फिल्म अनुभूति

जिम्मेवारी, वियोग र बदलाको कथा ‘चित्रा’

सुस्मिता बजगाईं ६ माघ २०८० १५:१६
134
SHARES
जिम्मेवारी, वियोग र बदलाको कथा ‘चित्रा’

काठमाडौँ– अभि छोरी चित्रालाई एक्लै हुर्काइरहेका छन्। छोरीलाई स्कुल लैजान, ल्याउने, डेरीमा दूध पुर्‍याउन, घरको काम सम्हाल्न उनलाई भ्याइनभ्याइ छ। बेलुका छोरीलाई कथा सुनाउनैपर्‍यो। सुनाउँछन् पनि। सुनाउँदासुनाउँदै निदाइदिन्छन्।

बुबाले सधैँ एउटै कथा सुनाइरहँदा चित्रालाई दिक्क लाग्छ। ‘सुनाउने नयाँ कथा छ तर समय आएपछि सुनाउँछु’, अभि छोरीसँग भन्छन्। त्यो कथा अभिको जीवनको हो। पात्रको नामबाट राखिएको हो फिल्म ‘चित्रा’। चित्राका बाबु हुन् अभि (सन्तोष अधिकारी)।

अभिले एक्लै छोरी हुर्काइरहेका छन् किन? चित्रा उनकै छोरी हो त? पत्नीसँग उनी किन अलग भए? उनीहरूको मिलन हुन्छ कि हुन्न? फिल्मको कथावस्तु यिनै प्रश्नको सेरोफेरामा अगाडि बढेको छ। ठूली भएपछि चित्राले परिवारलाई कसरी एकजुट बनाउँछिन् भन्ने बुझ्नचाहिँ हलसम्म पुग्नुपर्ने हुन्छ।

०००

प्रसंग जोडौँ, फिल्मका पात्रहरूको। फिल्मको कथा बलियो हुन अभिनय पक्ष प्रभावकारी हुनुपर्छ। अभिको भूमिका निर्वाहमा गरेका सन्तोष अधिकारीले यसै फिल्मबाट डेब्यु गरेका हुन्। चित्रा, अभि, मिस रेखा, अभिकी पत्नी सानु, बलदाइ, रुद्र यस फिल्मका पात्रहरु हुन्।

चित्राको भूमिकामा दुई कलाकार छन्- आयुषी ढकाल र सिम्रन खड्का। फिल्ममा चित्रा सुरुदेखि अन्तसम्म देखा परिरहन्छिन्। सानैदेखि चञ्चले, चलाख र संस्कारी चित्रा (आयुषी) आफूलाई कसैले हेपेको, जिस्काएको सहन सक्दिनन्। प्रतिकार गरिहाल्छिन्।
आमाको मायाबिना हुर्किएकी  चित्रा सानैदेखि सहनशीलताकाे विरोधी बनेकी छन्। चित्रालाई स्कुलमा प्रिन्सिपलबाट निकालिदिने चेतावनी पनि नआएको होइन। उनको एक्सन भूमिका हाम्रो समाजको पुरातन सोचविपरीत छ।

हक्की स्वभावकी चित्राको स्कुलमा रुद्रसँगको झगडा पर्छ। त्यसले ठुलो रूप लिएको छ। स्कुलदेखिको इगो लिएर बसिरहेको रुद्रकै कारण ठुली भएपछि अपहरणमा समेत पर्छिन्।

बुबाको कहानी सुनेपछि आफ्नो कर्तव्य पूरा गर्न चित्र (सिम्रन खड्का) सक्रिय देखिएकी छन्। बुबाको नर्स बनाउने सपना पूरा गर्न पोखरा जानु, बिरामी आमालाई नर्स बनेर निको पार्नु र अन्तमा परिवारिक मिलनसम्म चित्राको अभिनय प्रशंसायोग्य छ।

सन्तानको गल्ती नदेख्ने, डाकछोप गर्ने नेपाली समाजलाई रुद्रको आमाको छोटो भूमिकाले गतिलो झापड हानेको छ।

०००

प्रत्येकको अलग-अलग कहानी हुन्छ भनेझैँ अभिको जीवनमा पनि एक फरक कहानी बन्यो। फौजीमा हुँदा अभिको मिल्ने साथी अर्पणले छोरी जन्माएर नर्स बनाउने अनि फ्लोरिन्स नाइटिंगेलले जस्तै घाइते सिपाहीहरूको उपचार गर्ने सपना बुनेका हुन्छ। उनको त्यो सपना अधुरै रहन्छ।

अर्पण र आशा (अञ्जना बराइली)को सन्तान छैन। आफूमा भएको कमजोरी साथी अभिलाई सुनाउँछ र सेरोगेसी बच्चाका लागि मद्दत माग्छ।

छोरी चित्राको जन्म हुन्छ। संयोगवश अर्पण र रेखाको दुर्घटनामा पर्नु, चित्रामात्र बाँच्न सफल हुनु, पत्नी सानु (मेनुका प्रधान) ले अभिलाई तिरस्कार गर्नु, सानु र छोरा रुद्रलाई छोेडेर अभि घरबाट अलग्गिनु अभिको जीवनमा कहानी थपिनु हो।

बाबुले परिवार बचाउन गरेको एउटा संघर्ष, परिवारिक कलह, उतारचढाव नै फिल्मको विषयवस्तु हो। चित्राको अभिभावकीय जिम्मेवारी सम्हालिरहेका अभिले छोरीको हरेक लडाइँमा साथ दिएका छन्।

स्कुलमा साथीसँगको झगडाको कारण अपहरणमा भएकी छोरीलाई बचाउन उनी आफैँ एक्सन भूमिकामा आइपुग्छन्। लामो समयदेखि पारिवारिक फिल्मले तातिरहेकोे नेपाली बजारमा सन्तोष एक्सनलाई फेरि भित्र्याउने प्रयास गरेका छन् तर ब्यागराउन्डमा बजिरहेको साउन्डअनुसार उनी एक्सनमा उत्रिन नसकेको भान हुन्छ।

फिल्मको सुरुवाती दृश्य फिक्का लागे पनि इन्टरभल अगाडि र पछि फिल्मले भिन्नै मोड लिन पुग्छ। दर्शकले कल्पना गरेको भन्दा फरक हुँदै जान्छ। सन्तोष पनि फिल्ममा रमाउन खोजेका छन् तर उनको संवाद फितलो देखिन्छ।

प्रमोद अग्रहरि बदला लिन नकारात्मक भूमिकामा  पोख्त छन्। मध्यान्तरपछि प्रमोदको भूमिकामा दर्शकले अलि बढी नै अपेक्षा गर्छन्।

जिम्मेवारी, वियोग र बदला समेटेर सुखद अन्त्य भएको फिल्मको कथामा केही नयाँपन ल्याउने कोसिस गरिएको छ। कथा भन्ने शैली क्रमबद्ध नभएको हो कि भन्ने महसुुस हुन्छ।

फिल्ममा देखाइएका दृश्य निकै सुन्दर छ। पोखराको मनोरम दृश्य, चारैतिर हरियाली मौसम, कोदोबारी, तोरीबारीले फिल्ममा रोचकता थपेको छ। छोरीप्रति बाबुको उत्तरदायित्व, बाबु-छोरीको भावनात्मक सम्बन्ध, बदलाको कथामा आधारित फिल्ममा समाजमा देखिरहेकै घटना छन्।

‘प्राण बसेको छ छोरी तिमीमा माया त के होर’, ‘जरुरी छैन मायामा अँगालोको सहारा नै मिलोस्, कसैलाई मनभरि महसुस गर्नु पनि माया नै हो’, हामी दुवै अलग भयौँ तिनीहरू कहानी बने, एउटा तिम्रो कहानी, एउटा मेरोजस्ता प्रयोग भएका केही संवादले दर्शकको मन छुन सक्छ।

फिल्ममा महिनावारी हुँदा छुन नहुने, राति ऐना हेर्न नहुनेजस्ता सामाजिक विश्वासमाथि कटाक्ष गर्न खोजिएको छ। चाडपर्वको नक्कली क्रान्तिकारी बनेर सर्वसाधारणलाई लुटेर खाने लुटेराहरूको प्रसंग पनि जोड्न खोजिएको छ।

०००

घनश्याम लामिछाने निर्देशित फिल्म पारिवारिक कथाका आधारित छ। फिल्ममा कलाकार सन्तोष अधिकारी, प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ।

फिल्म मनीष गौतमको पटकथा एवं संवाद लेखनमा बनेको छ। आशिष थापा मगरले लगानी गरेको फिल्ममा महेश पौडेलको छायांकन, बनिश शाह र सन्देश शाहको सम्पादन छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =