प्रविधिको प्रयोग गरेर संगठन विस्तारमा लाग्न कार्यकर्तालाई बाबुराम भट्टराईको निर्देशन

हिमाल प्रेस २९ पुष २०८० १९:५३
340
SHARES
प्रविधिको प्रयोग गरेर संगठन विस्तारमा लाग्न कार्यकर्तालाई बाबुराम भट्टराईको निर्देशन

गोरखा- नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा.बाबुराम भट्टराईले निराश नभई पार्टीको संगठन निर्माण र विस्तारमा कटिबद्ध भएर लाग्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन्। पालुङटारमा आइतबार नेसपा जिल्ला समन्वय समितिले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डा. भट्टराईले प्रविधिको युगमा त्यसको प्रयोग गरेर पनि संगठन निर्माणमा लाग्न आग्रह गरेका हुन्।

‘संगठन निर्माणमा लागौं। आईटीको युग छ। नअतालिन, नआत्तिन र निराश नभई निरन्तर लाग्नुहोस्। समृद्धि सम्भव छ,’ अध्यक्ष भट्टराई भन्छन्, ‘हामी समाजवादी बाटोमा निरन्तर छौं। बीचमा केही समय अरूलाई नेतृत्व दिँदा हामी बिग्रेको हो। अब त्यस्तो हुँदैन। सपना देख्नैपर्छ। हामी विचारमा ठीक छौं। भ्रष्टाचार नियन्त्रण गरेर १५/२० वर्षभित्र विकास र समृद्धि ल्याउनैपर्छ। तपाईंहरू नआत्तिनुहोला। हिम्मत र आँट गरेर हिँड्नुहोस्।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले २०८४ सालको चुनावमा गोरखामा नेसपाको विजयी सुनिश्चित हुने गरी त्यसको तयारीमा अहिलेदेखि नै लाग्न पनि नेताकार्यकर्तालाई निर्देशन दिए।

त्यसैगरी अध्यक्ष भट्टराईले तत्कालीन नयाँ शक्ति पार्टीमा जोडिएर अहिले निष्कृय तथा कुनै पार्टीमा लागेका मानिसहरूलाई पनि घर फर्किन अनुरोध गरे। पार्टीको नाम फरक भए पनि आफूले नयाँ शक्तिकै एजेन्डा लिएर हिँडिरहेको बताए। उनले भने, ‘हिजो नयाँ शक्तिमा आएउनुभएका घर फर्किनुहोस्। पार्टीले उचित जिम्मेवारी दिन्छ। देशभरबाट धेरै साथीहरू फर्किनुभएको छ।’

अन्तरक्रिया कार्यक्रममा डा.मुक्ति रिजालले स्थानीय सरकारको महत्त्वबारे सहभागीहरूलाई बुझाए। उनले प्रदेश सरकारजस्तो कमजोर स्थानीय सरकार हुने हो भने जनताको काम गर्न नसक्ने तर्क गरे। उनी भन्छन्, ‘प्रदेश सरकारजस्तो कमजोर स्थानीय सरकार भए जनताका काम गर्न सक्दैन। प्रदेश सरकारको अधिनमा स्थानीय तह भइदिएको भए राम्रो हुने थिएन। सुरक्षित हुने थिएन।’

नेपाल समाजवादी पार्टी विधान मस्यौदा समिति संयोजक तथा वरिष्ठ अधिवक्ता कृष्ण शर्माले राज्यको मुख्य अंग न्यायपालिकाको पुनर्संरचना हुन नसक्दा जनताले न्याय पाउन नसकेको जिकिर गरे। संविधानले जनतालाई प्रदान गरेको अधिकारहरू झन्झटिलो कार्यविधिका कारण अलपत्र परेको बताउँदै न्यायपालिकामा बिचौलियाहरू हाबी भएको बताए। अहिले न्याय किनबेचको वस्तु भइरहेको पनि शर्माले दाबी गरे।

नेसपा आईटी विभाग प्रमुख मानुषी यमि भट्टराईले सामाजिक सञ्जालको दुर्बल पक्षलाई बेवास्ता गर्दै सबल पक्षमा ध्यान दिनुपर्ने बताइन्। अन्तरक्रिया कार्यक्रममा मानुषीले आईटीको माध्यमबाट पार्टीका सबै गतिविधि प्रयोग गर्न आग्रह गरिन्। उनले भनिन्, ‘आईटीको माध्यमबाट पार्टीका सबै समितिहरूको गतिविधिको प्रयोग गरौं। सामाजिक सञ्जालबाट समसामयिक विषय जानकारी रहन सकिन्छ। पार्टीको वेबसाइट छ। त्यहीँबाट सदस्यता लिन सकिन्छ।’

उनले कार्यक्रममा सामाजिक सञ्जालले शक्तिशाली र कमजोर दुवै बनाइरहेको पनि बताइन्। सामाजिक सञ्जालबाट राजनीतिलाई सतह रूपमा लिने खतरा पनि उत्तिकै भइरहेको बताइन्। ‘हामीले सामाजिक सञ्जालको दुर्बल पक्षलाई बेवास्ता गर्दै सबल पक्षमा ध्यान दिनुपर्छ,’ उनले भनिन्।

नेसपा गोरखा अध्यक्ष यानप्रसाद भट्टले पार्टी जोगाउन सबै लाग्नुपर्ने बताए। उनले भने,‘आत्तिएर हुँदैन। पार्टी जोगाउन सबै लाग्नुपर्छ। फागुनमा स्थानीय अधिवेशन हुन्छ। त्यसको तयारीमा रहनुहोला।’

प्रकाशित: २९ पुष २०८० १९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =