नाटक अनुभूति

पगला घोडा : बाँचे पो संसार देख्न पाइन्छ

सुस्मिता बजगाईं २५ पुष २०८० १६:०१
194
SHARES
पगला घोडा : बाँचे पो संसार देख्न पाइन्छ तस्बिरहरू : दिपेश श्रेष्ठ

काठमाडौँ– चारैतिर अँध्यारो छ। मञ्चको कुनामा ‘शुद्ध खाने पानी’ लेखिएको धारो, छेउमा घाटसेवा पसलको मूल्यसहितको सूची, अर्को छेउमा मुर्दा व्यवस्थापन समिति। बीचमा झ्यालसहितको इँटाको पर्खाल र पाटी। त्यसअगाडि बालुवाको बगर।

तल मसानघाटमा लासमाथि दनदनी राँको बलिरहेको आवाज सुनिन्छ। त्यही पाटीमा चकटी बिच्छ्याएर चारजना साथी तास खेल्न व्यस्त छन्, लास कहिले जलिसक्ला अनि घर जान पाइएला भनेर पर्खिरहेकाहरू ।

त्यत्तिकैमा एउटी युवती वरिपरि घुमिरहेकी हुन्छे क्रिम रङको सादा कपडामा। आफ्नो पहिचान र कथाबारे प्रश्न गरिरहेकी छे। ‘हरेक मान्छेभित्र आफ्नै कथा हुन्छ। एउटा मान्छेको एउटा कथा, एउटा रहस्य…’ युवती एकोहोरो बोलिरहन्छे।

यो मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘पगला घोडा’ को सुरुवाती दृश्य र संवाद हो। मञ्चबाट दाहिनेतिरको रापले जलिरहेको लासको संकेत गरेको छ। नाटकमा चार पात्र छन् ठेकेदार शेखर (प्रमोद अग्रहरि),  कपिल कम्पाउन्डर (आशान्त शर्मा), हुलाकी (विजय ताम्राकार) र शिक्षक अशोक (बिम्ब अधिकारी)। उनीहरू आत्महत्या गरेर मरेकी एक अञ्जान केटीको मलामीमा भेला भएका हुन्।

अर्की एक महिला पात्र छिन् मलिका महत। जसको नाटकमा अनेक रूप छन्। उनी कहिले सपना, कहिले लक्ष्मी त कहिले माया र जलिरहेकी युवतीको भूमिकामा मञ्चमा आइरहन्छिन्। फरक यतिमात्रै हो- सपना, लक्ष्मी र माया पात्रमा उनी दोहोरो संवाद गर्छिन्। प्रेमीको स्मरणमा देखिन्छिन्। तर जलिरहेकी युवतीको भूमिकामा उनी एकोहोरो बोलिरहन्छिन् अदृश्य भएर।

घाटमा रहेका चारजना पीडा भुलाउन त्यहाँ भेला भएझैँ देखिन्छन्। रक्सी पिउँदै उनीहरू जलिरहेको लासबारे प्रसंग निकाल्छन्,  त्यो युवतीको मृत्युको। उनीहरू युवतीको मृत्युको कारण खोज्न थाल्छन्। युवती भने आफ्नो पीडा-वेदनाभन्दा ती चार पुरुष पात्रबीचको रमाइलो र लुकाउन खोजेको कथा भन्न आग्रह गरिरहन्छिन्। यो नाटकको मुख्य पक्ष हो।

जब युवतीको बाल्यकाल, बढ्दो उमेर, सम्बन्ध, सम्बन्धबाट अलग्निुको परिस्थिति र मृत्युको रहस्यको पर्दा खुल्दै जान्छ तब ती पुरुष पात्र आफ्नो विगततिर फर्किन्छन्। कलिलै उमेरमा ती युवती मृत्यु रोज्न किन बाध्य भइन्? को हुन् सपना, लक्ष्मी र माया? किन युवती ती साथीहरूलाई आफ्नो कथा भन्न आग्रह गरिरहेकी छिन्? नाटक यही कथाको सेरोफेरोमा घुमेको छ।

ती युवतीको कथा तीनै साथीहरूको प्रेममा जोडिन्छन्। जीवनमा आइपर्ने विभिन्न उतारचढाव सहन नसकेर चारै महिला पात्रले अल्पायुमै आत्महत्याको बाटो रोजेका छन्? के आत्महत्या नै अन्तिम विकल्प हो त? यिनै प्रश्नको जवाफमा पात्रहरूले मसानघाटमा रक्सी पिउँदापिउँदै नाटक सकिएको छ।

नाटकमा प्रेमका विभिन्न रूप देखिन्छन्। धनी-गरिबबीचको प्रेम, वात्सल्य प्रेम, मध्यमवर्गीय र उच्च वर्गीयबीच प्रेम, नोकर र मालिकबीचको प्रेम। पात्रहरूको प्रेमकथा सुन्न र उनीहरू प्रेममा सफल भए/भएनन् बुझ्न मण्डलामै पुग्नुपर्ने हुन्छ।

मलिका महतले धनी युवती, नोकर्नी, मृत आत्माजस्ता पात्रको भूमिकामा अभिनय गरेकी छन्। एउटै व्यक्ति मञ्चमा चार पात्रको भूमिकामा प्रस्तुत हुनु चुनौतीको काम हो। पुरुष पात्रहरू आफ्नो कथा सुनाइरहन्छन्। कथामा उनी प्रेमिमा बनेर स्मरणमा आउँछिन्।

पात्रअनुसार उनी गलामा सलमात्र परिवर्तन गर्छिन्। यसले कथा एउटै पात्रको हो कि नयाँ भनेर दर्शक दोधारमा पर्छन। उनका लागि पर्याप्त समय छ तर यो दृश्य हेर्दा दर्शकलाई दिक्क लाग्न सक्छ। त्यसैले प्रश्न उठ्छ, निर्माण टिमले पात्रमा कन्जुस्याइँ गरेको हो या पहिरनमा? मञ्चपछाडि एक दर्शक कानेखुसी गर्दै थिए ‘ए उही केटी रहेछ, अनि पहिरन पनि एउटै। उनलाई समय थियो नि त कपडा परिवर्तन गर्ने।’ यस्तै यस्तै।

अभिनेत्री मलिकाको डेब्यु नाटकमै धेरै भूमिका भएर होला मञ्चमै प्रतिक्रिया आएको। त्यसमाथि मलिकाको तिखो स्वर। उनी संवाद छिटोछिटो बोलिरहेकी हुन्छिन्। दर्शकलाई बुझ्नै  गाह्रो। पहिलोपटक नाटकको कथा बुझ्न हम्मेहम्मे नै पर्छ।

मलिकाको बोली र केही भावमा पनि उनी त्यति डुब्न नसकेको भान हुन्छ। क्यामेराको दृश्यमा रिटेक लिन सकिन्छ। त्यसैले  रंगमञ्चमा आइपुग्दा मलिकाकाे अभिनय पक्षमा निकै सुधार गर्नुपर्ने देखिन्छ।

भारतमा मञ्चन गरिएको यही नाटकमा महिलाकाे भूमिकामा फरक पहिरन, पात्र, र संवादको शैली, मुहारमा देखिएको भावले नेपाली अभिनयमा केही फिक्का भएको हो कि? अन्य पुरुष पात्रहरूको कथामा दर्शक आफ्नै कथा जस्तो महसुस पनि गर्छन्। उनीहरूको कथाले कहिले हसाउँछ, कहिले निराश बनाउँछ त कहिले पश्चात्तापमा पुर्‍याउन खोज्छ। पौने दुई घण्टाको अभिनयमा मञ्च व्यवस्थापनले नाटकमा थप रोचकता थपेको छ।

घोडालाई प्रेमको प्रतीक मानिन्छ। त्यो बालापनमा आमाले सुत्ने बेला सुनाउने वायुपंखी घोडाको कथा होस् या मधुमालतीको कथाको घोडा। नाटकमा समाजको परिबन्धमा नपरी प्रेम गर्नुलाई पगला घोडाको संज्ञा दिइएको छ।

प्रेमसम्बन्धमा समाजले गर्ने जातीय र वर्गीय विभेदका कारण कतिपयले अकालमै ज्यान गुमाएका छन् त कतिपयले मानसिक सन्तुलन नै। प्रेम दुई आत्माबीचको मिलन हो, यसमा न जात हेरिन्छ न धर्म अनि वर्ग। यो कुरा हाम्रो समाजले बुझ्न जरुरी रहेको नाटकले दिने एउटा सन्देश हो।

नाटकले पुरुषसत्तात्मक सोचले गाँजेको नेपाली समाजमा महिलामाथि भइरहेको हिंसा, दमन, शोषणजस्ता वीभत्स घटनामाथि ‘पगला घोडा’ लाई प्रतीक बनाएर टुलुटुलु हेरेर बसिरहेको राज्यमाथि प्रश्न गरिरहेको छ।

पछिल्लो समय जातीय प्रेम, दाइजो, घरेलु हिंसाजस्ता जघन्य अपराधका कारण ज्यान गुमाएका नवराज विक, आरती शाह, सरिता दुलाललगायतका थुप्रै घटना हामीमाझ सर्वविदितै छ। सार्वजनिक स्थानमा आत्मदाहपश्चात् ज्यान घुमाएका व्यावसायी प्रेमप्रसाद आचार्य अर्का उदाहरण हुन्।

जीवनमा केही भएन भने मानिस आत्महत्यालाई नै सहजै लिने गरेको देखिन्छ। अझ भनौँ युवापुस्तामाझ असफल प्रेम आत्महत्याको प्रमुख कारण बनेको छ। पीडाको अन्तिम बिन्दु आत्महत्या नभएको सत्य नाटकले दिन खोजेको मुख्य सन्देश हो।

हरेक कुरामा मानिस आवश्यकताअनुसार पागलपन हुन जरुरी छ। आवश्यकभन्दा बढी पागल भएर ज्यान नै गुमाउनुचाहिँ मूर्खता हो। बाँचे संसार देख्न पाइन्छ भन्दै नाटकले दर्शकलाई बाँच्न सिकाउँछ। यसैले नाटकको शीर्षक सार्थक बनेको छ।

नाटकले साधारण मानिसका सम्बन्धले भूत र वर्तमानको समय र समस्या देखाएको छ। सामाजिक संरचनाअन्तर्गत हामीले कसरी माया र सम्बन्धलाई सम्हालिरहेका हुन्छौँ भन्ने फरक पात्रको कथालाई प्रस्तुत गरिएको छ।

नाटकमा धेरै पक्ष समेटिएको छ। महिला र पुरुषबीचको सम्बन्धलाई समाजले हेर्ने दृष्टिकोण, असर र उतारचढाव, उनीहरूको मनस्थिति, समाजमा आदर्शको कुरा गर्ने मानिस, पुरुषसत्तात्मक समाजमा महिलाको स्थानबारे पात्रमार्फत नाटकले समाजका विभिन्न पात्रहरूको मनोदशा चित्रण गरेको छ।

०००

भारतीय नाटककार बादल सरकारद्वारा साठीको दशकमा लेखिएको मनोवैज्ञानिक कथामा आधारित नाटक हो ‘पगला घोडा’। उनी भारतीय रंगमञ्चका सबैभन्दा प्रभावशाली नाटककार र निर्देशकमध्येका एक मानिन्छन्। उनले ५० भन्दा बढी नाटक लेखे। यो नाटक विश्वका धेरै भाषामा मञ्चन भइसकेको छ। ‘पगला घोडा’ भारतका सबैभन्दा बढी अनूदित नाटकमध्येमा पर्छ।

नाटकको नेपाली अनुवाद पनि उत्कृष्ट छ। शिव खांड ठकुरीले नेपालीमा अनुवाद गरेका हुन्। नाटकको परिकल्पना तथा निर्देशन घनश्याम श्रेष्ठले गरेका छन्। थापागाउँस्थित मण्डला नाटकघरमा नाटक माघ ६ गतेसम्म मञ्चन हुनेछ।

प्रकाशित: २५ पुष २०८० १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =