टाइगर कपमा पुरुषतर्फ एपीएफ र गण्डकी फाइनल भिड्ने

हिमाल प्रेस १३ माघ २०७९ १९:१५
8
SHARES
टाइगर कपमा पुरुषतर्फ एपीएफ र गण्डकी फाइनल भिड्ने

पोखरा– घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लबले टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि भिडन्त सुनिश्चित गरेका छन्।

पोखरा रंगशालामा शुक्रबार सेमिफाइनलमा गण्डकीले विभागीय त्रिभुवन आर्मी क्लबको चुनौती सोझो सेटमा पन्छ्याउँदै फाइनलमा पुगेको छ। पहिलो सेट २५-२३ ले जितेको गण्डकीले दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-१६ ले जितेको हो। खेलमा गण्डकीका विवश आले म्यान अफ दि म्याच बने। उनले ५ हजार नगद पुरस्कार प्राप्त गर्दा घनश्याम चौधरी बेस्ट स्पाइकर बन्दै ३ हजार गिफ्ट ह्याम्पर प्राप्त गरे।

यस्तै, अर्को सेमिफाइनलमा विभागीय एपीएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको छ। उसले २५-१०, २५-२१ र २५-१८ सेटमा जीत हात पारेको हो। खेलमा एपीएफका टेकराज अवस्थी म्यान अफ दि म्याच र विजय थापा वेष्ट स्पाइकर बने। पुरुषतर्फ ६ टिमले भाग लिएका थिए।

महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब फाइनलमा पुगिसकेका छन्। बिहीबार पहिलो सेमिफाइनलमा एपीएफले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो भने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले न्यु डायमन्डलाई ३-१ को सेटमा हराउँदै एपीएफसँग फाइनल भेट सुनिश्चित गरेको हो। दुवै इभेन्टको फाइनल शनिबार हुनेछ।

शुक्रबार महिलातर्फ तेस्रो स्थानको लागि भएको खेलमा न्यु डायमन्डले बाजी मार्‍यो। गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै ऊ तेस्रो बनेको प्रचार संयोजक इन्द्र पौडेलले जानकारी दिए।

महिला-पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई ५/५ लाख र उपविजेतालाई २ लाख ५० हजार, तेश्रोलाई १ लाख २५ हजार र सान्त्वनालाई ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ।

महिला तथा पुरुषतर्फ उत्कृष्टले जनही २५ हजार प्राप्त गर्नेछन्।

प्रकाशित: १३ माघ २०७९ १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 15 =