कम्पाला पुगे प्रधानमन्त्री

हिमाल प्रेस ४ माघ २०८० १९:४६
14
SHARES
कम्पाला पुगे प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औँ सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्पाला पुगेका छन्। युगाण्डाको स्थानीय समयअनुसार ३ः३० बजे राजधानी काम्पलाको इन्टिबे विमानस्थल अवतरण गरेका हुन्।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन्।

प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका छन्।

शिखर सम्मेलनले मन्त्रिस्तरीय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औं शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुंगो लगाउने बताइएको छ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो। यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा नेपाल सक्रिय रूपमा सहभागी हुँदै आएको छ। असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो। प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान काठमाडौँं आइपुग्ने कार्यक्रम छ।

प्रकाशित: ४ माघ २०८० १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =