक गतिविधिमा सहायक सामग्रीका रूपमा प्रयोग गर्न पाउनुपर्नेमा आफूहरू सजग रहेको बताउँछन्। उनी भन्छन्, ‘एकदेखि १२ कक्षासम्म पाठ्यपुस्तकका विषयवस्तुबाहेक बाहिरका कुराहरू मोबाइलबाटै सर्च गरेर तत्काल भनिदिने अवस्था पनि हुँदैन। तयारी गरेर आउने शिक्षकलाई हामीले रोक्दैनौँ।’

प्रकाशित: ११ माघ २०८० १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =