सुरु भयो पोखरा महोत्सव

हिमाल प्रेस २६ पुष २०८० १९:३०
14
SHARES
सुरु भयो पोखरा महोत्सव

पोखरा- युनाइटेड क्लब आयोजनामा बिहीबारदेखि १२ औं पोखरा महोत्सव सुरु भएको छ। अमरसिंह चौरमा आयोजित समारोहमा महोत्सवको प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले उद्घाटन गरे।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने बताए। ठूलो लगानीमा विमानस्थल निर्माण भएको भए पनि सञ्चालनको एक वर्ष पुगिसक्दासमेत अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दु:खद् भएको उनको भनाइ छ।

गण्डकी प्रदेशसभा उपसभामुख बिनाकुमारी थापाले युनाइटेड क्लबले राज्यको पहुँच नपुगेको क्षेत्रमा सामाजिक काम गरी जनतालाई सहयोग गरेको बताइन्।

प्रतिनिधि सभा सदस्य शिव नेपालीले आर्थिक चलायमानमा महोत्सवले सहयोग गरेको बताए। उनले यसको सिको अन्य संघसंस्थाले गर्नुपर्ने बताए।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पोखरा महोत्सवले देशको कला संस्कृति बचाउने बताउँदै पोखरा महोत्सवसँग सहकार्य गरेर प्रदेशको कला संस्कृतिको संरक्षणमा लाग्ने समेत बताए।

प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य वेदबहादुर गुरुङले पोखरा महोत्सवले महोत्सवबीचमा पनि छुट्टै पहिचान बनाउन सफल भएको बताए। गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले राज्यले गर्नुपर्ने काम युनाइटेड क्लबले गरेको बताए।

कास्कीका प्रजिअ बासुदेव घिमिरेले महोत्सव विशेष उद्देश्यका साथ आयोजना हुने र पोखरा महोत्सवको पनि आफ्नै उद्देश्य रहेकाले महोत्सवमार्फत विभिन्न जनचेतनामूलक क्रियाकलापसमेत सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

यसअघि पोखरा रंगशाला गेटबाट सुरु झाँकी र्‍ यालीमा र्‍यालीतर्फ ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय प्रथम, नेपाल मगर संघ माटेपानी द्वितीय, जनप्रिय तमु समाज तथा वातावरण समाज सुधार तृतीय र स्यानी मजुवा आमा समुह र बुद्धचोक महिला समूह सान्त्वना भए।

झाँकीतर्फ डढुवा दुर्छा लम्जुङ पोखरा तमु समाज प्रथम, नेपाल मगर संघ रामबजार दोस्रो, तामाङ बौद्ध समाज तृतीय र सिद्धेश्वर भजन मण्डली र रामबजार ताया मचा समितिले सान्त्वना स्थान हासिल गरे। झाँकी तथा र्‍याली तीन सय बढी संघसंस्थाले भाग लिएका थिए।

पुस २६ देखि माघ ८ सम्म सञ्चालन हुने यो महोत्सवमा करिब २३० स्टल रहनेछन्, जसको साढे २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा छ।

महोत्सवबाट बचत रकम शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन र सेती नदी संरक्षणमा लगाउँदै आएको आयोजकले यसपालिको आम्दानी पनि लेखनाथको अर्चलेमा विपन्न विद्यार्थीका लागि आवासीय छात्राबास निर्माण र सेती नदी एक पर्यटकीय गन्तव्य निर्माणका लागि रकम छुट्याउने जनाएको छ।

कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितिर पुर्‍याउने महोत्सवको मूल उद्देश्य रहेको महासचिव दिनेश सुनारले बताए। साथै सूचना प्रविधिबारे जानकारी, प्रदेशका पर्यटकीयस्थल एवं उत्पादित वस्तुको बजारीकरण, कलाकारे प्रस्फुटनमा सहयोग पुर्‍याउने, विभिन्न जाति/जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादन, हस्तकला सामानको प्रदर्शनी एवं बिक्री, पर्यटन प्रवर्द्धनका सामग्री प्रदर्शनी एवं जानकारी दिइनेछ।

हिमाली भेगमा पाइने याक अवलोकन महोत्सवको प्रमुख आकर्षण हुनेछ। आयोजकले राष्ट्रियदेखि स्थानीय कलाकारको दैनिकरुपमा प्रस्तुति रहने जनाएको छ। साँझ कन्सर्ट हुने महासचिव सुनारले बताए।

प्रकाशित: २६ पुष २०८० १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =