‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार

हिमाल प्रेस २२ पुष २०८० १२:३६
16
SHARES
‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार

काठमाडौँ– निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत फिल्म उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताएका छन्। पुस २७ गते प्रदर्शन हुने ‘पर्खि बसेँ तिमीलाई’ मार्फत किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले  फिल्ममा डेब्यु गरेका छन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक श्रेष्ठले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले फिल्ममा पुराना कलाकारले झैँ काम गरेको जानकारी दिए। ‘अहिलेका कलाकार सम्पूर्ण रूपमा तयार भएर आउनुहुन्छ। उहाँहरू नाममात्र नयाँ हो, काममा परिपक्क हुनुहुन्छ’, निर्देशक श्रेष्ठले भने, ‘मैले आफ्ना अघिल्ला फिल्ममा पनि नयाँलाई अवसर दिएको छु। किनकि हामी पुराना फिल्म कर्मीले आँट गरेनौँ भने अरुले गर्दैनन्।’

निर्देशक श्रेष्ठले अहिले नयाँ कलाकारलाई अवसर दिँदा केही सास्ती भने खेप्नुपरेको अनुभव सुनाए। ‘नयाँलाई अवसर दिँदैनन् भनिन्छ, अवसर दिँदा फिल्म भवनदेखि विभिन्न स्थानमा सङ्घर्ष गर्नुपर्ने हुन्छ। मेरो तीन दशकको फिल्म यात्रामा नौलो अनुभव गरिरहेको छु’, निर्देशक श्रेष्ठले भने। उनले नयाँलाई काम देखाउने मौका दिन आग्रह पनि गरे।

सम्मेलनमा डेब्युकलाकार किरण श्रेष्ठले आफूलाई ठूलो पर्दामा देख्ने सपना पूरा हुन लागेको बताए। ‘मैले मण्डला थिएटरमा झण्डै १३ भन्दा बढी नाटकमा अभिनय गरिसकेँ। सात वर्षपछि बल्ल फिल्ममा अभिनयको सुरुवात गरेको छु’, अभिनेता श्रेष्ठले भने, ‘म कलात्मक र व्यावसायिक दुवै फिल्म गर्न चाहन्छु। परिपक्क समूहसँग काम गर्न पाउँदा आभारी छु।’

अभिनेत्री रक्षा बुढाथोकीले पहिलो फिल्म भएता पनि निर्देशक श्रेष्ठसहितको समूहका कारण काम गर्न सहज भएको बताइन्।‘मैले आफूलाई नयाँजस्तो कहिले महसुस गरिन। सबैले मलाई सहज बनाएकै कारण आफ्नो भूमिकालाई जीवन्त बनाउन सफल भएजस्तो लाग्छ। यसकारण पनि यस क्षेत्रमा निरन्तरता दिन उत्साहित भएकी छु’, अभिनेत्री बुढाथोकीले भनिन्।

निर्माता राजाराम बुढाथोकीले नेपालसँगै सिक्किमको मनोरम दृश्यमा फिल्मको छायांकन गरिएको जानकारी दिए। ‘मैले एउटा राम्रो फिल्म बनाउने कोसिस गरेको हुँ। निर्देशकले नयाँलाई अवसर दिनुपर्छ भनेपछि प्रेम कथालाई लिएर फिल्म निर्माण गरेका छौँ’, निर्माता बुढाथोकीले भने।

फिल्ममा अन्य कलाकार शिव श्रेष्ठ, विल्सन विक्रम राई, अनिशा रसाइली, सुनिता श्रेष्ठलगायतले  अभिनय गरेका छन्।

फिल्म परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलले लेखेका छन्। नेपालसँगै सिक्किममा छायांकन गरिएको फिल्मका छायाकार संकल्प भुजेल हुन्।

भुपेन्द्र अधिकारीको सम्पादन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत रहेकाे फिल्ममा रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 15 =