२८ पुस, बिहानको साढे सात बजे। मानुषी यमि भट्टराई सवार गाडीले मलाई गुर्जुधारामा कुरिरहेको रहेछ। काठमाडौँको चिसो मौसमको सामना गर्दै हाम्रो यात्रा पूर्वप्रधामन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको गोरखास्थित पुर्ख्यौली घरतर्फ लाग्यो। काठमाडौँ, धादिङ, चितवन, तनहुँको सिमाना हुँदै हामी दिउँसो १ बजे डा.भट्टराईको घर पालुङटार नगरपालिका-१ बेलबासमा पुग्यौँ।
भट्टराई एक साताअघि नै घर गइसकेका रहेछन्। हामी पुग्दा डा. भट्टराई आँगनमा यताउता गरिरहेका थिए। साथमा उनकी श्रीमती हिसिला यमि भट्टराई थिइन्। घरमा धेरै मानिस उपस्थित थिए, छरछिमेक, पार्टीका कार्यकर्ता, आफन्तलगायत।
डा.भट्टराई अचेल प्रायः घर गइरहन्छन्। २०७२ सालको ‘गोरखा भूकम्प’ले क्षति पुर्याएको घरलाई रेट्रोफिटिङ गरेर बलियो बनाएका छन्। घरबारीको राम्रोसँग संरक्षण गरेका छन्। गाउँलेहरूका अनुसार पछिल्ला दिनमा भट्टराईले राजनीतिक चिन्तन, मन्थन र आरामका लागि आफ्नै पुर्ख्यौली घर रोज्न थालेका छन्।
घरवरपर डा.भट्टराईले लगाएका बिरुवा हुर्कँदैछन्। उनी बुढेसकालमा त्यही घरमा गएर बस्ने, अध्ययन गर्ने योजनामा छन्। घरभित्र उनले सोहीअनुसार किताब, आफ्ना विभिन्न समयमा खिचिएका तस्बिर, टेबुलकुर्सी मिलाएर राखेका छन्। घरमा रहँदा डा.भट्टराई छरछिमेकीसँग भलाकुसारी गर्नेबाहेक बाँकी समय अध्ययनमा बिताउँछन्।
डा. भट्टराईको घरसम्म पुग्ने बाटो भने कच्ची छ। पूर्वप्रधानमन्त्री, पूर्वअर्थमन्त्री, प्रभावशाली नेता भएर पनि आफ्नै घर जाने बाटो भने बाबुरामले बनाएनन् भनेर उनका छिमेकीको गुनासो रहेछ।
घरमा गाउँका सहिद परिवार, जेष्ठ नागरिक, युवा, महिला सबैलाई भट्टराईले खाजा खुवाए। घरमा आएका पाहुनालाई आफैँले स्वागत गरी खाना खान अनुरोध गरे। उनले विशेषगरी सहिद परिवारलाई माया गर्दा रहेछन्। बालबालिकासँग रमाउनु भट्टराईको अर्को विशेषता रहेछ।
बेलुकी खाना खाएपछि हामी अबेरसम्म आगो तापेर बस्यौँ। हाम्रो समूहमा डा. भट्टराई, डा. मुक्ति रिजाल, हिसिला यमि भट्टराई, नेपाल समाजवादी पार्टी गण्डकी प्रदेश इन्चार्ज मोती रिजाल, नेपाल समाजवादी पार्टी विधान मस्यौदा समिति संयोजक तथा वरिष्ठ अधिवक्ता कृष्ण शर्मालगायत थियौँ। आगाको न्यानोमा सबैजना गोलो भएर बसेका थियौँ।
आगो ताप्दै राष्ट्रिय राजनीति, नेसपाको भविष्य र नयाँ ढंगबाट अगाडि बढ्ने विषयमा छलफल भयो। पार्टीको आकार सानो भए पनि विचारमा अब्बल भएको दाबी नेताहरूको छ। आगो ताप्ने क्रममा डा. भट्टराईले नयाँ शक्ति पार्टी निर्माणदेखि नेपाल समाजवादी पार्टीसम्म आइपुग्दा विभिन्न मानिसले साथ दिएको र छाडेको प्रसंग सुनाए।
डा. भट्टराईले आफू राजनीतिक रूपमा कठिन बिन्दुमा पुगेको संकेत गरे। हिजो भट्टराईकै पहलमा जोजो राजनीतिको केन्द्र र शक्तिमा पुगे तिनीहरूले मुलुक र जनताको जीवनमा परिवर्तन हुने गरी काम गर्न नसकेको गुनासो उनको रहेछ। साथै त्यस्ता व्यक्तिहरूले आफूलाई साथ नदिँदा भट्टराई निराशजस्ता देखिए। पार्टीका केही मानिसले पार्टीलाई सिध्याउन लागेको भन्दै चित्त दुखाए। यद्यपि उनले हार मानेका भने छैनन्। उनी परिवर्तनका लागि अझै केही गर्नुपर्छ भन्नेमा अडिग देखिए। बिहानदेखि राति अबेरसम्मको सक्रियताले पनि त्यही पुष्टि हुन्थ्यो।
कुराकानीकै क्रममा भट्टराईले भने, ‘हामी पहिलोचोटि कठिन बिन्दुमा पुगेका छौँ। काठमाडौँबाट हामी महेन्द्रनगर हिँडेको कोही थानकोटमा ओर्लनुभयो, कोही मुग्लिनमा ओर्लनुभयो। कोही बागलुङतिर लाग्नुभयो। अहिले हामी नारायणघाट पुगेका छौं। पूर्व जाने साथीले त्यहाँ ओर्लिए भइहाल्छ नि! गाडी लैजान्छु भन्न पाइन्छ? हाम्रो गाडी महाकाली हिँडेको हो। सबै मानिस आफ्नो गन्तव्यमा ओर्लिएर जानुभएको छ। हामीले कसैलाई केही भनेका छैनौँ। हामीले ढाँटेका छैनौँ। काठमाडौँबाट हिँड्ने बेलैमा चाँदनीदोधारा जाने भनेका हौँ। अचम्मको कुरा, हुँदै नभएको कुरा भएको छ।’
भट्टराईले पार्टीको अवस्थाका बारेका बताइरहँदा छेउछाउका मानिसले गम्भीर भएर सुनिरहे। आगो तापिरहेका मध्येबाट एउटा प्रश्न तेर्सियो, ‘महाकाली जाने हाम्रो यात्रालाई बिथोल्ने अहिले पनि कोही छ र?’ भट्टराईले भने, ‘मंसिरमा भएकै त्यही हो। साथी हो, यसरी हुँदैन। हामी जाने महाकाली हो भन्दा धेरैजसो साथीहरू धरमराउनुभयो।’
यत्तिकैमा कुराकानी सकियो। हामी थाकेका थियौँ। अनि आआफ्नो बिस्तरातिर लाग्यौँ।
२९ पुस शनिबार। मौसम काठमाडौँको भन्दा चिसो रहेछ। बिहानीपख हुस्सुकुहिरो लागेर केही देखिँदैनथ्यो। डा.भट्टराईसँग अन्तर्वार्ता लिन केही पत्रकार घरमै आए। कसैले छोरी मानुषीको पनि अन्तर्वार्ता लिए। बिहान चिया, खाजा र केही घण्टापछि खानाको व्यवस्था भयो। भट्टराई, हिसिला, मानुषीलगायत सबैले पिँढीमा लहरै बसेर खाना खाए।
खानापछि हाम्रो यात्रा ठाँटीपोखरीतर्फ लाग्यो। ठाँटीपोखरीमा नेपाल समाजवादी पार्टी जिल्ला समन्वय समितिले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको रहेछ। कार्यक्रममा नेसपा गोरखाका प्रायः सबै नेताकार्यकर्ता उपस्थित थिए। अन्तरक्रियामा पनि धेरैले पार्टीको अवस्थाबारे अध्यक्ष भट्टराईलाई प्रश्न गरे।
भट्टराईले निराश नभई निरन्तर पार्टीको संगठन निर्माणमा लाग्न आग्रह गरे। उनले भने, ‘हामी समाजवादी बाटोमा निरन्तर छौँ। बीचमा केही समय अरूलाई नेतृत्व दिँदा हामी बिग्रेका हौँ। अब त्यस्तो हुँदैन। सपना देख्नैपर्छ। हामी विचारमा ठिक छौं। तपाईंहरू नआत्तिनुहोला। हिम्मत र आँट गरेर हिँड्नुहोस्।’
अन्तरक्रियामा डा.मुक्ति रिजाल, मानुषी यमि भट्टराई, कृष्ण शर्मा, मोती रिजाल, यानप्रसाद भट्टलगायतले सम्बोधन गरे। झन्डै तीन घण्टा अन्तक्रिया कार्यक्रम भयो। त्यसपछि चियाखाजा खाएर डा.भट्टराई ठाँटीपोखरीमा निर्माण भइरहेको बसपार्क, बहुउद्देश्यीय भवन, खानेपानी आयोजनालगायतका पूर्वाधारका कामको निरीक्षणमा गए। विकासका काम अघि बढिरहेकोमा डा.भट्टराईले सन्तुष्ट देखिए। उनले भने, ‘पालुङटार नगरपालिका वडा नं. ५ का अध्यक्ष दीपक पाण्डेलगायतका व्यक्तिहरूको क्रियाशीलता प्रशंसायोग्य!’
कार्यक्रम सकेर हाम्रो यात्रा लिगलिगकोट दरबारतर्फ लाग्यो। त्यतिबेला अपराह्न ४ बजेको थियो। लिगलिगकोट गोरखाको ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो। द्रव्य शाहको दरबार नभए पनि दरबारको भग्नावशेष छ। कोट आसपासमा भत्किएर भग्नावशेष बनेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका ससाना देवीदेवताका मन्दिर छन्। मर्स्याङ्दी र चेपे नदीको संगमस्थल चेपेघाटदेखि लिगलिगसम्म दौडेर प्रथम हुने व्यक्ति एक वर्षका लागि राजा बन्ने परम्परा यहाँ प्रख्यात छ।
घाम छँदै डा.भट्टराईसहित हामी सबैजनाले लिगलिगकोट दरबारको अवलोकन गर्यौँ। अवलोकनपछि डा.भट्टराईले नाति युगीन, छोरी मानुषी र आफूसहितको तीन पुस्ताको तस्बिर सामाजिक सञ्जालमा राखेर आवश्यकताअनुसार युगको सुरुआत हुने बताए।
भट्टराईले भने, ‘लिगलिगकोटमा हाम्रो तीन पुस्ता! जिजुबाजे (गजानन भट्टराईलगायत) ले त्यसबेलाको सामन्तवादी युगको ऐतिहासिक आवश्यकताअनुसार वंशानुगत राजतन्त्र यहीँबाट सुरु गरे। हाम्रो पुस्ताले आधुनिक पुँजीवादी युगको आवश्यकताअनुसार संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ। भावी पुस्ताले भोलिको समाजवादी युगको आवश्यकताअनुसार अझै उन्नत सहभागितामूलक र प्रत्यक्ष लोकतन्त्रमा आधारित समाजवादी गणतन्त्रको विकास र अभ्यास गरोस्। समाज इतिहासको नदी निरन्तर अघि बढ्छ, पछि फर्कँदैन।’
लिगलिगकोट दरबार अवलोकन गर्दागर्दै साँझ पर्यो। झन्डै २० जना बास बस्नुपर्ने थियो। दरबारमुनि रहेको लिगलिगकोट होमस्टेमा हाम्रो बेलुकी बास भयो। होमस्टे पालुङटार नगरपालिका-२ खोल्लीमा छ। होमस्टे सञ्चालक दाजुभाइ दिदीबहिनीहरूले फूलमालाले स्वागत गरे। कोदोको सेल, मकैभटमास, गुन्द्रुकको अचारसहित उनीहरूको स्थानीय खाना खुवाए। होमस्टेका घरहरू छरिएर रहेकाले हामी पनि छरिएरै बास बस्यौँ।
डा.भट्टराई केही परको घरमा बास बसेका थिए। बिहान हामी सबै त्यहीँ भेला भयौँ। डा.भट्टराई, डा.मुक्ति रिजाल, हिसिला यमि, मोती रिजाल, कृष्ण शर्मा, यानप्रसाद भट्ट पार्टीको विषयमा गम्भीर ढंगले कुरा गर्नुभयो। त्यसलाई लिगलिगकोट बैठकभन्दा पनि फरक पर्दैन।
गण्डकी प्रदेश इन्चार्ज मोती रिजालले पार्टीको प्रदेशको अवस्थाबारे रिपार्टिङ गरे। यानप्रसाद भट्टले जिल्लामा पार्टीको अवस्थाबारे अध्यक्ष भट्टराईलाई जानकारी गराए। डा. भट्टराईले आगामी पार्टी यात्राको विषयमा सुझाव मागे। कृष्ण शर्माले देशैभरका नेसपाका नेताकार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने सुझाव दिए। डा. मुक्ति रिजालले ‘नेसपा’ नाममा पनि पुर्नविचार गर्न आग्रह गरे। डा. भट्टराईले निराशाजनक कुरा नगर्न र पार्टी निर्माणमै जोड दिनुपर्ने दोहोर्याए।
अन्त्यमा नयाँ शक्ति पार्टीकै सिद्धान्त ‘पाँच स’ (समतामूलक समृद्धि, समानुपातिक, समावेशी, सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, समुन्नत समाजवाद, स्वाधीनता र सार्वभौमसत्ता) भनेर सुरुदेखि अहिलेसम्म भनिएको छ त्यसमै टेकेर अगाडि बढ्ने कुरा भयो।
बाबुरामलाई के भन्छन् गाउँले?
बाबुरामले जीवनको लामो समय अध्ययन र राजनीतिमा बिताए। देशको प्रमुख कार्यकारी पनि भए। अब बाबुरामबाट के अपेक्षा छ? बाबुरामले के गरिदिए हुन्थ्यो जस्ता प्रश्न कृष्ण शर्मा र मैले भट्टराईका गाउँबासीमाझ राख्यौँ। उनीहरूले अझै पनि बाबुरामबाट धेरै अपेक्षा राखेको बताए। कसैले स्थानीय समस्या सुनाए कसैले राष्ट्रिय।
बाबुरामका स्कुले साथी सीताराम देवकोटा : उहाँले गरेका हरेक काम सफल भइदिए हुन्थ्योजस्तो लाग्छ। उहाँ एउटा वैज्ञानिक पनि हो। देशमा सुशासन आएहुन्थ्यो भन्ने लाग्छ। हाम्रो देशमा संकटकाल नआओस्। जनयुद्ध नहोस्। देशमा उन्नति र प्रगति होस्। उहाँले बोलेको पुगोस्।
लक्ष्मीनाथ जोगी : हामीलाई जाती हुन्छ। यो जिल्लामा बाबुराम भट्टराईबाहेक अरू गतिला नेता छैनन्। चुनावमा बाबुरामले भनेकै चिह्नमा भोट हालेका हौँ।
नेपाली कांग्रेसका वडासभापति रेशमबहादुर थापा : बाबुराम भट्टराई गाउँमा बस्दा केही न केही प्रभाव पर्छ। गाउँ फर्केर आउने, गाउँमा सेवा गर्ने भनेपछि गाउँका मानिस यसै खुसी हुन्छन्। उहाँबाट परामर्श, सल्लाहको अपेक्षा राख्छौँ। उहाँको सक्रिय जीवन छउन्जेल परामर्श दिनेभन्दा अरू के रहन्छ र? बाबुराम भट्टराई प्रधानमन्त्रीभन्दा पनि अर्थमन्त्री भएको बेलामा गोरखामा विकासका काम भएका हुन्। गोरखाले केही पाएको हो। तुलनात्मक रूपमा अरूअरू प्रधानमन्त्रीहरूको जिल्लामा चाहिँ होइन। साँच्चैभन्दा उहाँले गाउँ बनाउन सक्नुभएन। आफू घर आउने बाटो बनाउन सक्नुभएन। प्रधानमन्त्री भएपछि सबै काम आफूले गर्नुपर्छ भन्ने होइन। उहाँ त राज्यको प्रधानमन्त्री हो। सबै क्षेत्रमा समानुपातिक विकासमा जोड दिनुपर्छ भनेर नमुनाका रूपमा उहाँ जानुभयो। नेपालमा काम गर्ने मानिसलाई ठाउँ दिँदैनन्।
पर्शुराम खड्का : उहाँ गाउँ बस्छु भन्दा हामी खुसी नै छौँ। सहर पसेर राजनीति गरे पनि हामी खुसी नै। गाउँको मान्छे। किसानको छोरा हो। बाल्यकालमासँगसँगै बाख्राबस्तु हेरेर हिँडेको मान्छे। ८/९ वटा भैँसी थिए। गाई थिए। १०/१२ वटा। त्यस्तो नि हेर्नुभयो उहाँले।
बमबहादुर खड्का : उहाँ गाउँ आएर बस्दा हामी खुसी हुन्छौँ। उहाँले गाउँमा विकासको एउटा पाटोलाई मात्र हेर्नुभयो। हामीलाई हेर्नुभएन। पानीको दुःख छ। घरमा बुढाबुढीमात्र छौँ।
प्रत्यक्ष निर्वाचित कार्यकारी नभएसम्म राजनीतिक स्थिरता हुँदैन : डा. बाबुराम भट्टराई [अन्तर्वार्ता]
प्रविधिको प्रयोग गरेर संगठन विस्तारमा लाग्न कार्यकर्तालाई बाबुराम भट्टराईको निर्देशन