रुस-युक्रेन युद्धमा ११ नेपालीको शव अझै बेपत्ता

हिमाल प्रेस २२ पुष २०८० १८:२२
96
SHARES
रुस-युक्रेन युद्धमा ११ नेपालीको शव अझै बेपत्ता प्रतीकात्मक तस्बिर

काठमाडौँ- एक वर्षअघि सुरु भएको रुस र युक्रेनबीच युद्धमा परी ११ जना नेपालीले ज्यान गुमाएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। रुसी सेनामा भर्ती भई मृत्यु हुने नेपालीको संख्या बढ्न सक्ने मस्कोस्थित नेपाली दूतावासको अनुमान छ।

युद्धमा मृत्यु भएका ११ जना नेपालीको शव भने भेटिएको छैन। यसबारे केही सूचना नपाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार युद्धमा मृत्यु भएका नेपालीको शव त्यहीँ जलेर नष्ट भएको सूचना आएको छ। साथै युद्ध भइरहेको स्थानमा अत्यधिक चिसो भएका कारण नेपालीको शव हिउँमा पुरिएको हुन सक्ने रुसमा रहेका नेपालीले बताउँदै आएका छन्। यी दुवै सूचनाको पुष्टि हुन नसकेको परराष्ट्रका अधिकारीले बताएका छन्।

हिउँ परेको ठाउँमा रुस-युक्रेनी सेनाका शव उठाउन सक्ने सम्भावना नभएको रुसी सेनाबाट भागेर फर्किएका नेपालीले बताउँदै आएका छन्। रुस-युक्रेन युद्धमा मृत्यु हुनेमा सन्दीप थपलिया (गोरखा), रूपक कार्की (वाणगंगा-१ कपिलवस्तु), देवान राई (कास्की), प्रितम कार्की (पुतलीबजार-५, स्याङ्जा), राजकुमार रोका (मेलुङ-६ दोलखा), गंगाराज मोक्तान (इलाम-५, इलाम), कैलालीको टीकापुर नगरपालिका-१ नयाँ टीकापुरका ३६ वर्षीय भरत शाह, राजकुमार गिरी (धादिङ), हरि अर्याल (स्याङ्जा), भरतबहादुर शाह (कैलाली) र कुन्दनसिंह नगल (ठेगाना नखुलेको) छन्।

युद्धका क्रममा उनीहरू कुन क्षेत्रमा मारिए भन्ने समेत रुस सरकारले जानकारी नगराएको परराष्ट्र मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भई मृत्यु भएका नेपाली शव स्वदेश फिर्ता गर्न र क्षतिपूर्तिको माग गर्दै रुसको विदेश, कानुन र रक्षा मन्त्रालयलाई तीन पटक पत्राचार गरिसकेको छ। तर रुस सरकारले अहिलेसम्म जवाफ नदिएको परराष्ट्रका कर्मचारीले बताए।

‘रुसमा मात्र होइन, नेपालस्थित रसियन दूतावाससँग पनि नेपालीको शव र क्षतिपूर्तिका लागि छलफल भइरहेको छ। तर दूतावास पनि यो विषयमा मौन छ’, उनले भने। रुसी राष्ट्रपति कार्यालय र रक्षा मन्त्रालयले रुसी सेनामा नेपाली भर्ती भएको विषय अस्वीकार गर्दै आएको उनको भनाइ छ।

रुसी सेनामा नेपाली भर्ती नगराउन, मृतकको शव पठाउन र घाइते नेपालीको अवस्थाबारे रुस सरकारसँग मस्कोस्थित नेपाली दूतावासले छलफल गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।

युद्धका क्रममा मृत्यु भएका नेपालीको शव र युद्धका क्रममा मृत्यु भएका नेपाली पाउनुपर्ने क्षतिपूर्तिको मागसहित पत्राचार गरिएको राईले बताए। ‘परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएको संख्या, घाइते संख्या, अवस्था र तिनका बारेमा आवश्यक सबै विवरण मागेको छ। यसको जवाफ चाँडै आउँछ होला’, उनले भने।

प्रकाशित: २२ पुष २०८० १८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =