सोमबारदेखि पोखरामा टाइगर कप : भारत र श्रीलंकाको टिम पनि सहभागी

हिमाल प्रेस २९ पुष २०८० १६:२५
16
SHARES
सोमबारदेखि पोखरामा टाइगर कप : भारत र श्रीलंकाको टिम पनि सहभागी

पोखरा- टाइगर ग्रुप अफ पोखरा नेपाल आयोजनामा सोमबारदेखि सुरु हुने चौथो टाइगर कपमा भारत र श्रीलंकाको टिमले पनि भाग लिँदैछन्। पोखरा रंगशालामा १–६ माघसम्म हुने चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ६ गरी १२ टिमले भाग लिने संस्थाका अध्यक्ष नारायण शर्माले बताए।

तीमध्ये पुरुषतर्फ श्रीलंकाको आर्मी टिम र महिलातर्फ भारतको हरियाणा कलबले प्रतिस्पर्धा गर्ने उनले बताए। लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा पुरुषतर्फ श्रीलंकाको आर्मी टिमसहित काठमाडौंको हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, विभागीय नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबले भाग लिने छन्।

यस्तै, महिलातर्फ भारतको हरियाणा क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड महिला भलिबल टिम, घरेलु गण्डकी प्रदेश भलिबल संघसँगै विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबले भाग लिने छन्।

गण्डकीको पुरुष र महिला टिममा ३-३ जना भारती खेलाडी पनि सम्मिलित छन्। तीमध्ये भारतीय राष्ट्रिय टिमका क्याप्टेन वीनितकुमार चौधरीसमेत मैदान उत्रिदैछन्। हेल्प नेपाल स्पोर्टस् क्लबबाट पाकिस्तानी राष्ट्रिय टिमका उपाध्यक्ष क्याप्टेन मोहमद कासिवसहित ३ पाकिस्तानी खेलाडी र भारतको हरियाणा महिला टिमको नेतृत्व भारतीय राष्ट्रिय महिला टिम क्याप्टेन मिनिमोल अब्राह्मले गर्दै छिन्।

पुरुष र महिला दुवैतर्फ विजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन्। तेस्रोले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताए।

सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार ५ सय ५५ सहित सिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ। विधागततर्फ विजेता खेलाडीलाई एक्सटिइपी फेसनको तर्फबाट आकर्षक जुत्ता उपहार दिइनेछ। जसमा उत्कृष्ट सर्भर, सेटर, बलकर, लिब्रो, स्पाइकर र कोच रहेका छन्। दर्शकलाई प्रवेश टिकट आधारमा सामसुङ मोबाइल प्रदान गरिने प्रतियोगिता संयोजक दीपक कार्कीले बताए।

प्रतियोगिता आयोजना गर्दा करिब १ करोड रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ। खर्चको जोहो प्रायोजक र आर्थिक सहयोग हुनेछ। प्रतियोगिताबाट बचत रकम स्वास्थ्य, खेलकुद, शिक्षा र सामाजिक सेवामा लगाउने जनाइएको छ। ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निशुल्क हेर्न र छुट्टै प्यारापिट व्यवस्था छ।

प्रतियोगिता सफल पार्न आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

प्रकाशित: २९ पुष २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 5 =